PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​महाभियोग छलफल रोकेर किन सारियो संसद बैठक १५ दिन?



काठमाडौँ : सभामुख ओनसरी घर्तीले झण्डै दुई साताका लागि संसद बैठक स्थगित गरेकी छिन्। अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग छलफल आजदेखि सुरु भएकै दिन सभामुख घर्तीले संसद बैठक आउँदो कात्तिक २५ गते सम्मका लागि स्थगित गरेकी हुन्। 

मंगलबारबाट संसदमा लोकमानविरुद्धको महाभियोग माथि छलफल सुरु भएको हो। छलफलमा बोल्न धेरै सांसदहरुले नाम लेखाए पनि घर्तीले भोलि बुधबारका लागि बैठक नडाकी सिधै आउँदो कात्तिक २५ गते दिउँसो २ बजेको मिति घोषणा गरेकी हुन्। 

तर सभामुख ओनसरी घर्ती एक्लैले बैठक सार्ने निर्णय भने लिएकी होइनन्। घर्तीले बैठक सार्ने विषयमा प्रमुख दलका सचेतकहरुसँग परामर्श गरेकी थिइन्। दलहरुको परामर्शकै आधारमा बैठक सारिएको हो। 

किन सारियो त बैठक?

लोकमानसिंह कार्की विरुद्धको महाभियोगको समर्थक समेत रहेका एमाले सचेतक भानुभक्त ढकालले अदालतलाई पनि साथ लिएर लैजान बैठक सारिएको बताए। 

पहिलोपोस्टसँग कुरा गर्दै ढकालले सर्वोच्च अदालतले कार्कीको नियुक्तिको विषयमा १५ दिनभित्र जवाफ दिन म्याद दिएको समय कात्तिक १ गतेबाट सुरु भएको उल्लेख गर्दै दुवैतर्फ मिलाउन खोजिएको बताए। 

'उहाँले अदालतमा पनि २० दिन थप समय लिन पाउनुहुन्छ, यस्तोमा अदालतमा ४५ दिन हुन्छ। हाम्रो संसदमा पनि महाभियोग समितिमा पठाएपछि ३० दिन समय हुन्छ। त्यहाँबाट आएपछि छलफल गर्न पाँच सात दिन लाग्छ, यो टाइअप गराउने कुरा अन्तर्गत नै थियो', ढकालले पहिलोपोस्टसित भने, 'दुई तीन दिन छलफल गराएर आउँदो २४ गते राख्ने कुरा भएको हो, तर परिस्थिति अहिले मिल्यो।'

दलहरुबीच आउँदो २४ गते संसद डाक्ने सहमति संसद बैठक सुरु हुनु अघि भएको थियो। तर कांग्रेसले आफ्नो कार्यक्रम रहेको उल्लेख गरेपछि सभामुखले २५ गतेका लागि बैठक डाकेकी हुन्। 

कतिपयले भने संसद बैठक लामो समय स्थगित हुँदा कतै महाभियोग लगाइएका व्यक्तिले चलखेल गर्ने त होइन भन्ने प्रश्न उठाएका छन्। तर यसलाई सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बासुदेव शर्मा बबिन अस्वीकार गर्छन्। 

शर्मा भन्छन् – 'कांग्रेसको महाभियोगको विषयमा कुनै निर्णय आएको छैन। चलखेलको बाटो आदि/इत्यादि त अब संसदमा हुँदैन।  प्रक्रियामा प्रवेश गरेपछि फर्कने ठाउँ छैन। यहाँभित्र चलखेल गर्ने सम्भावना छैन।' 

नेपाली कांग्रेसको आज सकिएको केन्द्रीय समिति बैठकले  महाभियोगको प्रक्रिया अघि बढाउन सहयोग गर्ने तर महाअभियोग सिफारिस समितिको छानबिन अघि कुनै धारणा नबनाउने निर्णय गरेको छ।

सम्बन्धित समाचार 

उनी संसद बैठक लामो समय स्थगित हुँदा दलहरुलाई समेत महाभियोग प्रस्तावमा एकमत हुने समय मिल्ने तर्क गर्छन्। 

एमाले सचेतक भानुभक्त ढकालले पनि दलहरुबीच समझदारीका लागि केही समय स्थगित गर्ने विषयमा छलफल भइरहेको स्वीकार गरे। 

यद्यपि सल्लाहकार शर्माले दसैँका बेला पनि ढिलागरी संसद बैठक स्थगित भएकोमा सांसदहरुले गुनासो गरेकै कारण सभामुखले तिहार र छठका लागि लामो समय संसद रोकेको बताए। 

संसदको नियमावलीले संसद बैठकको मिति तोक्ने अधिकार सभामुखलाई दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell