PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जोनको ज्यान जोगाउँदाको खुसी शब्दले बयान गर्न सकिन्न : एउटा अविश्वसनीय रेस्क्यु मिसनमा सहभागी हुँदाको अनुभूति



जोनको ज्यान जोगाउँदाको खुसी शब्दले बयान गर्न सकिन्न : एउटा अविश्वसनीय रेस्क्यु मिसनमा सहभागी हुँदाको अनुभूति

  • रामकाजी तिवारी -
माघ १० गते बुधबार हिउँ परेको थियो। त्यसको भोलिपल्ट म आफ्नै कामले दोलखाको कालिन्चोक पुगेको थिएँ। चरिकोटमा पुगेर अनलाइनहरु हेर्दा फुल्चोकीमा एक जना किशोर जोन तामाङ हराएको खबर थाहा पाएँ। जोनका बुबाको साथीसँग हाम्रो चिनजान थियो। हाम्रै क्षेत्रमा काम गर्ने साथीका आफन्त हराएको कुरा भने त्यतिबेला मलाई थाहा थिएन। 

दोलखाको काम सकाएर हामी माघ १३ गते शनिबार काठमाडौं आइपुग्यौँ। यता आएर पनि आफ्नै काममा व्यस्त भइयो। माघ १६ गते मंगलबार बिहानको ८ बजे हराएको जोनलाई खोज्न जानु पर्ने भन्दै दाइहरुको फोन आयो। खोज्न त प्रहरी र सेना अनि स्थानीय बासिन्दाहरुले पनि नखोजेका हैनन्। तर भिरमा र अप्ठेरो ठाउँमा कसैले नखोजेको जानकारी पायौँ। त्यसैले हामीले जोखिम उठाएर खोज्ने योजना बनायौं। 

जंगल चहार्नु नै विकल्प

म पहिले हिउँ र झाडी कम भएको ठाउँमा रेस्क्यु गर्ने गर्थेँ। त्यस्तो क्षेत्र मेरो लागि परिचित नै थियो। त्यस्तो ठाउँमा रेस्क्यु गर्दा हामी कम्पास, नक्सा, ड्रोन आदि प्रयोग गर्ने गर्छौँ। तर यहाँको घना जंगलमा भने ड्रोन, दुरबिन, हेलिकप्टर प्रयोग गर्न सकिँदैन थियो। साथीभाइ मिलेर जंगलभित्र चहार्नुको विकल्प थिएन। 

हामीले आफ्नो सुरक्षाका लागि आवश्यक सामाग्रीहरु डोरी, हेल्मेटको जोहो गर्‍यौँ। गोदावरी आएर जोनका परिवारसँग केही जानकारी पनि लियौँ। त्यसपछि ड्राइभ गरेर फुल्चोकीको डेन्जर जोन भन्ने स्थानमा आइपुग्यौं। ट्रेकिङ र र्‍याफ्टिङका एक दर्जनभन्दा साथीहरु थियौँ।हिमालयन एक्टासी नेपाल ट्रेक्स, प्रो. हिमाल एड्भेन्चर, युनिट्राभ र र्‍याफि्टङ गाइड्को संयुक्त टोलीको पहिलो दिनको सर्च शुरु भयो।

एकदम कहालिलाग्दो भिर थियो, जुन हामीले कल्पना समेत गरेका थिएनौं। जति सामान म्यानेज गरेर गएका थियौं, त्यो भन्दा धेरै आवश्यक पर्ने ठाउँ रहेछ। पहिलो दिन सेतो काकरो भन्ने ठाउँतिर खोज्यौँ। 

परिवारले आशा मारिसकेको थियो

हामी जता जना थियौँ, सबैले एकै ठाउँमा नखोजेर सानो समूह विभाजन गरेर अलग अलग खोजेका थियौँ। पहिलो दिन जंगलमा छालाको जुत्ता र टोपी भेटियो। जोन कै हो कि भन्ने शंका लाग्यो। तर पछि त्यो जोनको नभएको पुष्टि भयो। 

साँझ पर्न लागेपछि हामी गोदावारी रित्तो हात बसपार्क फर्कियौँ। परिवारसँग फेरि सल्लाह भयो। उहाँहरुले आशा मारिसक्नुभएको थियो। खोज्न जानुपर्दैन, भेटिँदैन जस्ता कुराहरु अप्रत्यक्ष रुपमा गरिरहनुभएको थियो। 

हामी साथीहरुले सल्लाह गर्‍यौँ- के गर्ने त? केही दिन खोज्ने निर्णय भयो हाम्रो। म र एक जना साथी गोदावरीमा नै बस्यौं। 

एम्बुसको डर

माघ १७ गते बुधबार बिहान १० बजे गोदावरीमा नै भेट्ने सल्लाह भएको थियो हाम्रो। त्यो दिन १९ जनाको टिम बनाएर बिहानको ११ बजे सर्चको लागि निस्क्यौँ। सर्चमा जानुभन्दा अघि फुल्चोकीमा रहेको नेपाली सेनाको ब्यारेकमा गएर सरसल्लाह लियौं। द्वन्द्वकालमा बिछ्याइएका एम्बुस जंगलमा छोडिएका छन् भन्ने स्थानीयवासीहरुले बताएका थिए। जंगली जनावरको अवस्था के छ भन्ने पनि बुझ्नु थियो। 

सेनाले दिएको सल्लाह लिएर हामी डेन्जर जोनमा पस्यौँ। हामी सबैसित एकआपसमा सम्पर्कको लागि मोबाइल फोन थियो। तर सबै ठाउँमा नेटवर्क टिप्दैन थियो। त्यसैले हामीले हिमालमा प्रयोग हुने रेडियो सेट प्रयोग गर्ने निर्णय गरेका थियौं। ८ वटा रेडियो सेट चार-चार जनाको समूह बनाएर बोकेका थियौं।

मध्याह्न १२ बजेतिर हामी जंगलभित्र छिर्‍यौँ। पहिलो दिनको भन्दा दोस्रो दिन खोजेको ठाउँको जंगलमा मालिङ्गो घारी थियो। एकदम घना जंगल थियो। बाटो त कल्पनासमेत गर्ने नसकिने भिरालो र अप्ठेरो किसिमको थियो। अगाडि जेजस्तो अवरोध आउँछ, त्यसलाई हटाएर अगाडि बढ्नु पर्ने अवस्था थियो। अर्को विकल्प नै थिएन। 

झाडी, काँडा हटाउँदै हामी अगाडि बढ्यौं। ट्रयाक भएको बाटोतिर हामीले खोजेनौं। किनकि सजिलो बाटोमा त अरुले पनि खोजी सकेका थिए। हाम्रो उद्देश्य नै अरुले नखोजेको ठाउँमा पुग्नु थियो। परिवार निराश भइसके पनि हामीले भने आशा मारिसकेका थिएनौँ। 

दोस्रो दिन पनि समयले नेटो काटिसकेको थियो। अब हामीलाई जोन खोज्ने भन्दा पनि आफू गन्तव्यमा फर्किने चिन्ता हुन थालिसकेको थियो। हामीलाई गोदवारी पुग्न कति समय लाग्छ, बाटो कता हो भन्ने केही पत्तो थिएन। हामी एक अनकन्टार जंगलमा थियौं। चार जनाको समूहमा पनि छुट्टिएर चन्द्र आले दाइ र ममात्रै एउटा टोलीमा थियौं। अरु साथीहरु कहाँ थिए, पत्तो थिएन। उनीहरु पनि खोज्दै थिए।  

हामी जंगलमा जनावर छन् कि भन्दै सचेत हुन आवाज निकाल्दै हिँडिरहेका थियौँ। लाँकुरी भञ्ज्याङ जाने बाटोको छेउमा एउटा डाँडो देखियो। त्यहाँ पुगेपछि साथीहरुसँग सम्पर्क होला भन्ने थियो। त्यसैले त्यतातिर लाग्यौँ। तर डाँडोमा पनि साथीहरुसँग सम्पर्क हुन सकेन। हामीसँग निरन्तर अगाडि बढेर गोदावरी पुग्ने बाटो खोज्नुको कुनै विकल्प थिएन। मालिङगो घारी पन्छाउँदै ओरालै ओरालो अगाडि बढिरह्यौँ। 

कालो झोला र आकृति

अचानक बाटोमा एउटा कालो झोला भेटियो। विस्तारै झोलाको नजिक गयौँ। डर भयो अरु केही त खतरनाक वस्तु त होइन भन्ने। विस्तारै झोला खोलेर हेर्‍यौँ।
 
झोलामा चम्चा र पेन थियो। त्यसपछि हामीले त्यो ठाउँलाई ध्यान दिएर हेर्‍यौँ।  हामी आएको बाटोभन्दा देब्रे तिरबाट कोही मान्छे आएको र त्यहाँ बसेको जस्तो देखियो। केही लडेर धसार्रिएको जस्तो पाइयो। त्यही ठाँउलाई फलो गर्दै गयौँ। अलिक तल्तिर एउटा टिफिन बक्स भेटियो। फेरि धर्सिएको बाटो फलो गर्‍यौँ।  

अलिक पर एउटा आकृति देखियो। भिरालो ठाउँमा पहिरोले लडाएर सुकेको एउटा रुख थियो। त्यहीँ किशोर अड्किएको देख्यौँ। 

भेटिसकेपछिको डर

त्यतिखेर फेरि अर्को डर भयो। जोन हराएको यतिका दिन भइसकेको थियो। कसैले केही गरेर छोडेको पो छ कि भन्ने भयो। अर्कोतिर बच्चालाई त्यहीँ राखेर अरु कोही छेउमा लुकेर बसेको छ कि, केही गर्छ कि भन्ने डरसमेत पलायो। लुकेर बस्नेहरुले अपहरण गरेको भए उनीहरुसित हतियार छ कि भन्ने डर भयो। 

तर पनि हामीले अलिक परबाट बोलायौं- जोन। 

पहिलो चोटी बोलेन। 

फेरि बोलायौँ- जोन। 

अहँ। 

तेस्रो चोटी बोलाउँदा ऊ हामीतिर फर्कियो। उसको टोपी र अनुहारले जोन भन्ने चिन्यौं। उ अर्धचेत अवस्थामा थियो। हामीलाई एउटा सफलता हात पारेको अनुभव भयो। 

हामीसित भएको पानी दियौं। करिब आधा लिटर पानी उसले एकै घुट्कामा पियो। अनि हामीसँग भएको बिस्कुट दियौं। उसले खायो।
हामीले साढे चार बजेतिर जोन भेटिएको खबर हाम्रो टिमलाई गर्‍यौँ- तिमीहरुले खोज्नु पर्दैन भनेर।  

भेटिसकेपछिको चुनौति

जोन त भेटियो, तर अर्को चुनौति थियो- हामी कसरी गोदावरी वा गाडीको बाटो सम्म पुग्ने? साँझ परिसकेको थियो। बाटो थिएन। कति समयमा गोदावारीमा पुगिन्छ भन्ने यकिन थिएन। चन्द्र दाइले जोनलाई बोक्नुभयो। मैले साथमा भएको खुकुरीले रुख काट्दै, झाडी पन्छाउँदै बाटो बनाउँदै हिँडे। एक त अँध्यारो, त्यसमाथि बाटो चिप्लो र भिरालो। साथमा जोन अनि दुइवटा झोला। निकै जोखिम थियो। 

तर हाम्रो मोबाइलले आराम पाएन। प्रहरी, पत्रकार लगायतले फोन गरिरहे। कहाँ भेटिएको भनेर लोकेसन सोधे। कहाँ भन्नु अब हामीले। हामी नै अलमलमा थियौं। एकदम डिस्टर्ब भयो। हामीसँग टर्चलाइटसमेत थिएन। मोबाइलको लाइट बालेर हिँड्यौँ। आलोपालो गरेर जोनलाई बोक्यौँ। झोला भिरबाट फाल्दै अगाडि बढ्यौँ। एकदम गाह्रो भएको थियो। 

सन्तुष्टि र दुःख

जोन भेटिएको करिब ४ घन्टापछि मात्र हामी तल गोदावरीमा एम्बुलेन्स भएको स्थानमा पुग्यौँ। हामी त्यहाँ पुग्दा मानिसको बाक्लो उपस्थिति थियो। सातदोबाटोसम्मका मानिस त्यहाँ भेला भएका रहेछन्। लाग्थ्यो मेला छ यहाँ।  मान्छेले अनि यता तान्ने उता तान्ने भयो। 

हामीले यो रेस्क्युका लागि सबै खर्च आफैले गरेका थियौँ। एउटा जीवन बचाएकोमा शब्दले व्यक्त गर्न नसकिने सन्तुष्टि प्राप्त भयो। तर समाचारमा भने नेपाली सेना, प्रहरीले उद्दार गरेको भन्ने देख्दा, सुन्दा भने दु:ख लाग्दो रहेछ।

यो पनि हेर्नुस्-
Exclusive : यसरी जोखिम मोलेर सम्भव भएको थियो जोनको जीवित उद्दार, सात दिनपछि फेला परेको जंगलबाट स्थलगत रिपोर्टिङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell