PahiloPost

May 14, 2024 | १ जेठ २०८१

​एमाओवादी मोर्चाद्वारा आमहड्ताल सहितको आन्दोलन घोषणा



​एमाओवादी मोर्चाद्वारा आमहड्ताल सहितको आन्दोलन घोषणा

काठमाडौं: प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले आम हड्ताल सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। मोर्चाको सोमवार बसेको बैठकले अग्रगामी संविधान निर्माणका लागि भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।

मोर्चाले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रममा माघ ५ गते देशव्यापी आमहड्ताल गर्ने उल्लेख छ।

मोर्चाले पुस १९ गते सबै जिल्लामा जनप्रदर्शन र सभा गर्ने, पुस २५ देखि २९ गतेसम्म क्षेत्रीय रुपमा आमहड्ताल छ। 

मोर्चाले पुस २५ गते खप्तड-कर्णाली, २७ गते किरात, खम्बुवान, लिम्बुवान, तमुवान र मगरात, २८ गते थरुहट र तराई तथा २९ गते ताम्सालिङमा आमहड्ताल गर्ने भएको छ।

को को छन् मोर्चामा?

प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले नेतृत्व गरेको यो मोर्चामा संविधानसभाभित्र र बाहिर रहेका दल सम्मिलित अलगअलग तीनओटा गठबन्धन आबद्ध छन्।

मोर्चामा एकीकृत नेकपा (माओवादी) नेतृत्वको सङ्घीय गणतान्त्रिक मोर्चा,  साना दलको पहिचानमा आधारित सङ्घीय गठबन्धन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनमा आवद्ध दलहरु छन्। यसभित्र संविधानसभाभित्र रहेका १९ तथा संविधानसभा बाहिर रहेका ११ दल छन्।

यो मोर्चामा रहेका दलहरुले सत्तारुढ कांग्रेस एमालेले बहुमतका आधारमा पेल्न खोजेको आरोप लगाउँदै गत असोजदेखि नै बिरोध प्रदर्शन र जनसभाको कार्यक्रम गर्दै आएका छन्।

किन आन्दोलन?

३० दलीय मोर्चाका प्रवक्ता समेत रहेका सभासद् लक्षमणलाल कर्ण विगतमा भएका सम्झौता तथा सहमति र अन्तरिम संविधानमा अभिव्यक्त जनचाहना कार्यान्वयनका लागि दबाब दिन आन्दोलन घोषणा गर्नुपरेको बताउँछन्।

‘सत्ताले दुईतिहाइ छ, विगतका सहमति र सम्झौता मान्दैनौँ भनेर दम्भ देखाउन थाल्यो’, कर्णले पहिलोपोस्टसँग भने, ‘परिवर्तनका अजेन्डासहितको सहमतीय संविधान जारी गर्नु यसको मुख्य उद्देश्य हो।‘

शान्तिपूर्ण आन्दोलनका साथसाथै वार्ताको टेबुलमा पनि आफूहरु रहिरहने उनले बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell