PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

दुबईवासीसँग मिलेर नेपालीको आतंकवादी समूह, भारतीय रेलमा विस्फोट गर्ने योजना



राधेश्याम पटेल

दुबईवासीसँग मिलेर नेपालीको आतंकवादी समूह, भारतीय रेलमा विस्फोट गर्ने योजना

वीरगन्ज : दुबईमा बसेका एक नेपाली नागरिकसँग मिलेर सिमराका बृजकिशोर गिरीले आतंकवादी समूह सञ्चालन गरेको खुलेको छ। पुस २४ मा प्रहरीले ६ राउन्ड गोली हानेर पक्राउ गरेको गिरी-नेटवर्कको अनुसन्धानका क्रममा दुबईमा रहेका अर्का एक व्यक्तिको निर्देशनमा नेपाली र भारतीय नागरिक परिचालन गरी उनले आतंकवादी समूह चलाएको खुलेको हो।

बारा, जङ्गलमा फेला परेको भारतीय नागरिक दीपक राम र अरुण रामको हत्याको अनुसन्धानको क्रममा गिरी समूहबारे खुलेको हो। जिल्ला प्रहरी कार्यालय पर्साले पुस १४ मा उमेशकुमार कुमार कुर्मी,कलैया बरेवाका मोजाहिर अन्सारीलाई पक्राउ गरेको थियो। यी दुवैको पक्राउपछि गिरीको गतिविधि खुलेको हो।

उनलाई आतंकवाद सम्बन्धी अनुसन्धान गर्ने प्रहरीको विशेष ब्युरो र पर्सा प्रहरीले ससुरालीमा लुकेर बसेको अवस्थामा ६ राउन्ड गोली हानेर पुस २४ मा पक्राउ गरेको थियो। अहिले काठमाडौंको शिक्षण अस्पताल महाराजगन्जमा गिरीको उपचार भइरहेको छ।

दुई भारतीय नागरिकको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका यी तीन जनाको जालो केलाउने क्रममा ब्युरोले गिरी दुबई बेस बनाएर भारतमा आतंकवादी गतिविधिमा संलग्न समूहको नेपाल एजेन्ट रहेको खुलाएको हो।

'अनुसन्धानमा गिरीको दुबई र भारतका आपराधिक समुहसँग सम्बन्ध खुलेको छ,' अनुसन्धानमा संलग्न एक अधिकारीले भने, 'समूह डरलाग्दो देखिएपछि भारतीय सुरक्षा निकायसँग समन्वय गरेर अनुसन्धान गरिरहेका छौ‌ं।'

अनुसन्धानमा संलग्न स्रोतका अनुसार गिरीले नेपाली र भारतीय नागरिक परिचालन गरी भारत बिहारको रेल्वे ट्रयाकमा बम विष्फोट गराउने योजना बनाएको पुष्टि भइसकेको छ। भारतीय सञ्चारमाध्यमहरुले दुबईमा रहेका व्यक्तिको नाम समसुल हुद्दा रहेको र ऊ नेपाली नागरिक रहेको दाबी गरेका छन्।

अनुसन्धानमा संलग्न नेपाली सुरक्षास्रोतले भने नाम पुष्टि हुन बाँकी भए पनि गिरीको सम्पर्क दुबईमा सक्रिय आपराधिक समूहसँग देखिएको पुष्टि गर्‍यो।

अनुसन्धानमा सलग्न डिएसपी राजेन्द्रबाबु रेग्मीले गिरीको अन्तर्राष्ट्रिय सञ्जालबारे केन्द्रबाट अनुसन्धान भइरहेको बताए। स्थानीय अनुसन्धानमा भारत बिहारको रेल्वे ट्रयाकमा बम विष्फोटको योजनामा गिरी संलग्न देखिएको र यसबारे थप विवरण संकलनका लागि भारतीय प्रहरीसँग सहकार्य भइरहेको रेग्मीले पुष्टि गरे।

'हाम्रो अनुसन्धानमा गिरीले भारतको रेल्वे ट्रयाकमा बम पड्काउने प्रयास गरेको खुलेको छ,' उनले भने, 'यसबारे केन्द्रबाट विस्तृत अनुसन्धान भइरहेको छ, हामीले पनि भारतीय पक्षसँग समन्वय गरिरहेका छौं।'

पुस १३ गते बारा, करैया–८ सहजनाथ मन्दिरभन्दा उत्तरपूर्वमा भारतीय नागरिक दीपक राम र अरुण रामको शव फेला परेको थियो। जङ्गलमा घाँटी काटेर फालेको अवस्थामा शव फेला परेपछि अनुसन्धान अगाडि बढाउँदा गिरीसम्म प्रहरी पुगेको हो।

यता नेपाल प्रहरीले ३ जना पक्राउ गर्दा उता भारतमा पनि प्रहरीले मोती पासवान, उमाशंकर पटेल र मुकेश यादवलाई पक्राउ गर्‍यो। भारतमा पक्राउ परेकाहरुबाट भारतको सिम्रौनगढ घोडासन रेल लाइनमा बम विष्फोटको योजना अनुसार बम राखिएको तर प्रेसरकुकर बममा राम्रोसँग तार नजोडिदा नपड्किएको खुल्यो ।

सँगै सो योजनाका योजनाकार नेपालमा रहेको र उनको नाम गिरीबाबा रहेको खुलेको थियो। अनुसन्धानमा गिरीबाबा भनिने बृजकिशोर रहेको खुल्यो। मारिएका दुवै भारतीय उनकै समूहका सदस्य रहेको र उनले भारत कानपुरको रेल्वे लाइनमा बम पड्काउने योजना बनाएको खुलेको थियो।

अनुसन्धान अधिकारीका अनुसार सिम्रौनगढको योजना असफल भएपछि दीपक र अरुणले कानपुरमा बम पड्काउन गिरीसँग ३ लाख रुपैयाँ लिएको तर बम नपड्काएपछि गिरीले उनीहरुको हत्या गरेको खुलेको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार गिरीलाई दुबईमा रहेका समसुल गिरीको मुख्य फाइनान्सर रहेको र उनी पाकिस्तानी खुफिया एजेन्सीका सदस्य रहेको दाबी गरे पनि नेपाली सुरक्षा अधिकारीबाट यो पुष्टि हुन सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell