PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दुबईमा रहेका एक नेपाली जसलाई खोज्न नेपाल र भारतका सुरक्षा एजेन्सी लागिपरेका छन्



पहिलोपोस्ट

दुबईमा रहेका एक नेपाली जसलाई खोज्न नेपाल र भारतका सुरक्षा एजेन्सी लागिपरेका छन्

  • केपी ढुंगाना/राधेश्याम पटेल -
पाकिस्तानी खुफिया एजेन्सी इन्टर सर्भिस इन्टेलिजेन्स एजेन्सी (आइएसआई)मा आवद्ध भएर भारतविरुद्ध गतिविधि गर्ने गरेको आरोप लाग्नेको संख्या कम छैन नेपालमा। 

राजनीतिक दलका नेता, व्यापारी, पत्रकार, सरकारी कर्मचारीको नाम कुनै न कुनै रुपमा पाकिस्तानी खुफिया एजेन्सीसँगै पाकिस्तानमा बसेका कुख्यात भारतीय माफिया दाउद इब्राहिमसँग जोडिँदै आएको नै हो।

तर माथि उल्लेख गरिएका नेपाली नागरिक होदा ‘वान्टेड’ हुनुको कारण आरोपमा मात्रै सीमित छैन। दुई देशको सुरक्षा संयन्त्र उनको पछि लागेको छ। 

नेपाल-भारत सीमामा बस्ने नेपाली र भारतीय नागरिक परिचालन गरी आतंकवादी गतिविधि सञ्चालन गरेको पुष्ट्याईँसहित अहिले आतंकवाद सम्बन्धी अनुसन्धान गर्ने नेपालको विशेष ब्युरो र भारतको नेशनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए) ले नेपाली नागरिक समसुल होदाको आतंकवादको जालो केलाउन व्यस्त छ। उनी भने दुबईमा छन्।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार नेपाली नागरिकमाथि आतंकवादी गतिविधिमा संलग्न रहेको आरोप लाग्ने गरे पनि प्रत्यक्ष संलग्नता खुलेका थिएनन्। समसुलको हकमा भने समूह बनाउने, आर्थिक सहयोग गर्ने र योजना बनाएर परिचालन समेत गर्ने गरेको खुलेको छ।

'उनी पहिलादेखिनै हाम्रो निगरानीमा भएका व्यक्ति भए पनि कुनै घटनामा उनको संलग्नता खुल्ने तथ्य फेला परेको थिएन,' अनुसन्धानमा संलग्न ब्युरो स्रोतले भन्यो, 'अहिले जे जस्ता विवरण खुलेका छन्, ती संवेदनशील छन्।'

म्यानपावर सञ्चालकदेखि नेतागिरीसम्म


होदा दुबई गएको करिब एक वर्ष मात्रै भयो। यो भन्दा अगाडि उनी नेपालमा थिए। संविधान सभाको दोस्रो निर्वाचनमा उनी बारा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवारसमेत बनेका थिए। उनले शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिए पनि १ हजार ४ सय ३२ मत ल्याई पराजित भए। 

जानकार स्रोतका अनुसार भण्डारीको पार्टीमा प्रवेश गर्नु अगाडिसम्म उनी म्यानपावर कम्पनी चलाएर बसेका थिए। निर्वाचनमा पराजित भए पनि उनी दुबई जानु अगाडिसम्म राजनीतिमा सक्रिय थिए। 

राष्ट्रिय मधेस समाजवादी पार्टीका बारा जिल्लाका अध्यक्ष मनोज चौरसियाले होदा आफ्नो पार्टीबाट संविधान सभा निर्वाचनमा सहभागी भएको पुष्टि गरे। निर्वाचनमा पराजित भएपछि भने उनी पार्टीमा संलग्न नरहेको उनको दावी छ।

यसरी खुल्यो कनेक्सन

पुस १३ मा बाराको जङ्गलमा भारतीय नागरिक दीपक राम र अरुण रामको शव फेला परेपछि अनुसन्धानको क्रममा उमेशकुमार पटेल र कलैया बरेवाका मोजाहिर अन्सारी पक्राउ परे। 

पक्राउ परेका दुबैजनाले सिमराका बृजकिशोर गिरीको नाम पोलेपछि प्रहरीको विशेष ब्युरो र पर्सा प्रहरीले पुस २४ गते उनलाई पक्राउ गरेको थियो। 
उता भारतमा पनि अनुसन्धान चलिरहेको थियो। यो बीचमा भारतमा बिहार प्रहरीले मोती पासवान, उमाशंकर पटेल र मुकेश यादवलाई पक्राउ गरिसकेको थियो।

भारतमा पक्राउ परेकाहरुबाट भारतको सिम्रौनगढ घोडासन रेल लाइनमा विष्फोटको योजना अनुसार बम राखिएको तर प्रेसरकुकर बममा राम्रोसँग तार नजोडिदा नपड्किएको खुल्यो।

रेल्वे ट्रयाकमा बम पड्काउन गिरीबाबा उपनामले कुख्यात नेपाली नागरिक बृजकिशोर गिरीले ३ लाख भारतीय रुपैंया दिएको खुलेपछि नेपाल-भारत दुबैतिरका सुरक्षा अधिकारीले संयुक्त अनुसन्धान अगाडि बढाएको थियो।

गिरीको पक्राउपछि भारत बिहारको रेल्वे ट्रयाकमा बम विष्फोटको योजना उनकै समूहले बनाएको पुष्टि भइसकेको अनुसन्धानमा संलग्नस्रोतले बतायो।

पक्राउ गर्न जाँदा भाग्न खोज्दा प्रहरीले छ राउण्ड गोली हानेर उनलाई पक्राउ गरेको थियो। गिरीको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

उनले बयानमा आफूले भारतीय नागरिकलाई कामका लागि पैसा दिएको तर विष्फोट नभएपछि दोस्रो काम दिँदा नमानेकोले पोल खुल्ने डरले नेपालमा बोलाएर हत्या गरेको स्वीकार गरिसकेका छन्। गिरीले नै विष्फोटका लागी होदाले पैसा दिएको बयान दिएका हुन्।

अनुसन्धानमा खुले अनुसार कलैया बसपार्क टोलमा रहेको होदाको घरमा भारतको रेल्वेट्रयाकमा बम पड्काउने योजना बनेको थियो। योजना अनुसार होदाले आवश्यक पैसाको बन्दोबस्त गर्ने र गिरीले काम गर्न नेपाल र भारतमा सहयोगी खोज्ने सहमति भएको थियो।

योजना अनुसार होदाले गिरीलाई पैसा दिएर उनी दुबई गए। यता गिरीले विहारको रेल्वे ट्रयाकमा बम पड्काउन भारतीय र नेपाली सहयोगीलाई राजी बनाए।

योजना अनुसार रेल्वेट्रयाकमा बम समेत राखियो तर प्राविधिक गडबडी हुँदा पड्किन पाएन। पछि प्रहरी आएर बम निष्कृय बनाएको थियो।

इराकदेखि अफगानिस्तानसम्म कनेक्सन

स्रोतका अनुसार १५ वर्षदेखि उनको गतिविधि शंकास्पद थियो। यो बीचमा उनी इराकदेखि अफगानिस्तानसम्म पुगेको खुलेको छ। दुबई पुगेको भने त्यस्तै एक वर्षमात्रै भएको छ।

भारतीय पक्षले होदालाई पाकिस्तानी खुफिया एजेन्सीसँग जोडेर उसैको योजनामा भारतमा आतंकवादी आक्रमणको योजना बनाएको दावी गर्दै आएको छ। नेपाली पक्षको अनुसन्धानमा होदाले आतंकवादी गतिविधिका लागि आर्थिक सहयोग गरेको पुष्टि भएको छ। 

प्रहरीले पाकिस्तानी मुज्जाहिद्दिन समूहसँग उनको सम्पर्कबारे अनुसन्धान केन्द्रित गरे पनि उनी कुन समूहका लागि काम गर्छन्, त्यो निर्क्यौल गरिसकेको छैन।

'उनी आतंकवादी गतिविधिमा संलग्न छन् भन्ने विषयमा कुनै दुविधा रहेन,' अनुसन्धानमा संलग्न स्रोतले भन्यो, 'पाकिस्तानी समूह हो या आइएसआइएस त्यसबारे अनुसन्धान जारी छ।'

अन्य पनि आशंकामा

स्रोतका अनुसार कलैया १० बरेबाटोलका अनवर अन्सारी समेत अनुसन्धानमा तानिएका छन्। अन्सारीले नै होदालाई रामसपा पार्टीमा ल्याएर उम्मेदवार बनाएका थिए। दुबैबीच सम्बन्ध घनिष्ठ देखिएको छ। 

यही घटनामा प्रहरीले धिरज शाहको समेत खोजी गरिरहेको छ। उनी फरार छन्। 

स्रोतका अनुसार पक्राउ परेका पटेलको नाममा रहेको मोबाइल नम्बर धिरजले प्रयोग गरेको खुलेको छ। धिरजले सोही नम्बरबाट गिरीसँग कुरा गर्ने गरेका थिए।

संयुक्त अनुसन्धान जारी

होदाबारे नेपालमा प्रहरीको विशेष ब्युरोले अनुसन्धान गरिरहेको छ। भारतमा बिहार प्रहरीले अनुसन्धान सकाएर फाइल नेशनल इन्भेष्टिगेशन एजेन्सीलाई फाइल बुझाइसको छ।

बिहारको रेल्वे ट्रयाकमा बम पड्काउने योजना असफल भएको पुष्टि भएसँगै भारतीय सुरक्षा एजेन्सीले सन् २०१६ नोभेम्बरमा उत्तरप्रदेशको कानपुरमा भएको रेल दुर्घटना र सन् २०१६ जनवरी २१ मा आन्ध्रप्रदेशको कुनेरुमा भएको ट्रेन दुर्घटनालाई समेत आतंकवादी घटनासँग जोडेर अनुसन्धान अगाडि बढाएको छ।

कानपुरमा भएको घटनामा १ सय ५० जनाको मृत्यु भएको थियो भने कुनेरुमा भएको दुर्घटनामा ३९ जना मारिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell