PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

भोलि १० बजेपछि पनि विमानस्थल खुल्ने ग्यारेन्टी छैन : डिजी, किन भइरहेको छ ढिलाइ?



भोलि १० बजेपछि पनि विमानस्थल खुल्ने ग्यारेन्टी छैन : डिजी, किन भइरहेको छ ढिलाइ?

  • कञ्चन अधिकारी/पहिलोपोस्ट -
​काठमाडौँ : टर्किस एयरलाइन्सको विमानले क्र्यास ल्यान्ड गरेपछि रनवेमा अवरोध भएका कारण बुधबार बिहानदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान कहिले सुचारु हुने अझै अनिश्चित नै छ। 

शुक्रबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले भने, 'भोलि १० बजे पनि विमानस्थल खुल्ने ग्यारेन्टी छैन।'

उनले अझ अगाडि भने, 'कतिपय पत्रकार साथीहरुले यति बजे खुल्छ भनेर लेखिरहनुभएको छ, त्यो होइन। हामीले १० बजेसम्म बन्द गरेका हौँ। त्योभन्दा अघि पनि खुल्न सक्छ, पछि पनि नखुल्न सक्छ।'

किन भइरहेको छ ढिलाइ ?

सुमनका अनुसार अझै पनि दुर्घटनाग्रस्त जहाज रनवे नछेकिने गरी सुरक्षित स्थानमा लग्न कठिनाइ भइरहेको छ। बिहान मिडियामा ब्लाडर (रबरको बेलुन) मा हावा हालेर जहाजलाई सन्तुलनमा ल्याइयो भनिए पनि फेरि ब्लाडरको हावा फुस्काउनु पर्ने स्थिति आएको छ। 

सुमन भन्छन्, 'जहाजलाई १७ फिटभन्दा माथि उचाल्नु पर्ने स्थिति छ। तर ब्लाडरको क्षमता १७ फिटमात्रै रहेछ। त्यसैले हामीले हावा फुस्काएर मुनि चार चार फिटको काठको टुक्रा राखेर त्यसमाथि ब्लाडर राखी पुनः हावा भरेर जहाज उठाउने काम गर्दैछौँ।'

ल्यान्डिङ गियरको पाङ्ग्रा फेरिँदै

जहाजको ल्यान्डिङ गियरका दुई वटा पाङ्ग्रा फेरिसकेको उनले जानकारी दिए। तर त्यति फेर्दा पनि जहाजलाई गुडाउन सक्ने अवस्था भने छैन। त्यही कारण पाङ्ग्राको संख्या बढाउने तयारी अहिले भइरहेको छ। 

साढे ५७ टन भएको मेन ल्यान्डिङ गियर नभास्सियोस् भनेर ट्रकमाथि राखिएको छ। सुरक्षित रुपमा सार्नका लागि त्यहाँ ट्रयाक बनाउने काम भइरहेको छ। 

त्यस्तै जहाजको दायाँतिरको इन्धन झिकिसकिएको छ। बायाँको भने झिक्न बाँकी छ। 

हाइड्रोलिक ब्रेक डिसकनेक्ट

जहाज दुर्घटना भएपछि लक भएको हाइड्रोलिक ब्रेकलाई अहिले खुला गरिसकेको सुमनले बताए। ब्रेक खुलिसकेको भएर अब पाङ्ग्रा राखेपछि तान्न सकिने स्थिति रहेको उनको कथन छ। 

अलपत्र यात्रुहरु, भिसा म्याद थपिने

बुधबारदेखि विमानस्थल बन्द भएपछि अहिले खर्च सकियो भन्दै पर्यटकहरु विमानस्थलमै सुत्ने समेत गरिरहेका छन्। बुधबारै भिसाको म्याद सकिएका पर्यटकहरुलाई विमानस्थल नखुल्दासम्मको म्याद थपिने गरी अध्यागमन विभागसँग समन्वय गरिरहेको जानकारी पनि महानिर्देशक सुमनले दिए। 

पत्रकार सम्मेलनमा उनले यात्रुहरुलाई परेको कठिनाइका लागि माफीसमेत मागे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell