PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाली भूमिमा भारतीयको गोली लागेर नेपाली ढलेको क्षण



नेपाली भूमिमा भारतीयको गोली लागेर नेपाली ढलेको क्षण

ड्याङ्… आवाज आउँछ।

एक युवक भुँइमा पछारिन्छन्। छेउमा रहेकाहरु दौड्दा चिप्लेर लडेको ठान्छन्। तर जब लडेको मान्छे उठ्दैन। भीडमा हल्ला फैलन्छ – उसलाई गोली लाग्यो। 

हतार- हतार उसलाई स्थानीयले उचाल्छन् र अस्पतालतिर दौडाउँछन्। तर लडेका ती युवक उठ्दैनन्। भारतीय सीमा सुरक्षा फौजको गोली लागेका कञ्चनपुरको पुर्नवास नगरपालिका आनन्दबजार ८ का २५ वर्षीय गोविन्द गौतमले बिहीबार उपचारका लागि लैजाँदै गर्दा प्राण त्यागे।   



​…

कञ्चनपुरमा यस वर्ष विकासले गति लिदैँ थियो। २२ वटा पुल बन्दै थिए। अनि ८ वटा कल्भर्ट बन्दै थिए। 

स्थानीयमा विकासलाई उत्साह थियो। तर जब कल्भर्ट निर्माणमा भारतीय पक्षले अवरोध गर्‍यो, स्थानीय आक्रोशित भए। 

गत फागुन ७ गते बुट बजार्दै एक दर्जन भारतीय सीमा सुरक्षा बलले कल्भर्ट निर्माण भैरहेको क्षेत्रमा रवाफ जमाउन आइपुगे। उनीहरुले कल्भर्ट निर्माण भैरहेको जमिन आफ्नो तर्फ पर्ने भन्दै निर्माण रोक्न आदेश दिए। निर्माण रोकियो। 
 
तर नेपाली अधिकारी र भारतीय अधिकारीबीचको कुराकानी पछि फागुन १० गते कच्ची कल्भर्ट निर्माण अगाडि बढाउने समझदारी बन्यो। तर भारतीय अधिकारीसँगको समझदारी एसएसबीले टेरेन। भारतीय एसएसबीले कल्भर्ट निर्माणमा अवरोध कायम राख्यो। 

बुधबार भारतीय सुरक्षा फौज नेपालको सीमाना भित्रै हातहतियारसहित प्रवेश गर्‍यो। स्थानीय कल्भर्ट निर्माण उपभोक्ता समितिका सचिव चन्द्रमणी गैरेका अनुसार बुधबार साँझ भारतीय एसएसबीका जवानले स्थानीय इन्दिरा गुरुङको घरसम्म आएर घर छोडेर भाग्न धम्क्याए। उनीहरुले तुच्छ शब्द प्रयोग गर्दै भारतमा भेटे कुट्ने धम्की समेत दिए।

बुधबारको घटनाले बिहीबार बिहानै देखि आनन्दबजार क्षेत्र तनावग्रस्त बन्यो। कल्भर्टको अवरोध र भारतीय हेपाहा प्रवृत्ति विरुद्ध स्थानीय जागे। 
गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भारतीय पक्षले कच्ची कल्भर्ट भत्काएपछि स्थानीयहरु विरोधमा उत्रिएका हुन्। भारतीय हेपाहा प्रवृतिविरुद्ध बिहीबार बिहानबाटै आनन्दबजार क्षेत्रमा स्थानीय प्रदर्शनमा उत्रिए। दुवै पक्षबीच ढुङ्गा हानाहान भयो। प्रदर्शनमा नेपालीको व्यापक सहभागिता भएपछि भारतीय पक्षले गोली चलाउँदा गौतमले ज्यान गुमाए। 

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ – ‘भारतीय सीमा सुरक्षा बल एसएसबीले एक्कासी गोली चलाउँदा घाइते भएका गौतमलाइ उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको हो।‘ 

तर भारतीय दूतावासले भने घटनामा एसएसबीले गोली नचलाएको दावी गरेको छ। भारतीय दुतावासले आफ्नो वेवसाइटमा राखेको प्रेस नोटमा लेखेको छ – ‘त्यहाँ सीमा सुरक्षा बलबाट गोली चलाउने कुनै घटना भएको छैन। कुनै निर्माण कार्य हुनु अघि सीमा स्तम्भको स्थानबाट निर्क्यौल हुन जरुरी छ।‘ 
 

बढ्दो विरोध

घटनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस विज्ञप्ति जारी गर्दै ‘स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको नागरिक भारतीय सुरक्षाकर्मीको गोलीबाट मारिनु अत्यन्त गम्भीर घटना’ भनेका छन्। गृह मन्त्रालयले पनि घटनालाई ‘दु:खदायी र निन्दनीय’ भनेको छ।
 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा कार्यकर्ता भेलामा गोली प्रहारको घटनाको विरोध जनाएका छन्। उनले सरकार नेपाली जनता मारिँदा समेत सरकार कानमा तेल हालेर बसेको बताए। 

ओलीले विकासमा अवरोध गर्नु र सीमाना भित्र पसेर नेपालीलाई कुटपिट गर्ने घटना हुनलाई निन्दनीय भनेका छन्। साथै आफ्नो पार्टीविरुद्ध मधेसी मोर्चाले आपराधिक क्रियाकलाप गरिरहेको दावी गर्दै घटनाको विरोध गरेर देखाउन मोर्चालाई चुनौति दिए। ‘नेपाली मारिँदा केही भन्छ कि भन्दैन’, ओलीले भने, ‘यस्ता विषयलाई सरकारले अबिलम्ब भारत सरकारसँग कुरा गर्नपर्‍यो।‘ 

त्यसैगरी नयाँ शक्ति नेपालले पनि विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको छ। 

‘यो घटना नेपाल–भारत सीमा क्षेत्रमा विद्यमान विवादकै परिणामस्वरुप भएको घटना हो । नेपाल–भारत सीमा क्षेत्रमा यस्ता धेरै विवादका विषयहरु विद्यमान छन् जसको स्थायी समाधानका लागि सरकारले ठोस पहल गरेको छैन । जसका कारण यस्ता घटनाहरु बारम्बार दोहोरिने गरेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेका निर्माणका विषयमा होस् या सीमा विवादका विषयहरु सरकारले तत्काल कुटनीतिक पहल गरी समाधान गर्नुपर्दछ । नयाँ शक्ति पार्टी, नेपाल सरकारसँग भारतसँगको सीमा विवाद र नेपाल–भारत सीमा क्षेत्रका निर्माणका कामहरु लगायतका विषयलाई राष्ट्रहितको ख्याल गर्दै अन्तर्राष्ट्रिय कानुनका आधारमा कुटनीतिक पहलद्वारा समाधान गर्न माग गर्दछ ।‘
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell