PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​चिडियाखानामा दिइएको थियो इन्डियन एयरलाइन्स अपहरण योजनाको ‘फाइनल टच’



​चिडियाखानामा दिइएको थियो इन्डियन एयरलाइन्स अपहरण योजनाको ‘फाइनल टच’

  • उमेश श्रेष्ठ/पहिलोपोस्ट -
काठमाडौँ :  १५ वर्षअघि काठमाडौँबाट नयाँ दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको यात्रुवाहक विमान अपहरण योजनालाई ‘फाइनल टच’ दिने काम ललितपुरको चिडियाखानामा भएको थियो।

यसै वर्षको फेब्रुअरी २५ मा भारतको केन्द्रीय अन्वेषण ब्युरो (सिबिआई) मार्फत् भारत सरकारले पञ्जाब एन्ड हरियाणा अदालतमा १० जनाविरुद्ध दायर गरेको मुद्दाको फैसला भएको थियो। अदालतको फैसला सार्वजनिक भएसँगै विमान अपहरणको विस्तृत योजना खुलासा भयो।

पहिलोपोस्टलाई प्राप्त फैसलाको कागजातमा अपहरण गर्नेहरु कहिले, कहाँबाट आएका थिए? काठमाडौँका कुन कुन ठाउँमा बसेका थिए? कहाँबाट विमानको टिकट काटेका थिए? आदिबारे सिबिआईले गरेको विस्तृत अनुसन्धानबारे उल्लेख छ।
 

डेढ वर्षअघिदेखि बनेको थियो योजना

विमान अपहरण हुँदा जस्तै यसपालि पनि इस्वी संवतको तारिख र विक्रम संवतको गते एउटै परेको छ। विमान अपहरण २०५६ पुस ९ गते (१९९९ डिसेम्बर २४) भएको थियो। तर यसको योजना भने डेढ वर्षअघिदेखि नै सुरु भएको थियो।

सन् १९९८ को जुलाई-अगस्तमा भारतीय जेलमा रहेका पाकिस्तानी मुजाहिद्दिन नेता मौलाना मोहम्मद मसुद अजहरलाई छुटाउने योजना अनुसार उनका सालो युसुफ अजहरले अब्दुल लतिफलाई भेटेपछि सुरु हुन्छ।

सिबिआईको अनुसन्धान अनुसार मौलानाका दाजु इब्राहम अतहर पनि काठमाडौँ बसेर उनको रिहाइका लागि योजना बनाउँदै थिए। त्यसमाथि थपिन्छन् मौलानाका भाइ अब्दुल राउफ। उनी ढाका हुँदै काठमाडौँ पुग्छन्।

तर विमान अपहरणको लागि पहिलो पटक योजना बुन्ने काम भने नेपाल र भारतमा होइन, बंगलादेशको ढाकामा बन्छ। युसुफ नेपाली, युसुफ अजहर र दीलिपकुमार भुजेलबाहेक सात जनाको एउटा भेला हुन्छ सेप्टेम्बर १९९९ मा। त्यहीँ इब्राहिम अतहरले आफू डेढ वर्षदेखि काठमाडौँमा बसेर अपहरण योजना बुनिरहेको इन्डियन एयरलाइन्सको विमान सजिलै अपहरण गर्न सकिने बताउँछन्।

यसका लागि आवश्यक हतियार काठमाडौँमै व्यवस्था गर्नेबारे आफूले काम गरिरहेको पनि उनी बताउँछन्। काठमाडौँबाट अपहरण गरेर विमान अफगानिस्तान लैजाने र तालिबानका मन्त्रीसँग यस विषयमा कुरा भइसकेको तथा सहयोगको आश्वासन पनि पाइसकेको सुनाउँछन्। पाकिस्तानी नागरिकलाई भारतीय देखाउन आवश्यक पर्ने पासपोर्ट र ड्राइभिङ लाइसेन्सको जोहो गर्ने बारे पनि त्यहीँ छलफल हुन्छ।

एक महिनाअघिदेखि काठमाडौँमा चलखेल

विमान अपहरण हुनुभन्दा एक महिनाअघि साहिद सइद अख्तरसँगै अब्दुल लतिफ कोलकातासम्म इन्डियन एयरलाइन्सकै विमानमा र त्यसपछि सडकमार्ग हुँदै काठमाडौँ आइपुग्छन्।

नोभेम्बर ४ मा आइपुगेका अब्दुल र साहिदको पहिलो बसाइ हुन्छ ज्याठाको इम्पेरियल गेस्ट हाउस। छ दिनसम्म उनीहरु त्यहीँ बस्छन्। त्यसपछि उनीहरु लाग्छन् ठमेलको तिब्बत गेस्ट हाउस। इब्राहिम अतहर पनि नोभेम्बर १९ मा काठमाडौँ आइपुग्छन्। अब्दुल लतिफ, साहिद सइद अख्तर र इब्राहिम अतहर तीनै जना त्यही गेस्ट हाउसमा बस्छन्।

तीन वटा रिभल्वर, तीन वटा ह्यान्ड ग्रिनेड र केही क्याट्रिजहरु साहिदले आफ्नो कोठाबाट ल्याई सबैलाई देखाउँछन्। नोभेम्बर २३ मा उनीहरु त्यहाँबाट पनि बास फेर्छन् र ठमेलकै अर्को होटल तुलचीमा बस्छन्। नोभेम्बर २५ मा अब्दुल लतिफ फेरि शानेवानिको जहाज चढी बम्बे पुग्छन्।

चिडियाघरमा दिइयो फाइनल ‘टच’

हतियारको जोहो एक महिनाअघि नै भइसकेको थियो, योजना पनि लगभग तयार। बाँकी थियो फाइनल टच दिन। आफूलाई भारतीय देखाउने ड्राइभिङ लाइसेन्स लिएर अब्दुल लतिफ बम्बेबाट रेल चढी गोरखपुर हुँदै आइपुग्छन्। काठमाडौँमा उनी परिचय फेरेर विजय गुप्ता बनी स्वनिगः होटलमा बस्छन्।

विमान अपहरणमा संलग्न अरु सन्नी अहमद काजी र जहूर इब्राहिम मिस्त्री पनि काठमाडौँ पुगेर होटल इम्पेरियलमै बसे। नोभेम्बर ११ मा अब्दुल लतिफ र राजेशगोपाल वर्मा होटल सूर्यमा बसे।

नोभेम्बर १३ शनिबार अर्थात् विमान अपहरण हुनुभन्दा छ साताअघि जावलाखेलको चिडियाघरमा इब्राहिम अतहरले डाकेको भेलामा योजनालाई अन्तिम रुप दिइन्छ। युसुफ नेपाली, दिलिपकुमार भुजेल र युसुफ अजहरबाहेक सबै सात जना त्यहाँ उपस्थित हुन्छन्।      
अब्दुल लतिफ अपहरणका बेला उपस्थित नहुने निधो त्यहीँ गरिन्छ। पाँच जना अपहरणकारीको कोड नाम पनि चिडियाघरमै तय गरिन्छ- इब्राहिम अतहरलाई चिफ, सन्नी अहमद काजीलाई बर्गर, साहिद सइद अख्तरलाई डक्टर, राजेशगोपाल वर्मालाई शंकर, जहूर इब्राहिम मिस्त्रीलाई भोला।

डिसेम्बर २० देखि ३० सम्मका कुनै पनि दिनका लागि विमानको पाँच वटा टिकट किन्न अतहरले अब्दुल लतिफलाई निर्देशन दिन्छन्।  विमानभित्र हतियार कसरी लाने भन्ने विषयमा पनि त्यहीँ छलफल गरिन्छ।

लुगाभित्रै लुकाई हतियार विमानभित्र लाने टुङ्गो लगाइन्छ। सुरुमा एक जना जाने र त्यसपछि उसले अरुलाई बोलाउने। इब्राहिमत अतहर त्यसका लागि छानिन्छन्। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र सेक्युरिटी चेक पार गरिसकेपछि होटलमा रहेका अरु साथीहरुलाई जानकारी दिने र विमानस्थलको लाउन्जमा भेट्ने योजना तय हुन्छ।
 

तीन दिनअघि तानियो योजना

विमान अपहरण गर्ने उद्देश्यका साथ अब्दुल लतिफले अहमद अलि मोहम्मद अलि शेखका नाममा बिजनेस क्लासको टिकट हिमालयन ट्राभल्सबाट काट्छन् डिसेम्बर २७ का लागि। यो बिजनेस क्लासको टिकट थियो।

त्यसपछि उनी बाँकी अपहरणकारीका लागि इकोनोमिक क्लासको टिकट काट्न उनी पुग्छन् एभरेस्ट टुर्स एन्ड ट्राभल्स। तर ट्राभल एजेन्सीले डिसेम्बर २७ का लागि कन्फर्म टिकट नभएको बताएपछि तीन दिन अगाडि अर्थात् डिसेम्बर २४ को टिकट काटियो। २७ को काटिसकेको बिजनेस क्लासको टिकट पनि रद्द गरी २४ कै बनाइयो।

डिसेम्बर २४ मा विमान अपहरण हुनुभन्दा केही घण्टाअघि अब्दुल लतिफलाई सन्नी अहमद काजीले फोन गरेर इब्राहिम अतहर योजनामुताबिक विमानस्थलको मेटल डिटेक्टर पार गरेर गइसकेको र आफूहरु पनि होटलबाट निस्कन लागेको बताउँछन्। निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी उडेको विमान अपहरण भएको खबर अब्दुल लतिफले पौने ६ बजे टिभी हेरेपछि पाउँछन्।

अपहरणपछि काठमाडौँबाट फेरि भारत पुगेका लतिफलाई डिसेम्बर ३० मा मुम्बईबाट गिरफ्तार गरिएको थियो।

यो मुद्दामा १० जनालाई प्रतिवादी बनाइएको थियो। तीमध्ये युसुफ नेपाली उपनामका भुपालमान दमाई एक जना नेपाली नागरिक थिए भने अब्दुल लतिफ र दीलिपकुमार भुजेल भारतीय। बाँकी सात जना सबै पाकिस्तानी नागरिक थिए। भुजेल र नेपालीलाई १४ वर्षको कैदपछि अदालतले विमान अपहरण कान्डमा ‘सक्रिय सहभागिता’ प्रमाणित गर्न नसकेको भन्दै सफाइ दिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell