PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रेडियो धादिङको भवनमा डोजर चलाउनेहरुलाई कारबाही गर्न मानवअधिकार आयोगको आग्रह



पहिलोपोस्ट

काठमाडौं : मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले 'सरकारले आक्रमण शैलीमा सामुदायिक रेडियो धादिङको भवन भत्काएको' घटनाले प्रेस स्वतन्त्रता र मानवअधिकार हनन भएको भन्दै तत्काल दोशीलाई कारबाही गर्न सिफारिस गर्ने बताएका छन्।
 
सामुदायिक प्रसारक संघको नेतृत्वमा गएको विभिन्न रेडियोकर्मी तथा पत्रकारहरुको संगठनका प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै शर्माले यस घटनाको आयोगले तत्काल अनुसन्धान सुरु गर्ने पनि बताए। आयोगका सदस्य एवं प्रवक्ता मोहना अन्सारीले रेडियोभित्र सुतेका व्यक्तिलाई समेत थाहा नै नदिई भवनमा डोजर प्रयोग गर्नु निन्दनीय घटना भएको बताइन्।
 
ज्ञापन पत्र बुझाउदै सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मोहन चापागाईले रेडियोकर्मी सुतिरहेका बेला बिहान ४ बजे जिल्ला वन कार्यालय धादिङको अगुवाइमा सशस्त्र र जनपद प्रहरीको टोलीले रेडियो धादिङ १०६ मेगाहर्जको भवन भत्काइदिएको घटनाले लोकतन्त्रकै उपहास गरेको बताए। 
 
पूर्वसहमति विपरीत कुनै पनि जानकारी नै नदिई जिल्ला वन कार्यालयले भवन भत्काएको रेडियोले जनाएको छ। रेडियोका सामान झिक्न नदिईकन आक्रमण शैलीमा भवन भत्काइएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले जानकारी दिए। उनका अनुसार प्रहरीले सुतिरहेका अवस्थामा लछारपछार गरेर कर्मचारी, रेडियोकर्मी निकाल्दा केही घाइते भएका छन्। प्रहरीको टोलीले कर्मचारीमाथि दुर्व्यवहार पनि गरेको छ।
 
सरकारी जग्गामा भवन बनाएकाले भत्काएको जिल्ला वन कार्यालयले जनाएको छ। तर भूकम्पले भवनमा क्षति पुगेपछि वन कार्यालय लगायत सरकारी निकायकै अनुमति र लिखित सहमतिमा भवन बनाएको रेडियोको दाबी छ।
 
जनतालाई सूचनाबाट वञ्चित हुनेगरी रेडियोमाथि आक्रमण गर्नु निन्दीय भएको भन्दै सामुदायिक रेडियो प्रसारक संघ, मिडिया सोसाइटी नेपाल, बान, अमार्क लगायतका विभिन्न संघसस्थाले संयुक्त विज्ञप्ति निकालेका छन्।

सम्बन्धित समाचार : रेडियो धादिङमा डोजर चल्यो, महिला सुरक्षा भवन पनि भत्काइयो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell