PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ट्याक्सी चालक लामाको मृत्यु प्रकरण, युवतीसँगको सम्बन्धका कारण हत्या : प्रहरी



पहिलोपोस्ट

ट्याक्सी चालक लामाको मृत्यु प्रकरण, युवतीसँगको सम्बन्धका कारण हत्या : प्रहरी

काठमाडौं : ट्याक्सी चालक राजकुमार लामाको मृत्यु प्रकरण छानबिन गर्न बनेको समितिले मदिराका कारण नभई उनको हत्या नै भएको पुष्टि गरेको छ।
 
आज अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै छानबिन समितिका संयोजक महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले अनुसन्धानमा लामाको हत्या नै भएको पुष्टि गरे। जोरपाटीस्थित नयाँबस्तीमा रहेको प्रहरी चौकीका प्रहरीले भने प्रारम्भिक अनुसन्धानमा अत्यधिक मदिरा पिएर उनको मृत्यु भएको दाबी गरेको थियो।
 
ट्याक्सी चालक लामाको शनिबार मृत्यु भएपछि आक्रोशित समूहले आइतबार चौकीमाथि आक्रमण गरी मोटरसाइकलमाथि आगजनी गरेका थिए। यसपछि घटनाको थप रहस्य खुलेको हो।
 
घटनाको अनुसन्धानका लागि बनेको एसएसपी खनालसहित तीन सदस्यीय छानबिन समितिले आज प्रतिवेदन सार्वजनिक गर्दै लामाको पोस्टमार्टम रिपोर्टमा मदिरा पिएको नदेखिएको र नजिकै रहेको रेष्टुरेन्टमा काम गर्ने युवतीमाथि यौन सम्पर्क र त्यसपछिको विवादका कारण हत्या भएको बताएको छ।
 
संगीता राई (थिङ) ले सञ्चालन गरेको हेलम्बु रेस्टुरेन्टमा गएका लामाले त्यहीँ काम गर्ने माया तामाङलाई राति दोहोरीमा लगी फर्किएको र यौन सम्पर्कको पैसा नदिएको विषयमा विवाद भएको थियो। 'रेस्टुरेन्ट सञ्चालक संगीताका भाइ मागधन राईले इँटा प्रहार गरेको र त्यसपछि उनको मृत्यु भएको अनुसन्धानमा देखिन्छ,' एसएसपी खनालले भने।
 
घटनापछि प्रहरीले संगीता राई, माया तामाङ, मागधन राई, अरुण माझी र दिया माझीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। संगीता र प्रहरी चौकीका प्रहरीको सम्बन्धबारे भने अनुसन्धान जारी रहेको एसएसपी खनालले बताए।

मृतक लामा दोलखा घर भई काठमाडौंको गोकर्णेश्वर-१३ नयाँबस्तीमा रहँदै आएका थिए। बा२च २२३ नम्बरको ट्याक्सी चालक उनी नयाँबस्ती कुमारी मन्दिरअगाडि रहेको हेलम्बु रेस्टुरेन्टको धारा छेउमा मृत फेला परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell