PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

एसियन कप छनौटलाई नेपाल तयार, फिलिपिनो प्रशिक्षकले भने, 'नेपाल ब्राजिल/अर्जेन्टिनाजस्तो हैन'



एसियन कप छनौटलाई नेपाल तयार, फिलिपिनो प्रशिक्षकले भने, 'नेपाल ब्राजिल/अर्जेन्टिनाजस्तो हैन'

काठमाडौं : सन् २०१९ मा युएइमा हुने एएफसी एसियन कपको अन्तिम चरणको छनोटअन्तर्गत समूह 'एफ'को खेलमा भोलि नेपाल र फिलिपिन्स भिड्दैछन्।

विराज महर्जनको कप्तानीमा रहेको नेपाली टोलीले मंगलबार नेपाली समय अनुसार बेलुकी पौने ६ बजे रिजाल मेमोरियल स्टेडियममा घरेलु टोली 'अजकल' सँग प्रतिस्पर्धा गर्दैछ।

यसअघि चार पटक फिलिपिन्ससँग खेल्दा नेपालले एकमा जित र तीनमा पराजय बेहोरेको थियो। सन् १९८२ मा भएको पहिलो भेटमै फिलिपिनो टोलीलाई १-० ले हराएको नेपाल त्यसयता तीन खेलमा भने पराजित भएको थियो। नेपालले तीनवटै खेलमा गोलसमेत गर्न सकेको थिएन।

सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेलमा म्याच फिक्सिङ भएको प्रहरी अनुसन्धानले देखाएको थियो। खेल ४–० ले हार्ने सर्तमा प्रति खेलाडीले अमेरिकी डलर ५ हजार लिएको दावीसहित विशेष अदालतमा तत्कालीन कप्तान सागर थापासहित राष्ट्रिय फुटवल टिमका पूर्व खेलाडीहरु अन्जन के.सी., विकास सिंह क्षेत्री, रितेश थापा, र सन्दिप राईविरुद्ध राज्यद्रोहको मुद्दा जारी छ।

नेपाली टोलीका कप्तान महर्जनले विगतलाई बिर्सँदै नेपालले भोलि फिलिपिन्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन्। खेलअघि प्रिम्याच कन्फ्रेन्समा बोल्दै नेपाली कप्तानले भने, 'पछिलो समय नेपाली फुटबलले पाएको सफलताको कारण टोली उत्साहित छ। हामी घरेलु टोलीलाई उसकै भूमिमा निराश पार्न आतुर छौं।'

नेपाली टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्स माथिल्लो स्तरको टोली भएतापनि आफ्नो टोली उसलाई टक्कर दिन सक्षम रहेको दावी गरे। 'नेपाली टोली सन्तुलित छ र टोलीले आफ्नो क्षमता अनुसार खेल्न सके घरेलु टोलीविरुद्ध तीन अंक खोस्न सक्छौं।'

उता फिलिपिनो टोलीका कप्तान फिलिप जेम्स योङहस्बेन्डले कमजोरीहरु सुधार्दै मैदान उत्रने हो भने नेपालविरुद्धको जित टाढा नभएको बताए। उनले केही दिनअघि भएको मलेसियाविरुद्धको मैत्रिपूर्ण खेलमा पाएको अवसर खेर फाल्दा गोलरहित बराबरी भएको भन्दै नेपालविरुद्ध टोलीले त्यो कम्जोरी सुधार्ने प्रतिवद्धता व्यक्त गरे।


फिलिपिनो टोलीका प्रशिक्षक थोमस डेनिस डुलेले नेपाली टोलीले पछिल्लो समय राम्रो फुटबल खेलिरहेकोबारे आफूहरु अनभिज्ञ नरहेको बताए। उनले नेपालविरुद्ध पछिल्ला खेलहरुमा आफ्नो टोलीले सहज जित हात पारे पनि फुटबलमा इतिहासले प्रभाव नपार्ने तर्क गरे।

'त्यति बेला र अहिलेको नेपाली टोलीमा परिवर्तन छ, हामी सतर्क भएर मैदान उत्रने छौं।

उनले नेपाली टोलीमा रहेका केही खेलाडीहरु अत्यन्तै प्रतिभाशाली भएको भन्दै तिनले आफ्नो स्वभाविक खेल खेल्ने हो भने आफ्नो टोलीलाई अप्ठेरो पार्ने बताए।

आफूहरु एसियन कप जस्तो ठूलो प्रतियोगिता खेल्न तयार र सक्षम रहेको दावी गर्दै फिलिपिनो प्रशिक्षक थोमसले भने 'तर त्यसका लागि पहिले छनोटमा राम्रो गर्नु पर्नेछ र पहिलो खुड्किलाको रुपमा रहेको नेपालविरुद्ध जित हात पार्नु पर्नेछ।'

उनले नेपाल आफूहरुको लागि ब्राजिल/अर्जेन्टिना जस्तो हराउनै नसकिने टोली पनि नरहेको नेपाललाई हराउन सक्षम रहेको प्रतिक्रिया दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell