PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रिकभरी टिमले काम रोक्यो, जहाज झन् भास्सिएपछि विमानस्थल कहिले खुल्ने अन्यौल



रिकभरी टिमले काम रोक्यो, जहाज झन् भास्सिएपछि विमानस्थल कहिले खुल्ने अन्यौल
फोटो सौजन्य : प्रकाश घिमिरे

  • कञ्चन अधिकारी/उमेश श्रेष्ठ -
काठमाडौँ : रनवे नै छेकिने गरी दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको जहाज हटाउने प्रयासकै क्रममा झन् भास्सिएपछि काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थल कहिले खुल्ने अन्यौलमा परेको छ।  विमानस्थलस्थित प्राविधिक स्रोतका अनुसार अझै दुई तीन दिन विमानस्थल खुल्ने संभावना छैन। 

यो समाचार तयार पार्दा रिकभरी टिमले काम रोकेको छ। उनीहरुले 'अब सकिन्न' भन्ने निश्कर्ष निकालिसकेको स्रोतको दावी छ। यद्यपि उनीहरुले औपचारिक रुपमा सकिन्छ कि सकिन्न भन्ने बताइरहेका छैनन्। तर काम रोकिसकेको अवस्थामा शनिबार बिहान १० बजेसम्म विमानस्थल बन्द हुने म्याद थपिने प्रष्टै छ।

भारतीय टोलीले औपचारिक घोषणा नगरे पनि उनीहरुको 'एटिच्युड र एक्सप्रेसनले नसक्ने देखाएको' स्रोतको दावी छ। उनीहरुको अहिलेसम्मको उपकरणले भने काम नहुने निश्चित भइसकेको छ। अर्को उपकरणहरु नआएसम्म काम अघि बढ्ने देखिँदैन। 



के भएको छ अहिले ?

जहाजको अगाडिको ल्यान्डिङ गियरलाई ट्रकमा राखिएको छ। तर पछाडिको बायाँ पट्टीको इन्जिन पहिलेभन्दा झन् धस्सिएपछि रिकभरी टिम झस्किएको हो। थाइ एयरवेजका इन्जिनियर, नेपाल एयरलाइन्सका इन्जिनियर र भारतबाट आएको टोलीबीच अब कसरी अगाडि बढ्ने भन्ने बारे साँझ छलफल भएको थियो।  

नहाल्नु पर्ने ठाउँमा हात हालियो भन्दै भारतीय सैनिक टिम पनि निराश भएको प्राविधिक स्रोत बताउँछ। 

नागरिक उड्डयन प्राधिकरणले जहाजको वजन १५० टनमात्र रहेको बताउँदै आए पनि प्राविधिक टिमका अनुसार त्यो १८० टन बराबरको छ।  

 

इस्तानबुलबाट टिम आउँदै

भारतीय टिमले लत्तो छाडेपछि टर्किस एयरलाइन्सकै पहलमा इस्तानबुलबाट रिकभरी टिम आउने लगभग निश्चित भइसकेको छ। यताको टिमले अब सक्दैनौँ भन्ने बित्तिकै उताको टिम आउनेछ। 

भारतीय वायुसेनाको रिकभरी टिम आउनुअघि नै टर्किस एयरलाइन्सले आफ्नो रिकभरी टिम ल्‍याउने प्रस्ताव गरेको थियो। प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनका अनुसार भारतीय जहाज नै छिटो आइपुग्ने भएकोले इस्तानबुलको टिमलाई स्टायन्ड बाईमा राख्न भनिएको थियो।

अब इस्तानबुलबाट टिम नझिकाई नसकिने टुङ्गोमा अधिकारीहरु पुगेको प्राविधिक स्रोत बताउँछ। 
 
यसले विमानस्थल खुल्ने समय झन् अन्यौल भएको छ। त्यसो त प्राधिकरण महानिर्देशक सुमनले शुक्रबार दिउँसोको पत्रकार सम्मेलनमा नै सञ्चारकर्मीहरुलाई शनिबार १० बजेपछि विमानस्थल खुल्ने भनेर समाचार नलेख्न सचेत गराएका थिए। 'विमानस्थल खुल्ने ग्यारेन्टी गर्न सकिन्न', उनले भनेका थिए।  

दिउँसोको भिडियो
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell