PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

छोड्ने, तोड्ने र फोड्ने जे सुकै गरे पनि संविधान जारी गरेरै छाड्छौँ: ओली



 छोड्ने, तोड्ने र फोड्ने जे सुकै गरे पनि संविधान जारी गरेरै छाड्छौँ: ओली

  • मनोज सत्याल/पहिलोपोस्ट
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी प्रति इङ्गित गर्दै संविधान निर्माण गर्ने विषयमा छोड्ने, तोड्ने र फोड्ने जे सुकै गरे पनि संविधान जारी गरेरै छाड्ने दावी गरेका छन्।

संविधानसभामा नाराबाजीबीच प्रक्रिया सुरु भएबाट संविधानसभामा उत्पात हुन्छ भन्ने भ्रम तोड्न सफल भएको ओलीले दावी गरे।
'सहमति नगर्ने अनि सहमतिको राग अलाप्ने', ओलीले एमाओवादी प्रति इङ्गित गर्दै भने, 'संविधानसभामा उत्पात हुन्छ भन्ने अनि कसले गर्छ भन्दा मैले गर्ने।'

एमाले संसदीय दलको संविधानसभामा आइतबार बसेको बैठकमा ओलीले भने-  'संविधान बनाएरै छाड्छौँ, नियमसंगत ढंगले, संविधान संगत ढंगले, जनताले दिएको लोकतान्त्रिक शक्तिको दुई तिहाई पुर्‍याएर संविधान बनाउने आदेश कार्यान्वयन गरिन्छ  त्यसअनुसार प्रभावकारी रोल एमालेले खेल्छ।'

हदभन्दा बढि भएपछि प्रक्रिया अगाडि बढ्छ भन्ने स्थापति गरेको उनले दावी गरे।

उनले एमाओवादीले आइतबार प्रक्रिया अगाडि नबढाएर सोमबार अगाडि बढाउन आग्रह गरे पनि रात रहे अग्राख पलाउने भएकाले आइतबार नै प्रक्रिया अगाडि बढाएर टाइम घर्काउने एमाओवादीको प्रयास विफल बनाएको जिकिर गरे। संविधानसभाका ७५ प्रतिशत सभासद्क मत प्रक्रियाबाट संविधान बनाउने पक्षमा रहेको बताए।

ओलीले आइतबार संविधानसभाबाट संविधान निर्माणको पहिलो पाइला अगाडि बढेको जिकिर गरे।

'आज पहिलो पाइला अगाडि बढ्यो', ओलीले भने, 'देश भड्खालामा हाल्ने तत्वले संविधान निर्माण गर्न सहज छाड्छन् भन्ने होइन, कठिनाइ छन् हामीले बुझेका छौँ, ती कठिनाई सामाना गर्नुपर्छ।'

संविधान निर्माणका लागि पार्टीले संयमता अपनाएको र एमाले अहिले प्रतिवाद गर्ने पक्षमा नरहेको बताउँदै उनले चेतावनी दिए, 'हामी भरसक त्यता जाँदैनौं। म भन्न चाहन्छु प्रतिवाद गर्नुपरे धेरै महँगो पर्न जानेछ।'  

 

प्रक्रिया अगाडि बढेकोमा खनाल र नेपाल खुसी

कार्यक्रमा एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रदेश निर्माण गर्दा सकेसम्मा उत्तर दक्षिण बनाए दिगो र कसैले हल्लाउन नसक्ने खालको हुने दावी गरे।

संविधानसभामा एमालेले गान्धीवाद अपनाएको खनालको कथन थियो। उनले कांग्रेस र एमालेले बनाएको नौ बुदेँ अवधारणा परिस्कृत गरेर लैजानुपर्ने बताए।

नेता माधवकुमार नेपालले प्रस्ताव समितिमा भएका एमाले सभासद्हरुलाई दृढताका साथ काम गर्न निर्देशन दिए।

संविधान निर्माणको ढोका खुलेको छ, नेता नेपालले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell