PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

​आखिर कहाँ हरायो अमेरिकी सेनाको हेलिकप्टर? कसरी भयो 'मिस इन्फरमेसन'?



​आखिर कहाँ हरायो अमेरिकी सेनाको हेलिकप्टर? कसरी भयो 'मिस इन्फरमेसन'?
फोटोः रोयटर्स

  • सविन मिश्र/पहिलोपोस्ट
काठमाडौं : मंगलबारदेखि 'हराइरहेको' अमेरिकी सेनाको हेलिकप्टर भेटिएको समाचार बुधबार साँझ सार्वजनिक भयो। नेपाल विद्युत प्राधिकरणका उप-कार्यकारी निर्देशक शेरसिंह भाटमार्फत ऊर्जा मन्त्रालय, मुख्य सचिव हुँदै प्रधानमन्त्री समक्ष पनि यो खबर पुग्यो।

‘ऊर्जा सचिवजीले मुख्य सचिवलाई हेलिकप्टर भेटिएको म्यासेज पठाउनु भएछ, मुख्य सचिवले प्रधानमन्त्री र मलाई त्यो म्यासेज देखाउनु भयो,’ अर्थमन्त्री डा. रामशरण महतले पहिलोपोस्टसँग भने, ‘हामी सबै खुसी भयौं, हराइहेको हेलिकप्टर भेटिएको समाचार आउनु खुसीको विषय नै थियो।‘

तर बिहीबार मन्त्री महतले त्यो सूचना गलत भएको ट्विट गरे। अर्थमन्त्री महतले 'सिंगटीमा अमेरिकी हेलिकप्टर भेटिएको भन्ने नेपाल विद्युत प्राधिकरणका कर्मचारीको सूचना सत्य नभएको नेपाली सेनाले पुष्टि गरेको' ट्विट गरेका छन्। 'अन्य क्षेत्रमा खोजी जारी छ', उनले लेखेका छन्।
मुख्य सचिव लीलामणि पौड्यालले प्रधानमन्त्री सुशील कोइरालालाई म्यासेज देखाए पछि महतले भाटसँग फेरि कुरा गरेका थिए।

​‘मैले पनि त्यही सूचनालाई आधार मानेर हिजो ट्विट गरेको थिएँ, तर पछि आर्मीसँग पनि बुझें, उनीहरुले पनि त्यहाँ फेला नपरेको बताए,’ मन्त्री महतले भने, ‘सेनाले त्यहाँ नभएको बताएको छ, अहिले अरु ठाउँमा खोजी भइरहेको छ।‘

कसरी भयो त 'मिस इन्फर्मेसन'?


फोटोः marinecorpstimes.com
भाटले सूचना पाउने बित्तिकै ऊर्जा मन्त्री राधा ज्ञवालीका स्वकीय सचिव राजेन्द्र ढकाललाई फोन गरेका थिए। हेलिकप्टर भेटिएको खबर ढकालसँगै भाटले सैनिक मुख्यालयमा पनि दिएका थिए। त्यतिबेलासम्म नेपाल प्रहरी र गृह मन्त्रालयले भने यसको सुईंको समेत पाएको थिएन।

भाटले आफूलाई खबर गर्ने सिंगटी सब स्टेशनका कर्मचारीसँग फेरि कन्फर्म पनि गरे। ती कर्मचारीले मंगलबार बेलुकीदेखि बुधबार बिहानसम्म हेलिकप्टर सब स्टेसन छेवैको मकैबारीमा बसेको रिपोर्ट भाटलाई गरे।

भाटले सैनिक मुख्यालय र ऊर्जा सचिव राजेन्द्र किशोर क्षेत्रीलाई पनि खबर गरेका थिए। उनै क्षेत्रीले मुख्य सचिव पौड्याललाई हेलिकप्टर भेटिएको खबर गरे र त्यो खबर प्रधानमन्त्रीसम्म पुग्यो।

मंगलबार दिउँसो भाट निकै व्यस्त भए। सरकारी निकाय र पत्रकार सबैले उनलाई हेलिकप्टर भेटिएको समाचार पुष्टी गर्न फोन गरिरहे। भाटले पहिले सैनिक मुख्यालयमा यसबारे जानकारी गराएर मात्रै पत्रकारलाई यसबारे जानकारी दिएका थिए।

सरकारी स्वामित्वको प्राधिकरणको तल्लो निकाय हुँदै माथिल्लो निकायसम्म यो खबर पुग्यो र त्यो खबर प्रधानमन्त्रीसम्म पनि। उता नेपाली सेनाले त्यसको खण्डन गर्‍यो। मन्त्रीहरुले पनि आफ्नै निकायको सूचनालाई  आधार मानेर खबर ट्विट गरेका थिए।

‘सरकारी निकायबाट आएको खबर नमान्ने कुरा पनि भएन,’ महतले भने, ‘हामीले हाम्रै निकायको सूचनालाई आधार मानेर खुसी भयौं, तर त्यो गलत रहेछ।'

सरकारी निकायकै फरक फरक निकायबाट आएका फरक फरक सूचनाबीच अमेरिकी सेनाको 'हराइरहेको' विमानको खोजी जारी छ। प्रश्न सर्वत्र छ- आखिर कहाँ हरायो अमेरिकी सेनाको हेलिकप्टर? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell