PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चीनलाई नेपालले दिने भयो मागेको भन्दा धेरै 'गिफ्ट'



चीनलाई नेपालले दिने भयो मागेको भन्दा धेरै 'गिफ्ट'

​काठमाडौँ : सरकारले मित्र राष्ट्र चीनलाई चार वटा गैँडा गिफ्ट दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारलाई दुई जोडी वयस्क गैँडा उपलब्ध गराउने निर्णय गरेको हो।

गएको माघ महिनामा चीन भ्रमणका बेला वनमन्त्री अग्नि सापकोटालाई चिनियाँ समकक्षीले वैज्ञानिक अध्ययनका लागि एक जोडी गैँडा दिन आग्रह गरेका थिए।

मन्त्री सापकोटाले यसमा प्रधानमन्त्री केपी ओलीको सहमति उतिबेलै लिइसकेका थिए। गएको माघमै उनले भनेका थिए, 'मन्त्रिपरिषद्बाट निर्णय गरी प्रक्रिया पुर्‍याई गैँडा उपहार दिनेछौँ।' 

मन्त्रिपरिषद्को आजको बैठकले भने चीनले मागेभन्दा बढी अर्थात् दुई जोडी गैँडा वन तथा भूसंरक्षण मन्त्रालयलमार्फत् उपलब्ध गराउन लागेको हो।
 
प्राकृतिक प्रजनन, अध्ययन, अनुसन्धान संरक्षण र शिक्षा प्रवर्ध्दनका लागि दुई-दुई भालेपोथी उपलब्ध गराइने सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बताए। 

चीनलाई चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा दिइनेछ। गएको मे महिनामा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार नेपालमा एक सिङ्गे गैँडा ६४५ वटा छन्। 

त्यसैगरी सरकारले सङ्घीय प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक एवम् सुविधा निर्धारणका लागि गृहकार्य सुरु गरेको छ। 

मन्त्रिपरिषद्को बैठकले प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी विधेयक तर्जुमा गर्नका निम्ति सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता राईले जानकारी दिए। 

त्यस्तै सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (सुनसरी) लाई विशिष्ट स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक यान्त्रिक औजार खरिद गर्न रु २० करोड थप पुँजीगत अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । 

बैठकले नेपाल कानुन आयोगका अध्यक्षमा पूर्वसचिव माधव पौडेललाई नियुक्त गर्ने तथा इन्जिनियरिङ क्लस्टरबाट रामानन्दप्रसाद यादवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। 

नेपाली सेनाका १० प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरी पदस्थापन गर्नाका साथै १६ महासेनानी दर्जाका अधिकृतलाई विभिन्न इकाईमा सरुवा गर्ने निर्णय पनि आजको बैठकले गरेको छ। (फोटो : एएफपी)

यो पनि हेर्नुस्-
नेपालले चीनलाई दिएका ११ उपहार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell