PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एन्फाको गाडीमा गणेश थापाको रजाइँ, सालो वरिष्ठ उपाध्यक्ष भएपछि बल्ल गरे फिर्ता



गोविन्दराज नेपाल

एन्फाको गाडीमा गणेश थापाको रजाइँ, सालो वरिष्ठ उपाध्यक्ष भएपछि बल्ल गरे फिर्ता

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निलम्बन गरेको एक वर्षपछि बल्ल गणेश थापाले एन्फाको गाडी फिर्ता गरेका छन्।   

फिफाको एथिक्स कमिटीले गएको वर्ष मंसिर १ गते तत्कालीन एन्फा अध्यक्ष गणेश थापालाई १० वर्षका लागि फुटबलसँग सम्बन्धित कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाउँदै झण्डै २१ लाख रुपैयाँ जरिवाना लगाएको थियो। 


थापाले सन् २००९ र २०११ मा भएको फिफा कार्यकारी समितिको निर्वाचनमा व्यक्तिगत र पारिवारिक लाभ हुने गरी घुस लिएको आचरण कमिटीले ठहर गरेपछि तत्काल लागू हुने गरी यस्तो प्रतिबन्ध लगाइएको थियो। तर पनि उनले बा ८ च ६१७ नम्बरको एन्फाको टोयोटा फर्चुनर गाडी आफ्नै सम्पति सरह प्रयोग गरिरहे। 

एन्फाका सिइओ ईन्द्रमान तुलाधरका अनुसार थापाले अस्ति बुधबार बल्ल एन्फाको गाडी फिर्ता गरे। उनले एन्फाको गाडी फिर्ता गर्नु र उनकै सालो मणि कुँवर एन्फाको वरिष्ठ उपाध्यक्ष पदमा मनोनीत हुनु संयोग जस्तै बनेको छ। 

आजै बसेको एन्फाको कार्यकारी समितिको बैठकले गत कात्तिकमा विशेष साधारण सभामार्फत् उपाध्यक्ष पदमा चुनाव जितेका मणि कुँवरलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको हो। 

कात्तिक ८ गते भएको चुनावमा दीपक खाती र उपेन्द्रमान सिंहलाई हराउँदै कुँवर उपाध्यक्ष बनेका थिए। 

थापाले गाडी फिर्ता गरेपछि प्रश्न उठेको छ- अब त्यो गाडी कसले चढ्छ? 

एन्फा अध्यक्ष रहेको बेला गणेश थापाले चढ्ने गाडी वर्तमान एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले चढ्ने हो कि थापाकै साला वरिष्ठ उपाध्यक्ष मणि कुँवरले चढ्ने हो? भन्ने प्रश्नमा सिइओ तुलाधरले ‘गाडी एन्फाले नै प्रयोग गर्ने’ बताए। 

एन्फाको बैठकले वीरबहादुर खड्कालाई उपाध्यक्ष पदमा मनोनित गरेको छ। यी दुवै मनोनित विषयलाई लिएर उपाध्यक्ष किशोर राई र सदस्य पंकज नेम्वाङले नोट अफ डिसेन्ट लेखेका छन्।

(एन्फाको गाडीको फोटो सौजन्य : गोलनेपाल)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell