PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुन सुराकी काण्ड: प्रहरी महानिरीक्षकमाथि समेत ठडियो औँला



सुन सुराकी काण्ड: प्रहरी महानिरीक्षकमाथि समेत ठडियो औँला

  • मनोज सत्याल/पहिलोपोस्ट-
काठमाडौं: संसदको सार्वजनिक लेखा समितिमा जारी '३५ किलो सुन काण्ड'मा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल माथि नै सभासद्ले बुधबार प्रश्नको वर्षा गरे। ३५ किलो सुन बरामद गर्दा वास्तविक सुराकीलाई बाइपास गरिएको घटनामा जवाफ दिन महानिरीक्षकलाई बोलाएको भए पनि सभासद्हरुले सुन काण्डमा प्रहरीका उच्च पदस्थ अधिकारी र उनकै संलग्ताबारे समेत सोध्न भ्याए।
 
कांग्रेसका धनराज गुरुङले महानिरीक्षक अर्याल सुन काण्डमा संलग्नता रहे/नरहेकोमा प्रष्ट पार्न माग गरे।

सुराकी बाइपास गरिएको ३५ किलो सुन बरामदीको उजुरीमा एक अर्कै घटनामा उनको संलग्नता रहेकोमा गुरुङले प्रश्न उठाए। '१ किलो सुनमा सुराकी कमिसन घोटाला प्रकरणमा तपाईँको नाम उल्लेख छ,' गुरुङले भने, 'नक्कली सुराकी खडा गर्ने प्रवृतिबारे यहाँ आएर प्रष्ट पार्ने विषयलाई अवसरका रुपमा बुझ्नुहोला।' गुरुङले अर्याललाई समितिमा छलफलका लागि उपस्थित हुनुमा अन्यथा नमान्न यस्तो आग्रह गरेका थिए।
 
फोरम नेपालका सभासद् वीरेन्द्र महतोले पनि '३५ किलो सुन काण्डको सुराकी बाइपास' एउटा घटना मात्र भएको उल्लेख गर्दै उच्च पदस्थ प्रहरी अधिकारीले सुराकीको ठाउँमा आफ्ना आफन्तको नाम राख्ने गरेकोबारे जवाफ मागे।
 
अर्का सभासद् योगेन्द्र चौधरीले पनि 'सुनको तस्करीबारे प्रहरीका इष्टमित्रलाई मात्र कसरी थाहा हुन्छ ?' भन्दै प्रश्न तेर्‍स्याए। उनले सुराकीमा प्रहरीका आफन्तको नाम हुने गरेको उल्लेख गर्दै त्यस्तो अवस्थामा उच्च पदस्थ अधिकारीमाथि समेत छानविन गर्नुपर्ने बताए।
 
सभासद् रुपा महर्जनले दैनिक १०० देखि २०० किलो सुन तस्करी हुने गरेको उल्लेख गर्दै 'लहरो तान्दा पहरो जाने डरले प्रहरी महानिरीक्षकले जवाफ दिन नसकेको हो कि ?' भन्दै व्यङ्ग्य गरिन्।
 
परिवार दलका सभासद् एकनाथ ढकालले सक्कली सुराकीलाई प्रहरीले अल्मल्याएर प्रक्रिया नै थाहा नदिने गरेको बताए। 'प्रहरी माथि गम्भीर शंका उत्पन्न भएको छ,' ढकालले भने।
 
सभासद् डोरप्रसाद उपाध्यायले नेपालमा वार्षिक निजी क्षेत्रले ९ हजार किलो सुन बिक्री गर्ने भए पनि ६ हजार ५ सय किलोको मात्र सरकारी तथ्याङ्क रहेको उल्लेख गर्दै वार्षिक ३ देखि ४ हजार किलो सुन कहाँबाट आउँछ भन्दै प्रश्न गरे।
 
समाजवादी पार्टीका प्रेमबहादुर सिंहले प्रहरी संगठनलाई केही व्यक्तिले बदनाम गरेको दावी गरे।
 
जनता दलका हरिचरण शाहले महानिरीक्षक सहितको प्रहरी टोली आउँदा आफूलाई डर लागेको उल्लेख गर्दै ब्यङ्ग गरे। 'उहाँले चाहे प्रहरीमा सुधार हुन सक्थ्यो', अर्यालतर्फ देखाउँदै शाहले भने, 'तर मलाई उहाँ देखेर दया लाग्छ।'
 
सभासद् हरिप्रसाद नेपालले शान्ति सुरक्षाका लागि प्रहरी भए पनि प्रश्न उठेको अवस्थामा खराबलाई कारवाही गरेर पेशागत गरिमा बढाउन माग गरे।
 

सुन तस्करी काण्डमा अडियो भिजुअल प्रमाण

३५ किलो सुनको काण्डमा प्रहरीका उच्चपदस्थ अधिकारीको संलग्नताबारे कांग्रेस सभासद् धनराज गुरुङले ल्यापटपबाट भिडियो नै देखाए। उनका अनुसार प्रहरीका उच्च अधिकारीको संलग्नताबारे टेलिफोन कुराकानीको रेकर्डसमेत छ।
 
उनका अनुसार भिडियोमा उजुरीकर्तासँग तत्कालीन केन्द्रीय अनुसन्धान ब्युरोका एसपी इश्वरबाबु कार्कीले 'पैसा दिन्छु तर भनेजति होइन भन्दै बार्गेनिङ गरेको' रेकर्ड छ।
 
'भिडियोमा एसपी कार्कीले उजुरीकर्ता भीमबहादुर तामाङ, पदमबहादुर तामाङ र सञ्जयकुमार झालाई ज्यानको सुरक्षा नहुने कारण देखाउँदै सुराकीमा नाम नराखेको बताएका छन्,' गुरुङले भने।
 
१४ मिनेट लामो भिडियो समेत उजुरीकर्ताले सुराकीको पैसा नदिएर झुलाएपछि खिचेको गुरुङले जानकारी दिए।

बैठकमा गुरुङले भिडियो देखाएपछि राप्रपा नेपालका दिनेश श्रेष्ठले भिडियोको आधिकारितामाथि प्रश्न उठाएका थिए। तर गुरुङले जनताको प्रतिनिधिले सार्वभौम संसदको समितिमा देखाएको भिडियोमा शंका नगर्न चेतावनी दिए।
 

के भने प्रहरी महानिरीक्षक अर्यालले?

समितिमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पछिल्ला तीन वर्षमा सुनको तस्करी बढेको जानकारी गराएका थिए। उनले आर्थिक वर्ष २०६९/७० मा १७ पटकमा गरी ८३ किलो सुन प्रहरीले बरामद गरेको, २०७०/७१ मा ४६ पटकमा गरी ८९ किलो र चालु आर्थिक वर्षमा अहिलेसम्म ३५ पटकमा गरी १ सय ११ किलो सुन बरामद भएको तथ्याङ्क पेश गरे। 
 
उनले सुराकीको नाम प्रमाण ऐन २०३३ बमोजिम सार्वजनिक गर्न नमिल्ने जिकिर गरे। साथै हालसम्म सुराकी कमिसन कति जनाले पाएको भन्ने डकुमेन्ट प्रहरीसँग नहुने भन्दै राजश्व अनुसन्धान विभागसँग मात्र हुने जानकारी दिए। अर्यालले सुन जफतको विवरण, मुद्दामा गएर टुङिएका र टुङ्गिन बाँकी रहेका विस्तृत विवरणबारे भन्सार विभाग र राजश्व अनुसन्धान विभागलाई गरिएको पत्राचारलाई प्रमाणका रुपमा पेश गरेका थिए।
 
सभासद्हरुको प्रश्नमा भने अर्यालले आफू महानिरीक्षक भएपछि ७३ पटक गरी १ सय ८८ किलो सुन पक्राउ गरेको जानकारी दिए।
 
उनले ३५ किलो सुन बरामद गर्दा आफू डिआइजीका रुपमा विराटनगरमा रहेको बताए। 'वास्तविक सुराकी पहिचानमा केही समस्या छ,' अर्यालले भने।
 
'म महानिरीक्षक भएपछि ७३ पटक सुन बरामदमा मेरो १३ पुस्ताको नाम भेटिए पनि म पद त्याग गर्न तयार छु,' अर्यालले भने, 'मेरो काम अनैतिक र अमर्यादित भए पद त्याग गर्छु।'
 
तर अर्यालले सभासद्ले उठाएको १ किलो सुनमा नक्कली सुराकी खडा गरेकोबारे भने कुनै जवाफ दिएनन्।
 
उनले प्रहरी संगठन खराब हुन नसक्ने तर्क गर्दै कोही ब्यक्ति खराब हुनसक्ने बताए। 'महानिरीक्षक खराब हुनसक्छ, म पनि खराब हुनसक्छु। तर, प्रहरी संगठन स्थायी हो, यो खराब हुँदैन।'
 
अर्यालले नक्कली सुराकी खडा गरिएको पाइए जुनसुकै पदका प्रहरी भए पनि कारवाही गर्ने प्रतिवद्धता जनाए।
 

के भने गृह सचिव सूर्य सिलवालले?

समितिको अघिल्लो बैठकमा सभासद्को तारो बनेका गृह सचिव सूर्य सिलवालले मानमर्दन गर्ने शब्द प्रयोग नगर्न सभासद्हरुलाई आग्रह गरे।
 
'हाम्रो मान मर्दनको शब्द प्रयोग नगर्दा डिमोरलाइज्ड हुने थिएनौं कि? ,' सिलवालले भने, 'तपाईँहरुलाई हामीले पनि भोट हालेका छौँ, तपाईँहरु हाम्रो पनि जनप्रतिनधि हो।'
 
सभासद्हरुले यस अघिको बैठकमा अफिसियल लेटरप्याड र हस्ताक्षरसमेत नभएको डकुमेन्ट समितिमा बुझाएको भन्दै सिलवाललाई जिम्मेवार नभएको आरोप लगाएका थिए। तर, बुधबार भने सभासद्हरुलाई गृह मन्त्रालयले फाइलमा डकुमेन्ट बुझाएका थिए।
 
'समितिको अघिल्लो बैठकमा समितिको विवरण माग गरेपछि अथोरिटीको हिसाबले म आएको थिएँ, म अथेन्टिक मान्छे भएकाले हस्ताक्षर नभएका भए पनि डकुमेन्ट ल्याएको थिएँ। यसपटक त्यसमा पनि करेक्सन गरेको छु,' सिलवालले भने।
 
यसैबीच समितिले सुन बरामद घटनाबारे भन्सार विभाग, राजश्व अनुसन्धान विभाग लगायतका पदाधिकारीसँग थप छलफल गर्ने भएको छ। समिति सभापति जनार्दन शर्माले सामान्य सुराकीको मात्र विषय नभएको उल्लेख गर्दै प्रहरीसँग जनताको विश्वास जोडिएको विषय भएकाले थप अनुसन्धान आवश्यक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell