PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​सुन सुराकी कान्डमा गृह सचिव र एआइजीलाई सभासद्को हप्की



​सुन सुराकी कान्डमा गृह सचिव र एआइजीलाई सभासद्को हप्की

  • मनोज सत्याल/पहिलोपोस्ट-
काठमाडौँ : ३५ किलो सुन बरामद प्रकरणमा जवाफ दिन सार्वजनिक लेखा समिति पुगेका गृहसचिव सूर्य सिलवाल र अतिरिक्त प्रहरी महानिरीक्षक सुरेन्द्रबहादुर शाहलाई लापरवाही ढंगले प्रस्तुत भएको भन्दै सभासद्‍हरुले हप्काएका छन्।

सिलवालले गृहमन्त्रालयको छाप नभएको, कुनै आधिकारिक हस्ताक्षर नभएको तथा समितिलाई सम्बोधन समेत नगरिएको पत्र बुझाएपछि समितिमा रहेका सभासद्हरुले हप्काएका हुन्।

नेपाली कांग्रेस सभासद् धनराज गुरुङले पर्चामा सार्वजनिक लेखा समितिको नाम समेत नलेखी ल्याएर गृह सचिवले संसदीय समितिको अपमान गरेकोमा आपत्ति जनाए।

'तपाइँहरुले संसदको अपमान गरेको?, यो ढंगबाट प्रस्तुत हुने? सभासद्लाई दिने पत्र यस्तो हुन्छ?' गृह मन्त्रालयले प्रस्तुत गरेको डकुमेन्ट देखाउँदै गुरुङले हप्काए।

सुराकीलाई सुरक्षा

३५ किलो सुन बरामद गर्दा सुराकी गर्नेहरुको सुरक्षा दिन नसकेको भन्दै एआईजी शाहलाई समेत गुरुङले सचेत गराए।
'सुराकीलाई प्रहरीबाट थ्रेट गएको छ, त्यो पनि घरमै', गुरुङले भने, ‘घरमै गएर लागू औषधमा फसाउने, सुट गर्ने धम्की दिइएको छ, यस्तो त भएन नि।'
 

कमिसनको लोभ

२०७० साल असार २३ गते ३५ किलो सुन बरामद गरेको घटनाबारे जानकारी लिन लेखा समितिले आइतबार गृह सचिव र अतिरिक्त प्रहरी महानिरीक्षकलाई बोलाएको थियो।
 
सुनको चोरी पैठारी तथा अवैध निकासी रोक्न सरकारले सुराकीलाई १५ प्रतिशत कमिसन उपलब्ध गराउँदै आएको छ। ३५ किलो सुन बरामद गर्दा सुराकीले बजार मूल्य अनुसार कमिसन मात्रै झण्डै २ करोड ३० लाख पर्न आउँछ।

ठूलो रकम कमिसनमा पाउने देखिएपछि नक्कली सुराकी खडा गरी वास्तविक सुराकीलाई कमिसन पाउने सूचीबाट हटाएको दावी गर्दै सिन्धुपाल्चोकका भीमबहादुर तामाङ, सिन्धुलीका पदमबहादुर तामाङ र महोत्तरीका संजयकुमार झाले लेखा समितिमा उजुरी गरेका थिए। 

के छ उजुरीमा?

लेखा समितिमा तामाङद्वय र झाले दिएको उजुरीमा आफूहरुले २०७० असार २५ गते सुनबारे सुराकी दिएको उल्लेख छ। अनुसन्धान ब्युरोको दर्जा थाहा नभएका डेनी लामाको मोबाइलमा फोन गरेर सुन तस्करीको जानकारी दिएको उजुरीकर्ताको दावी छ।

सोही दिन उजुरीकर्ता मध्ये एक भीमबहादुर तामाङसमेत सहभागी भई सुरेन्द्र स्वाँर, डेनी लामा, सूर्यभक्त श्रेष्ठ, शम्भु अधिकारी, महेशऐरी लगायतले बा ३ ख २५२७ नम्बरको ट्रक राति साढे १० बजे तातोपानीबाट अँधेरीचेकपोष्ट भन्दा १ किमि अगाडि नियन्त्रणमा लिइएको उजुरीमा उल्लेख छ।

सोही ट्रकबाट कोटेश्वर ट्राफिक प्रहरीको कम्पाउण्डमा ३५ किलो सुन बरामद भएको उजुरीकर्ताले उल्लेख गरेका छन्।

तर सुराकी गरेबापतको कमिसन पाउने बेलामा भने ट्रक पक्राउमा सहयोगी प्रहरी शम्भु अधिकारीले आफ्ना दाजु र असई सूर्यभक्त श्रेष्ठले भाइलाई सुराकीको रुपमा खडा गरेको उजुरीमा उल्लेख छ।

उजुरीकर्ताहरुले तत्कालीन केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख एसपी ईश्वरबाबु कार्कीसँग पटक पटक भएको कुराकानीको अडियो र भिडियो रेकर्डसमेत आफूहरुसँग रहेको उल्लेख गरेका छन्।

यस्तो थियो गृहसचिवको जवाफ-

गृह सचिवको स्पष्टोक्ति?

गृह सचिव सूर्य सिलवालले २०७० साल असार २६ गते सुन बरामद गरिएको र त्यसको कमिसनका विषयमा राजस्व अनुसन्धान विभागबाट मुद्दा किनारा नभएको बताए। उनले सुराकी को-को थिए भन्ने विषय प्रमाण ऐन २०३१ बमोजिम खुलाउन नपर्ने दावी गरे।

गृह सचिवले भीमबहादुर तामाङ, पदमबहादुर तामाङ र संजयकुमार झाले छुट्टै सुराक दिए नदिएको केन्द्रीय अनुसन्धान ब्युरोमा भएको मिसिलमा संलग्न कागजातमा खुल्न नआएको बताए। उनीहरुले विगतमा समेत आपराधिक गतिविधि लगायत कुनै अन्य घटनामा सूचना दिएको विभागको अभिलेखबाट नदेखिएको सचिवको कथन थियो।

कसरी हपारे सभासद्ले?

गृह सचिवको स्पष्टिकरणसँगै कांग्रेस सभासद् राजन केसीले सुराकीहरुलाई कुन निकायमा उजुरी गर्ने भन्नेबारे जानकारी नहुने भन्दै गृहसचिवले ब्युरोको अभिलेखको विषय उठाएकोमा विरोध जनाए।

'हामीलाई मुद्दा अख्तियारमा विचाराधीन छ, राजस्वबाट टुङ्गो लाग्न बाँकी छ भन्ने पहिल्यै जानकारी थियो', केसीले भने, 'वास्तवमै उजुरीकर्ता सुराकी थिए कि थिएनन्? प्रहरीका उच्चपदस्थले नक्कली सुराकी खडा गर्छन् कि गर्दैनन् भन्ने बारे जानकारी मागिएको हो।'

लगत्तै कांग्रेसकै धनराज गुरुङले प्रहरी महानिरीक्षक अनुपस्थित भएकोमा विरोध जनाए। उनले सुन बरामद गरिएको ट्रकका मालिक ओमबहादुर बज्राचार्य, सुन बेचेको आरोपी ग्याम्जो लामा र सुन धनी मोहन अग्रवाललाई सर्वोच्चले समेत छाडेको र ड्राइभर मात्र जेलमा रहेको विषयलाई गम्भीर रुपमा लिनुपर्ने बताए।

'त्यत्रो ३५ किलो सुन ल्याउने ड्राइभरको औकात भएको भए त्यसले ड्राइभरको काम नै गर्ने थिएन नि', गुरुङले भने, 'यो गम्भीर विषय हो, छलफलमा महानिरीक्षक स्वयम् उपस्थित हुनुपर्छ।'

परिवार दलका एकनाथ ढकालले पनि गृह सचिवले संसदीय समितिलाई झारा टार्ने किसिमले जवाफ पेश गरेको भन्दै विरोध गरे। उनले मुलुक सुन तस्करीको थलोको रुपमा उदाएको आरोप लगाउँदै सुरक्षा निकायको मिलेमतोमा समेत प्रश्न गरे।

एमालेका भानुभक्त ढकालले गृह सचिवले औपचारिकता पूरा गर्ने गरी उत्तर दिएको भन्दै विरोध जनाए।

'विभिन्न नाकामा प्रहरीको सरुवा बढुवा समेत यस्तै विषयसँग जोडिएको छ', ढकालले भने, 'सुराकीबाट पत्ता लागेको घटनामा प्रहरीका नातागोता, आफन्तले नक्कली सुराकी बनाएर कमिसन खाने गरेको घटनामा प्रहरी महानिरीक्षकले जवाफ दिनुपर्छ।'

सभासद्हरुले आलोचना गर्न थालेपछि गृहसचिव सिलवाल रातो मुख पार्दे निहुरिएर बसेका थिए।

समिति सभापति जनार्दन शर्माले समेत झारा टार्ने किसिमले गृह सचिव प्रस्तुत भएको ठहर गर्दै बोल्ने मौकै नदिई बैठक टुङ्ग्याएका थिए।
शर्माले पनि छाप नभएको पत्रमा समितिलाई जवाफ पठाएको भन्दै गृह सचिव सिलवालको खरो शब्दमा आलोचना गरे।

'गृह सचिव जस्तो मान्छेलाई ज्ञान नभएको भन्न मिल्दैन', शर्माले भने, 'हामी तपाइँको जवाफ लिँदैनौ, आइन्दा यस्तो कुरा सुधारियोस्।' 
सुराकीलाई प्रहरीबाटै थ्रेट हुनु गम्भीर विषय रहेको उल्लेख गर्दै समितिले एआईजी शाह र गृह सचिवलाई उनीहरुको सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको छ।

समितिले ३५ किलो सुन बरामद प्रकरणमा थप छलफलका लागि गृह मन्त्री वामदेव गौतम र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई अर्को बैठकमा उपस्थित हुन निर्देशन दिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell