PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मन्त्री र उनका हन्टिङ लाइन : यतिखेरका लागि दुवै 'काम नलाग्ने'!



सविन ढकाल

मन्त्री र उनका हन्टिङ लाइन : यतिखेरका लागि दुवै 'काम नलाग्ने'!

काठमाडौं : गत असार २६ गते। बिहान साढे ११ बजेतिर पहिलो टेलिफोन कल तत्कालीन गृह मन्त्री जनार्दन शर्माले उठाएका थिए। फोनबाटै जुम्लाका एक नागरिकले त्यहाँ भएको भष्टाचारबारे गृह मन्त्रालयमा उजुरी टिपाए।
 
गुनासो सुनेका गृह मन्त्री शर्माले तत्कालै जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दै - विकास निर्माणको क्रममा भएका भष्टाचार नियन्त्रण र कारवाही गर्ने आदेश दिए। उनको आदेशको पालना भयो भएन थाहा छैन तर जनताले गृह मन्त्रीसँगै प्रत्यक्ष गुनासो गर्न पाए।

कुनै समय विजुली मन्त्री (उर्जा मन्त्री)का रुपमा नाम कमाएका जनार्दन शर्माले गृह मन्त्रालय सम्हाल्नासाथ सुरु गरेको 'हन्टिङ लाइन' मिडियाका लागि पनि चासोको विषय बन्यो। 

मन्त्री शर्माले जनताको गुनासो सुन्नको लागि भन्दै संचालनमा ल्याएको टोल फ्री नम्बर १११२ ले त्यसपछि विश्राम नै पाएन। दिनमा सयभन्दा बढी जनताको गुनासो टिप्दैमा कर्मचारी व्यस्त भए। यसरी टिपिएका कति गुनासा गृह मन्त्री शर्मासँग सोझै पुग्थे, कतिले समधान पाउँथे त कति त्यसै औपचारिकतामा मात्र सीमित हुन्थे। 

गृह मन्त्री शर्माको विभागीय जिम्मेवारी हटेसँगै उजुरी शाखा पनि कोमामा गएको छ। कर्मचारी करवीर गौरेको नेतृत्वमा चार जना कर्मचारी परिचालित थिए यसका लागि। अहिले गौरे सरुवा भइसकेका छन्। 

टोल फ्री नम्बर १११२ ज्यूँदै छ। अहिले पनि टिर… टिर… फोन त जान्छ। तर, फोन  उठ्दैन। जानकारी टिप्ने कर्मचारी नै छैनन् अहिले। हामीले केही दिन पटक पटक  १११२ मा डायल गरिरह्यो। सधैं फोन त गयो तर उठेन। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा ढुवाडी नै यसबारे जानकार रहेनछन्। उनले फोन नउठ्ने विषयमा जानकारी नभएको बताए। हाम्रो प्रश्नमा उनले भने, 'टोल फ्री नम्बरले काम नगर्ने भन्ने जानकारी छैन। म बुझेर तपाईँलाई जानकारी दिन्छु।'  त्यसपछि उनी सम्पर्कमा नै आउन चाहेनन्।

सरकारले जनताको गुनासो सुन्न संचालनमा ल्याएको टोल फ्री नम्बर सीमित समयका लागि वा मन्त्रीको चर्चा कमाउने मेलोमात्र बन्यो। अस्पष्ट नीतिबीच ल्याइएको टोल फ्री जसरी ल्याइयो त्यसरी नै समाप्त पनि गरियो। 

त्यसो त टेलिफोन जस्तै बनेका छन् मन्त्री शर्मा। उनी बहालवाला मन्त्री नै हुन् तर हन्टिङ लाइनको टोल फ्री नम्बर जस्तै 'नउठ्ने'। सत्ता साझेदारबाट प्रतिपक्षी दलसँग एकता गर्न पुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई विभागीय जिम्मेबारीबाट खोसे। त्यसपछि जनार्दन शर्मा मन्त्री त छन् तर जिम्मेवारी बिहीन। मन्त्री शर्मा र उनले सञ्चालन गरेको टोल फ्री फोन दुवैको अवस्था यतिखेरसम्म भने एकै छ – विना कामको।

सम्बन्धित समाचार :

गृहको हन्टिङ लाइन - गर्नुस गुनासो : यस्तो रह्यो गृह मन्त्रीको पहिलो कल


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell