PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

माग-आपूर्तिको सन्तुलन नमिल्दा तस्करीले धानेको छ नेपालको सुन बजार



सविन ढकाल

माग-आपूर्तिको सन्तुलन नमिल्दा तस्करीले धानेको छ नेपालको सुन बजार

काठमाडौं : देशभर दैनिक ५० देखि ६० केजी सुनको माग छ अहिले। तर राष्ट्र बैँकले विभिन्न १६ वटा वाणिज्य बैँकमार्फत दैनिक १५ केजी मात्र पठाउँछ। १५ केजी सुन पठाइए पनि कहीँ कतै सुनको अभाव देखिँदैन।
 
६० केजी सुनको मागलाई १५ केजी आपूर्तिले कसरी धानेको छ त? यसको एउटै जवाफ हो, तस्करीको सुनले।
 
***
विदेशबाट ५० ग्राम सुन ल्याउन पाउने व्यवस्था परिवर्तन गर्दै साउन १ गतेदेखि सरकारले काँचो सुन ल्याउन प्रतिबन्ध लगायो। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको ३३ किलोग्राम सुन बिहीबार मात्र बरामद भएको छ। यसैले देखाउँछ नेपालमा सुन तस्करीको सञ्जाल निकै ठूलो छ।
 
विदेशबाट एक केजी सुन ल्याएर बिक्री गर्दा तस्करहरुलाई ५ देखि ८ लाख रुपैयाँसम्म फाइदा हुन्छ। खरिद गर्ने व्यवसायीलाई पनि बैँकबाट खरिद गर्नुभन्दा तस्करबाट लिँदा नै केही रकम फाइदा हुन्छ। यसैले राष्ट्र बैँकले उपलब्ध गराउने सुन कमै मात्रामा बिक्री हुने गरेको छ।
 
साउन १ गतेदेखि अहिलेसम्म बैँकले २६ सय ५० केजी सुन सिफारिस गरेकोमा  सय केजी आउन बाँकी छ। बैँकमा अहिले ५६ केजी सुन स्टक रहेको बैँकर्स एसोसियशनका प्रमुख कार्यकारी केशव अधिकारी बताउँछन्।
 
सरकारले मागभन्दा कम कोटा तोक्दा त्यसको फाइदा तस्कर र व्यापारीले नै उठाएका छन्। 
 
आपूर्तिको ३० देखि ४० केजी सुनको लागि सुन व्यापारी तस्करको भर पर्ने गरेका छन्। तस्करबाट खरिद गरिएको सुन केही सस्तो पर्ने भएकाले उनीहरु तस्करमा बढी निर्भर देखिन्छन्। यसले देखाउँछ, केही वर्षदेखि नेपालको सुन बजार 'तस्करीको सुनबाट' टिकिरहेको छ।
 
सुनचाँदी रत्न आभुषण महासंघका संस्थापक अध्यक्ष रमेश मर्हजन माग अनुसारको आपूर्ति हुन नसक्दा केही व्यापारीले बाध्य भएर तस्करबाट खरिद गर्ने गरेको स्विकार्छन्। 'हामीले पटकपटक आपूर्ति बढाउन राष्ट्र बैँकमा माग गरेका हौं,' उनी भन्छन्, 'तर बैँकले यो बाध्यता बुझ्नै सकेन।'
 

विदेशिएका युवा तस्करको जालोमा

सुन तस्करले नेपालमा सुन भित्र्याउन वैदेशिक रोजगारका लागि गएका युवालाई समेत प्रयोग गर्ने गरेका छन्। सरकारले साउनबाट काँचो सुन ल्याउन प्रतिबन्ध लगाएपछि तस्करले स्वदेश फर्किने युवालाई ५० ग्राम सुन बोकाएर पठाउने जुक्ति निकालेका छन्। यसरी सुन भित्र्याउने सयभन्दा बढी युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट पक्राउ परिसकेका कार्यालयका उपनिर्देशक टंकनाथ पौडेलले बताए।
 
५० ग्राम सुन ल्याए बापत तस्करले २५ देखि ४० हजारसम्म दिने प्रलोभनमा ती युवाहरु फस्ने गरेका छन्।
 

तस्करको नाका- केरुङ

भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएसँगै सुन तस्करीमा संलग्न समूह रसुवाको केरुङ सरेका छन्। वाणिज्य बैंकहरुले मगाएको वैध सुन बिक्री नभई बैंकमै थन्किएर बजार धानिए पनि सुन कहाँबाट आइरहेको छ? खुलेको थिएन।
 
पछिल्ला दुई घटनाले तस्करीमा संलग्न समूहले विदेशबाट आउनेहरुसँग सुन मगाएसँगै रसुवाको केरुङ नाकालाई सुन तस्करीका लागि उपयोग गरिरहेको खुलेको हो।
 
प्रहरीले एक साताअघि रसुवाको टिपुरेमा मोटरसाइकलको डिक्कीमा पाँच किलो सुन फेला पारेको थियो। बा ६८ प ७४५४ नम्बरको मोटरसाइकलमा सुन सहित पक्राउ परेका वीरेन लामासँग सोधपुछ गर्दा उनले सो सुन केरुङ नाका हुँदै ल्याएको खुलाएका थिए।
 
केही साताअघि कलंकीमा बा ८ च ७४२० नम्बरको टोयोटा हाइलक्स गाडीको साइलेन्स पाइपमा लुकाएर राखेको सात किलो सुन फेला पर्‍यो। सुन सहित पक्राउ परेका चालक कुन्साङ लामाको बयानमा सो सुन पनि केरुङ हुँदै ल्याएको खुलेको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाको एक अधिकारीले बताए।
 
मंसिर १८ मा बौद्धको फूलबारीमा बा ५ प १७७२ नम्बरको मोटरसाइकलमा प्रहरीले १० किलो सुन फेला पारेको थियो। प्रहरी देख्नासाथ मोटरसाइकलमा रहेका व्यक्ति मोटरसाइकल नै छाडेर भागेका थिए।
 
मापस गरेकाले भागेका होलान् भनेर प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएपछि जाँच गर्‍यो तर साइलेन्सर पाइपमा फेला पर्‍यो १० किलो सुन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell