PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१५ वर्षअघि आजकै दिन यसरी भएको थियो विमान अपहरण



१५ वर्षअघि आजकै दिन यसरी भएको थियो विमान अपहरण

२०५६ पुस ९ गते साँझ साढे ४ बजे चालक दलका ११ सदस्यसहित एक सय ८९ यात्रु बोकेर काठमाडौँबाट दिल्ली उडेको इन्डियन एयरलाइन्सको आइसी - ८१४ नम्बरको विमान दिल्ली पुगेन।
 
उडेको आधा घन्टामा आकाशमै विमान अपहरण भयो। विमानमै रहेका पाँच सशस्त्र अपहरणकारीले चालक दललाई नियन्त्रणमा लिएर विमान अपहरण गरेका थिए।
 
नेपाली आकाशमा अपहरण भएको विमानमा इन्धन भर्ने र भारत सरकारलाई आफ्ना माग पूरा गर्न दबाब दिन अपहरणकारीले भारतीय विमानस्थल प्रयोग गर्ने योजना बनाएका थिए। योजनाअनुसार उनीहरूले भारतको लखनउमा विमान अवतरण प्रयास गरे, तर अनुमति पाएनन्।
 
पाकिस्तानको लाहोरमा अवतरण प्रयास पनि विफल भयो। पाकिस्तानमा विमान अवतरण हुँदा पाकिस्तानी सरकार अपहरण आरोपमा जाकिन सक्थ्यो। साना–साना विषयमा पनि बल्झिरहने भारतसँगको सम्बन्धमा चिसोपन थपिन सक्थ्यो। पाकिस्तान सरकारले टाउको दुखाउन चाहेन, अनुमति दिएन।
 
विमानमा इन्धन सकिँदै थियो, कतै अवतरण गर्नु वा दुर्घटित हुनुको विकल्प थिएन। अवतरण नभए एक सय ८९ यात्रुको जीवन समाप्त हुने निश्चित थियो।
 
आफ्नै भूभागमा विमान ओराल्न दिन आखिर भारत नै राजी भयो। भारतको अमृतसरमा विमान अवतरण भयो। विमानमा इन्धन भर्ने र अर्को देश जाने अपहरणकारीको योजना थियो। माग पूरा नगरे यात्रुको हत्या गर्ने धम्कीपछि भारत सरकार इन्धन भरिदिन राजी भयो। तर, प्राविधिक समस्या भन्दै विमानलाई इन्धन ट्याङ्करनजिक लैजानुपर्ने  भारतीय पक्षले माग गर्‍यो।
 
भारतले आफूविरुद्ध सैन्य अप्रेसन तयारी गरेको आशङ्कामा अपहरणकारीले भारतीय यात्रु रूपेन कट्याललाई छुरी धसेर मारिदिए। अनि जति इन्धन छ, त्यसैको भरमा विमान उडाएर लाहोर लैजान चालक दललाई अह्राए।
 
अपहरणकारी कुनै हालतमा विमान उडाउने तयारीमा रहेको सूचनापछि भारत सरकारले नै पाकिस्तानी सरकारलाई लाहोरमा विमान अवतरणको अनुमतिका लागि आग्रह गर्‍यो। भारतको आग्रह स्वीकार गर्दै थोरै समय विमान अवतरणका लागि पाकिस्तान राजी भयो। विमान अमृतसरबाट लाहोर पुग्यो।
 
उनीहरूको गन्तव्य अफगानिस्तान थियो। लाहोरमा इन्धन भरेर विमान अफगानी सहर कान्दाहारतिर हान्नियो। तर, कान्दाहारमा बेलुका विमान अवतरण सम्भव थिएन। उनीहरूले फेरि रुट परिर्वतन गरेर संयुक्त अरब इमिरेट्स पुर्‍याए।
 
युएई विमानस्थलमा अपहरणकारीले खाना, औषधीलगायत सामग्री माग गरे। युएई सरकारले विमानमा रहेका महिला, बालबालिका र वृद्धलाई छाड्नुपर्ने सर्त राख्यो। २५ यात्रु र हत्या गरिएका कट्यालको शव बुझाए, उनीहरूको माग पूरा भयो।
 
भोलिपल्ट विमान अफगानिस्तानको कान्दाहार विमानस्थल पुग्यो। बल्ल भारत सरकारसँग अपहरणकारीको मोलमोलाइ सुरु भयो।
 
विमान र यात्रुको बदलामा भारतीय जेलमा रहेका मौलाना मोहम्मद महसुद अजहरसहितका आफ्ना ३५ नेताको रिहाइ गर्नुपर्ने उनीहरूले माग राखे।
 
भारतशासित काश्मिरमा रहेको हर्कत उल अन्सारका तत्कालीन प्रमुख सज्जाद अफगानीको चिहान खनेर हस्तीहाड दिनुपर्ने र २ सय मिलियन अमेरिकी डलर उनीहरूको थप माग थियो। माग पूरा नभए अपहरित यात्रुको कत्लेआम (हत्या) गर्ने चेतावनी दिइरहेका थिए। 
 
हर्कत उल मुजाहिद्दिनमा आबद्ध रहेर स्वतन्त्र काश्मिरी अभियानका प्रभावशाली नेता थिए मौलाना। भारतमै गोप्य योजनामा सक्रिय रहँदा भारतीय सुरक्षाफौजको पन्जामा परे उनी।
 
वार्ता सुरु भयो। छ दिनमा बल्ल भारत मौलाना अजहरसहित तीन बन्दी छाड्न राजी भयो । अपहरणकारी पनि विमान र यात्रु मुक्त गर्न सहमत भए। १६ गते अपहरित यात्रुसहित विमान अपहरणमुक्त भयो।
 
अपहरणमा अहमद ए. सेख, सन्नी अहमद काजी, सइद अख्तर सैयद, मिस्त्री जाहुर इब्राहिम र राजेशगोपाल बर्माको संलग्नता खुल्यो।
 
त्रिभुवन विमानस्थलमा खरिद गरेको टिकटमा राष्ट्रियता भारतीय उल्लेख गरे पनि अपहरणकारी दुई जना पाकिस्तानी र तीनजना काश्मिरी थिए। मौलानाका भाइ इब्राहिम अख्तरको योजनामा विमान अपहरण भएको थियो। र, अपहरणमा उनी पनि संलग्न थिए।
 
जमिम शाह यो विमान अपहरण प्रकरणमा मुछिए। अपहरणमा संलग्न पाकिस्तानी र कास्मिरीलाई नेपालमा सेल्टर दिएको, योजना बनाउन सहयोग गरेको र नेपाली अधिकारीसँग सहज सम्बन्धको दुरुपयोग गरेर हतियारसहित विमानसम्म पुग्न अपहरणकारीलाई सहयोग पुर्‍याएको आरोप थपियो जमिममाथि। यो आरोप न पुष्टि भयो, न उनले त्यसबाट उन्मुक्ति पाए। (हाल नागरिक दैनिकमा कार्यरत पत्रकार केपी ढुंगानाको बेस्ट सेलर पुस्तक 'ओपन सेक्रेट'बाट साभार) 

नेसनल जोग्राफिकले यही घटनाबारे बनाएको डकुमेन्ट्री-

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell