PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

Exclusive : यसरी जोखिम मोलेर सम्भव भएको थियो जोनको जीवित उद्दार, सात दिनपछि फेला परेको जंगलबाट स्थलगत रिपोर्टिङ



Exclusive : यसरी जोखिम मोलेर सम्भव भएको थियो जोनको जीवित उद्दार,  सात दिनपछि फेला परेको जंगलबाट स्थलगत रिपोर्टिङ

  • उमेश श्रेष्ठ/सविन ढकाल/समर्थ रञ्जित -
समुद्री सतहभन्दा ६ हजार ६ सय ६३ फिटको उचाइमा झण्डै ७० डिग्री कोणको भिरालो जमिन। चारैतिर घना जंगल। पहिरोले जरैसमेत उखालेको एउटा रुख त्यही भिरालो ठाउँमा जसोतसो अडिएको थियो। त्यसैको हाँगामा एउटा खुट्टा अल्झेर अर्धचेत अवस्थामा थिए एक किशोर। कुन्नि कति पो हो दिनदेखि। उनी बेपत्ता भएको भने सात दिन भइसकेको थियो। फुल्चोकीबाट स्कूले साथीहरुसँगै हाइकिङ जाने क्रममा हराएका १७ वर्षीय जोन तामाङलाई खोज्नेहरु थाकिसकेका थिए। सेना र प्रहरीको टोलीसहित स्थानीय बासिन्दाले धेरै पटक गोदावरी-फुल्चोकी जंगल खोज्दा पनि कुनै संकेत भेटिएको थिएन। 

भेटियोस् पनि कसरी। जुन ठाउँमा उनी फँसेका थिए, त्यो ठाउँ यति डरलाग्दो भिरमा छ र चलनचल्तीको बाटोभन्दा यति टाढा छ कि संयोगले रामकाजी तिवारी र चन्द्र आले त्यहाँ नपुगेको भए अझै कयौँ महिनासम्म पनि जोनको अत्तोपत्तो लाग्न सम्भवै देखिन्न।
  
जोन भेटिएको ठाउँको जिपिएस लोकेसनलाई गुगल म्यापबाट हेर्दा यस्तो देखिन्छ (गुगल म्यापमा हेर्न यहाँ क्लिक गर्नुस्) -



****
गोदावरीबाट फुल्चोकी डाँडा जाने गाडी गुड्ने बाटो टुप्पोतिर लाग्नुभन्दा केही किलोमिटर वरै लाँकुरी भञ्ज्याङ लाग्ने पैदल बाटो छ। यसको मुखमै प्रहरीले सावधानीसूचक रातो बोर्ड राखेको छ जसमा लेखिएको छ- सावधान, यो बाटो प्रयोग नगर्नुहोला। खतरा छ।

ठूलो अक्षरमा लेखिएको यो चेतावनीसँगै सानो अक्षरमा लेखिएको छ- बाटो थाहा छैन भने चाँडै पुग्ने ध्यानमा छोटो बाटो प्रयोग नगर्नुहोला। यो बाटोमा खतरा छ। यदि कुनै कारणले फर्कँदा ढिला भएता पनि मूल बाटो सडकमात्रै प्रयोग गर्नुहोला।

अङ्ग्रेजी र नेपाली भाषामा लेखिएको यो सावधानीसूचक बोर्डभन्दा परको बाटोलाई नै चलनचल्तीको भाषामा 'डेन्जर जोन' भन्ने गरिन्छ। 
जोनको नाटकीय उद्दारपछि कस्तो अवस्थामा उनी भेटिएका थिए र उद्दारकर्मीहरुले कस्तो जोखिम मोलेका थिए, त्यो बुझ्नका लागि पहिलोपोस्टबाट हामी चार जना (उमेश श्रेष्ठ, ऋषिकेश दाहाल, सविन ढकाल र समर्थ रञ्जित) सहित जोनलाई उद्दार गर्ने दुई जनाको टोलीमा रहेकामध्ये एक रामकाजी तिवारी कारबाट फुल्चोकीतिर हानिएका थियौँ। 

त्यतिन्जेल हामीले यो रेस्क्युलाई अलि 'इजी' नै लिएका थियौँ। मूलबाटोबाट ४५ मिनेट हिँडेपछि जोन भेटिएको ठाउँ आइपुग्छ र त्यहाँको फोटो र भिडियो खिची फर्केर फेरि गाडीबाटै गोदावरी फर्कन्छौँ भन्ने हामीलाई लागेको थियो। 

'जुन ठाउँ हुँदै हामी जान्छौँ, त्यो एकदम भिरालो बाटो हुन्छ। त्यहाँबाट तलतिर जान त सकिन्छ, तर माथि उक्लिन सम्भव छैन', उद्दारकर्मी तिवारीले सचेत गराएपछि हामी झसङ्ग भयौँ। हामीमध्ये एक जना गाडी लिएर मोटरबाटोबाटै तल गोदावरी गएर पर्खनु पर्ने भयो। ऋषि गाडी लिएर तलतिर लागे। तिवारीसहित पहिलोपोस्टका हामी तीन जनाले डेन्जर जोनतर्फ पाइला चाल्दा दिउँसोको २ बजेको थियो। 

अल्मल्याउने बाटो

डेन्जर जोनभित्रको बाटोले खासमा पुर्‍याउने लाँकुरी भञ्ज्याङ हो। तर यो बाटोका केही ठाउँमा दायाँ बायाँ सहायक बाटो देखिने रहेछ, जसले बटुवालाई अल्मल्याइदिन्छ। बाटोको दायाँपट्टीको छेउको जंगलमा पहिलो दिनको सर्च भएको थियो। 

'एकदम कहालिलाग्दो भिर, हामीले कल्पना समेत नगरेको,'  तिवारीले हामीलाई आफ्नो अनुभव सुनाउँदै गर्दा हामी पनि त्यही बाटो जाँदै थियौँ, जुन हामीले अहिलेसम्म यो रेस्क्युको समाचारमा आएको विवरणभन्दा बेग्लै थियो,  अकल्पनीय !

पहिलो दिन छालाको टोपी र जुत्ता भेटिएको थियो, तर पछि त्यो जोनको नभएको पुष्टि भयो। त्यो दिन यत्तिकै फर्कियो टोली गोदावरी बसपार्क।

जोनको परिवारसँग सल्लाह भयो। परिवारले लगभग आशा मारिसकेको अवस्था थियो र खोज्नु बेकार रहेको आशय व्यक्त भइरहेको थियो। तर त्यो उद्दार टोलीका साथीहरुको परिचितका छोरा भएको नाताले अझै केही दिन खोज्ने सल्लाह साथीहरुबीच भयो। 

संयोगले जुराएको बाटो

दोस्रो दिन बुधबार १९ जनाको टिम सर्चको लागि निस्केको थियो। सजिलो बाटो सब अरुले खोजिसकेका थिए, त्यसैले अप्ठेरो बाटोको झाडी हटाउँदै, बाटो बनाउँदै खोजी जारी थियो। टिम तितरबितर भइसकेको थियो। चन्द्र आले र रामकाजी तिवारी दुई जना मात्रै एउटा समूहमा परेका थिए। समयले नेटो काटिसकेको थियो। अब उनीहरुलाई जोन खोज्ने भन्दा पनि आफू गन्तव्यमा अर्थात् गोदावरीमा फर्किने चिन्ता भइसकेको थियो। साथीहरु कता थिए थाहा थिएन। 

यत्तिकैमा उनीहरुले लाँकुरी भञ्ज्याङ जाने मूल बाटो देखे। यही बाटोबाट पहिले माउन्टेन बाइक रेसिङ पनि भएको थियो। शायद् त्यसैबेला बाटोमा लगाइएको संकेत चिह्न पनि देखियो। मोबाइल टिप्दैन थियो। वाकिटकीले काम गर्छ कि भनेर बायाँ छेउको जंगलतर्फ लाग्ने निर्णय उनीहरु दुईले गरे। उनीहरुसित भएको कम्पासले फर्किनु पर्ने ठाउँ गोदावरी पनि त्यही दिशातर्फ देखाइरहेको थियो। 

तर त्यहाँ बाटो भने थिएन। मालिङ्गोको झाडी र घना जंगलमात्रै थियो। यो त्यही टर्निङ प्वाइन्ट थियो, जसले जोनको ज्यान बचायो। यदि त्यो झाडीलाई पन्छाउँदै आले र तिवारी डरलाग्दो भीर ओरालै ओरालो नझरेका भए जोनको स्थिति अझै अज्ञात नै रहन्थ्यो। 



****
काठमाडौँको एउटा छेउमा रहेको जंगलमा गरिएको रेस्क्युलाई जति सजिलै हामीले लिएका थियौँ, त्यो कति गलत रहेछ भन्ने हामीलाई त्यही बाटो झर्न थालेपछि थाहा भयो।

केही दिन अघि मुगुको बामा गाउँ जाँदाको ठाडो उकालो र ओरालो अनि मनाङमा यार्सागुम्बा टिप्न हिँडेकाहरुलाई पछ्याउँदै गएको भीरैभीरको बाटोभन्दा जोखिम थियो यो बाटो। ठाडै ओरालो। झाडी पन्छाउँदै झर्नुपर्ने। मालिङ्गो वा हातमा जे भेटिन्छ त्यही समातेर त्यसैको आडभरमा ओर्लनुको विकल्प थिएन। कहिलेकाहीँ हातमा सुकेका हाङ्गा पर्थे, भाँचिन्थ्यो। कहिले काँडा पर्थे,  बिझाउँथ्यो। माटो चिप्लो थियो। कति पटक लडियो। सविनले आफ्नो नाडीमा रहेको ८ हजार पर्ने घडी हराएको धेरै पछि मात्रै थाहा पायो। तर त्यो खोज्न फेरि उकालो लाग्ने कल्पना पनि गर्न हामी सक्दैन थियौँ।

हामी स्थलगत रिपोर्टिङको लागि यहाँ आएका थियौँ। तर लाग्दैथियो, यो कस्तो ठाउँ हो भन्ने बताउन हामी न भिडियोबाट सक्छौँ, न फोटोबाट, न शब्दबाट नै। आफै उभिन पनि गाह्रो ठाउँमा क्यामेरा निकाल्न सजिलो थिएन। एक पटक त क्यामेरासमेत भिरमा गुल्टिएको थियो, धन्न हराउन चाहिँ हराएन।

झण्डै एक घण्टा त्यसरी जोखिमपूर्ण ओरालो झर्दै गरेपछि पहिरोले बगाएर भिरालो ठाउँमा अडिएको एउटा रुखको नजिक हामी आइपुग्यौँ। यो त्यही ठाउँ थियो, जहाँ यी दुई जनाको समूहले पहिलो पटक केही आकृति देखेको थियो।

त्यसअघि नै उनीहरुले एउटा कालो झोला भेटेका थिए। त्यसमा चम्चा र पेन थियो।  हामी आएको बाटो भन्दा देब्रेतिरबाट कोही मान्छे आएको र त्यहाँ बसेको जस्तो देखियो। केही लडेर धसार्रिएको जस्तो पनि पाए उनीहरुले। अलिक तल्तिर टिफिन बक्स भेटियो। फेरि धर्सिएको बाटो फलो गर्दै गएपछि रुखमा  अड्किएको अवस्थामा जोन भेटिएको थियो।

***   

भेटिएपछिको उद्दार पनि अझ कठिन

जोन भेटिएको ठाउँको जिपिएस लोकेसन हामीले रेकर्ड गर्‍यौँ- 27°35'13.4"N 85°24'10.8"E। हामी त अलि उज्यालोमै त्यो ठाउँमा पुगेका थियौँ। आले र तिवारीले भेट्दा त अँध्यारो भइसकेको थियो। पूर्णिमाको रात भए पनि ग्रहणले जुनको उज्यालो छेकेको थियो। 

जोनलाई पहिलो पटक देख्दाको अवस्था बयान गर्दै तिवारी (क्याप लगाएका)।

त्यो रुख लगभग एउटा इन्डिङ प्वाइन्ट जस्तै थियो। यसो हेर्दा त्यहाँबाट अझ तल जाने बाटो नै छैन जस्तो लाग्थ्यो। तिवारी र आले भने बनेको बाटोमा हैन, बाटो बनाएर हिँड्नेहरु थिए। रुख काटे, झाडी पन्छाए, बाटो बनाए र निस्किए त्यहाँबाट। 

पहिले दुई जनामात्रै थिए, अब तेस्रो व्यक्ति थपिएको थियो। सात दिनसम्म चीसो खोँचमा हराएका १७ वर्षका जोनलाई उनीहरुले बोक्दै हिँडेका थिए। आफ्नै ब्याग बोकेर हिँड्न त हामीलाई त्यो बाटोमा गाह्रो भएको थियो भने उनीहरुले एउटा कमजोर किशोरलाई बोकेर हिँड्नु परेको थियो। बाटो चिप्लो त्यत्तिकै। वरपर सिस्नुघारी पनि। कसैलाई सहयोगका लागि बोलाउनसमेत सम्भव थिएन। 

बाटो कहाँ पुग्थ्यो निश्चित थिएन। तर गोदावरी वा बस्ती पुग्ने बाटो त्यही भएको ठम्याउँदै जोनलाई बोकेर उनीहरु हिँडिरहे। जोन भेटिएको ठाउँ दियाले डाँडाबाट गोदावरी पुग्न हामीलाई उज्यालोमै दुई घण्टा लागेको थियो। तिवारी र आलेले दिउँसो लगभग ४ बजे जोनलाई भेट्टाएर गोदावरी पुग्दा राति ८ बजिसकेको थियो। 

लोकेसन कहाँ?

गोदावरी पुग्दा त्यहाँ स्थानीय र सञ्चारकर्मीको घुइँचो लागेको थियो। एम्बुलेन्स ल्याइसकिएको थियो। जोनलाई अस्पताल लगियो। सञ्चारकर्मीले कुन ठाउँमा भेटिएको लोकेसन दिनुस् भन्दा तिवारीलाई झोँक चलेको थियो। 

'कुन ठाउँमा भन्ने अब मैले?', त्यो दिन सम्झँदै हाँस्दै उनले हामीलाई भने, 'तपाईँ त्यही ठाउँ पुगेर आउनुभयो। अहिलेसम्म कोही पनि त्यो ठाउँ पुगेका छैनन्। तपाईँ भन्न सक्नुहुन्छ लोकेसन?'

अहँ। 

हामी फोटो, भिडियो र शब्दमा समेत ठ्याक्कै त्यो ठाउँको वर्णन गर्न सक्दैनौँ। शायद् गुगल म्यापले केही झलक दिन सक्ला हामीले रेकर्ड गरेको जिपिएस प्वाइन्टको मद्दतले। 

सेना र प्रहरीको टोलीले सर्च गर्दा पनि भेट्न नसकेको किशोरलाई एउटा सिभिलियन टोलीले जोखिम मोलेर फेला पार्न सफल भयो। यसका लागि १९ जनाको यो उद्दार टोली बधाईका हकदार छन्। चन्द्र आले र रामकाजी तिवारी जसले किशोरलाई त्यो जोखिमपूर्ण ठाउँबाट उद्दार गरी ल्याए, उनीहरुको साहस र सुझबुझको जति प्रशंसा गरे पनि कमै हुन्छ।  तर त्यो दिनका केही समाचार भने प्रहरीले नै उद्दार गरेको जस्तै गरी आएको थियो। 

जोनको ज्यान बचाउने यो टोलीलाई ह्रदयदेखि नै नमन गर्दै अघि बढ्दै गर्दा सिस्नोले पोलेको र काँडाले बिझाएको हाम्रो हात चहर्‍याइरहेको थियो। जुत्ता च्यातिएको थियो, जिउभरी हिलो र धुलो लागेको थियो। तर कुनै आर्थिक लाभको आश नगरी एक जनाको ज्यान जोगाउन खटिएकाहरुले मोलेको जोखिम देखेर हामी सबैको मन प्रसन्न थियो। 

(उद्दारकर्मीको अनुभवसहित भिडियो रिपोर्ट चाँडै नै पहिलोपोस्टमा)  
    
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell