PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

नेपालले चीनलाई दिएका ११ उपहार



नेपालले चीनलाई दिएका ११ उपहार

नेपालले चीनलाई एक जोडी गैँडा उपहार दिने समाचार यो साता चर्चामा रह्यो। चीन भ्रमणका बेला वनमन्त्री अग्नि सापकोटालाई चिनियाँ समकक्षीले वैज्ञानिक अध्ययनका लागि एक जोडी गैँडा दिन आग्रह गरेका थिए। यसमा प्रधानमन्त्री केपी ओली सहमत भइसकेको र मन्त्रिपरिषद्बाट निर्णय गरी प्रक्रिया पुर्‍याई गैँडा उपहार दिने मन्त्री सापकोटाले बताएका छन्। नेपालले चीनलाई यसअघि पनि निकै उपहार दिएको छ। नेपाली राजा, नेताहरुले चीनको भ्रमण गर्दा दिइएका त्यस्ता उपहारलाई चीनले बेइजिङको राष्ट्रिय संग्रहालयमा सजाएर राखेको छ। बेइजिङबाट पहिलोपोस्ट संवाददाता प्रभात भट्टराईले पठाएको रिपोर्ट -

  • प्रभात भट्टराई -
बेइजिङ : च्याङकाइसेकलाई लखेटेर सन् १९४९ मा कम्युनिष्ट पार्टी अफ चाइनाका नेता माओले जनवादी गणतन्त्र चीन घोषणा गरेपछि पश्चिमा समुदाय आक्रोशित भयो। चीनको मूल भूमिबाट धपाइएका च्याङकाइसेकले शासन गर्ने थाइवानलाई नै पश्चिमाहरुले आधिकारिक दर्जा दिए। यतिसम्म कि संयुक्त राष्ट्रसंघको स्थायी सदस्यसमेत बेइजिङ शासित चीनको मूल भूमि नभई थाइवान रहेको ब्याख्या गरियो।
 
तर समयको गति रोकिएन। पश्चिमाहरुले एक्लो पार्न खोजे पनि चिनियाँहरु आफ्नो बाटोमा दृढ रहे। सम्भव भएसम्म छिमेकीहरुसँग नाता विस्तार चीनको प्राथमिकतामा पर्‍यो। देशभित्र आर्थिक विकासले पनि तीब्रता पायो। अन्ततः पश्चिमाहरुनै हार खाए र चीनको मूल भूमिसँग आ- आफ्ना अनेक सूत्रमार्फत् सम्बन्ध विस्तारको पहल थाले।
 
चीनमा कम्युनिस्ट पार्टीले सत्ता हत्याएपछि विस्तार गरेको कुटनीतिक सफलताको श्रृङ्खलालाई दृश्यमा बुझ्न सकिन्छ, बेइजिङस्थित राष्ट्रिय संग्रहालयमा। संस्थापक अध्यक्ष माओदेखि अघिल्ला राष्ट्रपति हु जिन्ताओसम्मको कुटनीतिक सक्रियता र सफलतालाई झल्काउँछन् सङ्ग्रहालयमा सुसज्जित विभिन्न देशबाट प्राप्त उपहार र मायाको चिनोहरुले।

संग्रहालयको कुटनीतिक उपहारहरु राखिएको कक्षको प्रवेश द्वारमै लेखिएको छ, 'सरकार र पार्टीका नेताहरुले पाएका यी उपहारहरुले उनीहरुको कुटनीतिक सक्रियतालाई झल्काउँछ साथै नयाँ चीन स्थापनापछिको छ दशकमा मुलुकले अन्तराष्ट्रिय जगतमा गाँसेको अद्भुत मित्रताको झल्को पनि यहाँ देखिन्छ।'

साँच्चिकै उक्त कक्षमा राखिएका ६११ वटा  'स्टेट गिफ्ट'ले चिनियाँ नेताले कुन चरणमा कुन-कुन मुलुकसँग कसरी नाता गाँसे र त्यो कसरी झाँग्गियो भन्ने प्रष्ट पार्छन्। प्रदर्शनीको सुरुवाती खण्डमा नै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले अध्यक्ष माओलाई उपहारस्वरुप दिएको मण्डला आकृति राखिएको छ।
 
त्यसपछि राजा वीरेन्द्र, पञ्चायतकालीन मन्त्री एवं राष्ट्रिय पञ्चायतका पदाधिकारी हुँदै बहुदलपछिका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पूर्व राजा ज्ञानेन्द्र एवं गणतन्त्रपछि प्रधानमन्त्री भएका माधवकुमार नेपालसम्मले चिनियाँ नेतालाई दिएका उपहार उच्च सम्मानका साथ संग्रहालयमा राखिएको छ।
 
संग्रहालय घुम्दा नेपालले विशेष महत्व पाएको भान हुन्छ। उच्च पदस्थ नेताले मात्र होइन पञ्चायतकालमा तत्कालीन काठमाडौँ महानगरका तर्फबाट राष्ट्रपति लि सियान्नियानलाई दिइएको पशुपतिनाथ मन्दिरको प्रतिमा समेत महत्वका साथ प्रदर्शनीमा राखिएको छ। 

तिक्त रहेको पश्चिमा सम्बन्ध कसरी खुकुलो हुँदै आयो भन्ने जनाउ सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले अध्यक्ष माओलाई दिएको उपहारबाट झल्किन्छ। निक्सन हुँदै राष्ट्रपति बाराक ओबामाले चीनका समकक्षी हु जिन्ताओसम्मलाई दिएको उपहार संग्रहालयमा सजाइएको छ।
 
स्टेट गिफ्ट मात्र होइन अनेक पुरातात्विक महत्वका सामग्री र आधुनिक चीन निर्माणबारे सिलसिलेवार झल्को दिने यो संग्रहालय ७० हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ। त्यसैले चिनियाँहरु आफ्नो संग्रहालय क्षेत्रफलका आधारमा विश्वकै सबैभन्दा ठूलो भएको दावी गर्छन्।

बेइजिङको प्रसिद्ध थियानमेन स्वायर परिसरमा रहेको राष्ट्रिय संग्रहालयको अगाडिपट्टी अर्को ऐतिहासिक भवन छ, जहाँ अध्यक्ष माओको शव सुरक्षित साथ राखिएको छ। माओको चेतनाले शरीर छाडेको चार दशक पूरा हुनै लागे पनि हरेक नवयुवाले आफ्नो मुलुकको आधुनिक इतिहास निर्माताको अनुहार देख्न पाउँछन्। सोमबार बाहेक हरेक दिन बिहान ८ देखि १२ बजे सम्म माओको शव दर्शन गर्न सर्वसाधारणका लागि खुला गरिन्छ। 

राष्ट्रिय संग्रहालय र माओको शव हेर्न कुनै शुल्क लाग्दैन। जुन चिज मूल्यभन्दा माथि हुन्छ त्यो सधैं निःशुल्क हुन्छ। त्यसैले त सास फेर्न या घाम ताप्न दुनियाँमा कसैले पैसा तिर्दैन। प्रायः हरेक पर्यटकीय गन्तव्यमा केही न केही शुल्क लिने चिनियाँहरुका लागि अध्यक्ष माओ र आफ्नो इतिहास कुनै पनि शुल्क भन्दा माथि छन्। त्यसैले संग्रहालय र माओको शवको दर्शन निःशुल्क गर्न पाइन्छ।

अनि हाम्रो देशका स्टेट गिफ्ट कहाँ होलान्!

चिनियाँहरुले जुन समयमा आफ्नो आधुनिक युग सुरु गरे नेपालमा पनि करिब त्यही चरणमा राणा शासनको अन्त्य हुनपुग्यो। यसरी यी दुई छिमेकीको नव युगको श्रृङ्खला लगभग एकै समयमा सुरु भएको हो।
 
अझ भन्नुपर्दा कम्युनिस्त सत्ता स्थापनाका कारण चीनको परिवर्तनलाई विश्वले स्वीकार्न जति अटेर गर्‍यो नेपालले भने उच्च वाहवाही पायो। नेपालमा राणा शासनको अन्त्यलाई बाँकी विश्वले उच्च स्वागत गर्‍यो।
 
तर चीनले त्यसयताको कुटनीतिक पहल र सफलतालाई जसरी स्टेट गिफ्टको प्रदर्शनीबाट आफ्ना नागरिक सामु छर्लङ्ग पारिदिएको छ दुर्भाग्य नेपालमा भने त्यसरी अभिलेख राखिएको छैन। छाउनीको राष्ट्रिय संग्रहालयमा तत्कालीन राष्ट्र वा सरकारप्रमुखहरुलाई प्राप्त केही उपहारहरु त सजाइएको छ तर चीनमा जसरी सिलसिलेवार किसिमले छैन। देशको उच्च पदस्थको हैसियतमा प्राप्त अरु स्टेट गिफ्ट सायद तिनै नेताका घर सजिएका छन् कि। 
 
पञ्चायत, बहुदल हुँदै गणतन्त्र सम्म धेरै नेताले राजकिय प्रतिनिधिको रुपमा स्टेट गिफ्ट पाएका छन्। त्यसलाई यसैगरी कुनै संग्रहालयमा संग्रहित गर्ने हो भने नेताको घर मात्र होइन मुलुककै शोभा बढ्ने थियो। 

चीनको राष्ट्रिय संग्रहालयमा उल्लेख गरिए अनुसार यहाँका सरकार र पार्टी नेता दुबैले स्वस्फूर्त आफूलाई प्राप्त उपहार प्रदर्शनीका लागि प्रदान गरेका हुन्। निकट विगतको कुरा गर्दा पूर्व राष्ट्रपति हु चिन्ताओ आफ्नो कार्यकाल सकिएर घर फर्कँदै गर्दा जसरी आफुलाई प्राप्त स्टेट गिफ्टहरु जनताले देखुन् भनेर संग्रहालयको जिम्मा लगाए। के हामीकहाँ भर्खरै रिटायर्ड सुशील कोइराला र डा. रामवरण यादवले पनि त्यसै गरे होलान्? या भोलि रिटायर्ड हुँदा केपी ओली र विद्या भण्डारीले पो त्यसो गर्लान् कि ?

१) प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले चीन भ्रमणताका अध्यक्ष माओत्सेदोङलाई उपहार दिएको चाँदीको मण्डला आकृति।


२) राष्ट्रिय पञ्चायत अध्यक्ष रामहरि शर्माले सन् १९७१ मा गरेको चीन भ्रमणमा अध्यक्ष माओलाई प्रदान गरेको चाँदीको बक्सा ।


३) तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले सन् १९७२ मा अध्यक्ष माओलाई उपहार दिएको तामाको महाबौद्ध मन्दिरको प्रतिमा ।


४) तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २००९ मा चीन भ्रमण गर्दा तत्कालीन राष्ट्रपति हु चिन्ताओलाई उपहार दिएको बुद्ध मूर्ति। 


५) सन् १९९३ मा राजा वीरेन्द्रले चीनको पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका अध्यक्ष ली रुइह्वानलाई उपहार दिएको काठको आँखिझ्याल । 


६) सन् १९९२ मा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्कालीन राष्ट्रपति याङ्ग साङ्कुनलाई उपहार दिएको काठको आँखिझ्याल ।


७) सन् १९८४ मा तत्कालिन राष्ट्रपति लि सियान्नियानलाई काठमाडौँ नगरका तर्फबाट प्रदान गरिएको पशुपतिनाथ मन्दिरको चाँदीको प्रतिमा ।


८) राजा वीरेन्द्रले  सन् १९७९ मा चीनको पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका तत्कालीन अध्यक्ष देङस्याओ पिङलाई उपहार दिएको काठको आँखिझ्याल ।


९) नेसनल पिपुल्स कंग्रेसका तत्कालीन अध्यक्ष ज्जु द लाई सन् १९७५ मा तत्कालीन अधिराजकुमारहरु ज्ञानेन्द्र र धीरेन्द्रले उपहार दिएको स्वयम्भूनाथको चाँदीको प्रतिमा ।


१०) चीनका तत्कालीन राष्ट्रपति लिउ साओछीलाई मन्त्रिपरिषद्को उपाध्यक्षको हैसियतमा कीर्तिनिधि विष्टले सन् १९६५ मा उपहार दिएको गाग्री बोकेकी नेपाली महिलाको चाँदीको प्रतिमा ।


११) पूर्वराजा ज्ञानेन्द्रले सन् २००२ मा तात्कालिन राष्ट्रपति चियाङ जमिनलाई उपहार दिएको एक जोडा बाघको मूर्त ।

अरु देशले दिएका उपहार 

संग्रहालयमा अरु देशले दिएका उपहार पनि सजाइएको छ। त्यसमध्ये केही नमूना

१२) अमेरिकी पुर्व राष्ट्रपति रिचर्ड निक्सनले सन् १९७२ मा गरेको चिन भ्रमणताका अध्यक्ष माओलाई दिएको उपहार । जनवादी गणतन्त्र चिनको स्थापना पश्चात कायम लामो तिक्तता मेटाउँदै चिन भ्रमण गर्ने निक्सन पहिलो अमेरिकी राष्ट्रपति थिए ।


१३) अमेरिकी राष्ट्रपति बाराक ओवामाले चीनका तात्कालिन राष्ट्रपति हु चिन्ताओको भ्रमणताका सन् २०११ मा ह्वाइट हाउसमा दिएको उपहार।


१४) कम्बोडियाका राजा नोरोदोम स्यामोनीले सन् २००५ मा तात्कालिन राष्ट्रपति हु चिन्ताओलाई प्रदान गरेको उपहार । कम्बोडियाका अरु धेरै नेताले चिनियाँ नेतृत्वलाई प्रदान गरेका नेपाली देवी देवताको आकृतिसँग मिल्ने यस्ता उपहार संग्रहालयमा देख्न पाइन्छ । 


१५) चीनको राष्ट्रिय संग्रहालयमा विभिन्न मुलुकबाट आफ्ना नेतालाई प्राप्त उपहार हेर्दै चिनियाँहरु ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell