PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

वाम गठबन्धनको पत्रकार सम्मेलनमा देखिएको ५ रोचक दृश्य



पहिलोपोस्ट

वाम गठबन्धनको पत्रकार सम्मेलनमा देखिएको ५ रोचक दृश्य

  • पासाङ ठकुल्ला -
काठमाडौं : निर्वाचनबाट दुई तिहाई नजिक मत पाएपछि वाम गठबन्धनले मतदातालाई धन्यवाद दिन आज काठमाडौंमा पत्रकार सम्मेलन गर्‍यो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित कार्यक्रममा पत्रकार र कार्यकर्ताको उपस्थिति पनि बाक्लो नै थियो। काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा भएको कार्यक्रमका केही रोचक दृश्य यस्ता थिएः

१. एमालेका नेता राइट साइडमा माओवादीका नेता लेफ्ट साइडमा

वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा एमालेका अध्यक्ष ओलीलगायत एमाले नेताहरु दायाँतिर बसे भने माओवादी केन्द्रका नेताहरु बायाँतिर बसेका थिए। कार्यक्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायतका नेताको उपस्थिति थियो भने माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, जनार्दन शर्मालगायत उपस्थित थिए।

२. भीम रावलको माइक चेक 

तीन बजे पत्रकार सम्मेलन हुने जानकारी गराइएको थियो। तीन बज्नुपूर्व नै सम्मेलनस्थलमा कार्यकतादेखि सञ्चारकर्मीहरुको भिड लागिसकेको थियो। जब दुई पार्टी अध्यक्ष मञ्चमा पुगे, अनि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कार्यक्रमको सञ्चालन गरे। कार्यक्रम सञ्चालन गर्दा अडियन्ससम्म माइकको आवाज नपुगेपछि उनले माइक टेस्ट गरे। र भने, ‘आवाज आयो? माइकमा आवाज गइरहेको छ भन्ने रिपोर्ट छ यता।’ 

३. भएन आसन ग्रहण

कार्यक्रम सुरु हुनुपूर्व नै दुई पार्टीका शीर्ष नेताहरु मञ्च उपस्थित भैसकेका थिए। पार्टी अध्यक्ष आएर मञ्चमा बसिसकेपछि कार्यक्रम सञ्चलन भयो। कार्यक्रम सञ्चालक एमालेका उपाध्यक्ष रावलले नेताहरुले आसन ग्रहण गरिसकेको जानकारी दिए। केही समयअघि एमाले अध्यक्ष ओलीले आसनमा बसिसकेको मान्छेलाई उठाएर आसन ग्रहण गर्न नहुने र यसले समयमात्र बर्बाद हुने भनेर अभिव्यक्ति दिएका थिए। 

४. ओलीले भेटाएनन् विज्ञप्तिमा उल्लेख गरेका कुरा 

पत्रकारको जिज्ञासा मेटाउन ओलीले वक्ताव्यमा परराष्ट्र सम्बन्धी उल्लेखित बुँदा खोज्ने प्रयास गरे। तर, भेटाएनन्। ओलीले सोधे, ‘खोई कहाँ छ?’ कार्यक्रम सञ्चलक रावलले उनलाई वक्तव्यमा ओलीले खोजेको कुरा खोज्न सघाए। 

५ वामदेव र नारायणकाजीसँग फोटो खिच्नेको भिड

पत्रकार सम्मेलनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र माओवादीका नेता नारायणकाजी श्रेष्ठसँग फोटो सेसन गर्नेको भिड देखियो। कार्यक्रम स्थलभन्दा बाहिर दुवै नेतासँग सामूहिक फोटो खिच्नेको लाइन लागेको थियो। दुवै निर्वाचनमा पराजित 'भेट्रान' नेता हुन्।


यो पनि पढ्नुहोस:

वाम गठबन्धनको ब्याङ्क्वेटबाट घोषणापत्र, फाइभ स्टारबाट धन्यवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell