PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

उपचारपछि फर्किए अम्बर, भन्छन्- ‘केही समयपछि सेवामा हाजिर हुनेछु’, मोबाइलमा बजाइयो राष्ट्रगान



उपचारपछि फर्किए अम्बर, भन्छन्- ‘केही समयपछि सेवामा हाजिर हुनेछु’, मोबाइलमा बजाइयो राष्ट्रगान
फोटो : इलिट जोशी/पहिलोपोस्ट

  • रविराज बराल/पहिलोपोस्ट-
काठमाडौं : ‘म निको भएर फर्किएँ। सबैलाई धन्यवाद। केही समय आराम गर्छु र फेरि तपाईँहरुको सेवामा फर्किन्छु।‘ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आफूलाई पर्खिरहेका सुभेच्छुक र पत्रकारलाई राष्ट्रगानका संगीतकार अम्बर गुरुङले मुस्कुराउँदै सानो स्वरमा भने।

गत फागुन १४ गते ७९ ‍औँ जन्मदिन मनाएका संगीतकार गुरुङ माघ १४ गतेदेखि भारतको मेदान्त अस्पतालमा उपचाररत थिए। उनी उपचार सम्पन्न गरी बुधबार स्वदेश फर्किएका हुन्।

सम्बन्‍धित समाचार
आवाज देऊ, तिमी कहाँ छौ : मेदान्तको बेडमा अम्बर गुरुङ - See more at: http://www.pahilopost.com/content/-13579.html#sthash.LuYXHTPP.dpuf
आवाज देऊ, तिमी कहाँ छौ : मेदान्तको बेडमा अम्बर गुरुङ - See more at: http://www.pahilopost.com/content/-13579.html#sthash.LuYXHTPP.dpuf
आवाज देऊ, तिमी कहाँ छौ : मेदान्तको बेडमा अम्बर गुरुङ



गुरुङका छोरा राजु गुरुङका अनुसार उनलाई फलोअपका लागि पछि पुनः भारत लग्नुपर्नेछ। चिकित्सकहरुका अनुसार गुरुङको खाने नलीको तल्लो आन्द्रामा ट्युमर देखिएको थियो। अम्बरका छोरा राजुले ‘एक्टिभ नर्भमा रिङ हालेपछि सजिलो भएको’ बताए।

काठमाडौंको ग्रान्डी अस्पतालका चिकित्सक डा. जगदीश अग्रवालले गुरुङलाई मेदान्त रेफर गरेका थिए।
***
विमानबाट झरेपछि ह्विलचियरमा विशिष्ट कक्षसम्म ल्याइएका गुरुङ सोफामा बसेपछि लेखक प्रकाश सायमीले सोधे- ‘उपचारपछि सरले के खानुभयो सबैभन्दा पहिला?’

‘पानी खाएँ’, अम्बरले छोटो उत्तर दिए।

‘बसाइ राम्रै भयो?’

गुरुङले टाउको हल्लाएर 'हो'को भाव प्रकट गरे।

विमानस्थलमा अम्बरको स्वागतमा औपचारिक कार्यक्रम केही थिएन। सरकारका प्रतिनिधि पनि त्यहाँ पुगेका थिएनन्। हातमा फूलका गुच्छा, खादा लिएर गएका पञ्चकन्याहरुले उनलाई अभिनन्दन गरे। यो सबै प्रबन्ध मिलाएका थिए अम्बरका विद्यार्थी रतन चन्दले ।

आफूलाई फूलका गुच्छा दिनेहरुलाई अम्बर मुस्कुराउँदै धन्यवाद दिइरहेका थिए- ‘थ्यांक यु, थ्यांक यु।‘



अम्बरको पहिलो नेपाल अनुभव

 

प्रकाश सायमी, लेखक

पहिलोपटक नेपाल आउँदा उहाँको कार्यक्रम त्रिपुरेश्वरको त्रिभुवन विश्वविद्यालयको हलमा भएको थियो। कार्यक्रम सकिएपछि उहाँलाई बिदा गर्न गाडी ल्याएर राखिएको थियो। तर उहाँ गाडी चढ्न सक्नुभएन। कारण विद्यार्थीहरुले दायाँबायाँ पर्खालमा घेरेर उहाँलाई तपाईँ हिँड्नैपर्छ भनेर त्रिविदेखि उहाँ बसेको होटल ग्र्यान्डसम्म हिँडाएका थिए। उहाँ हिँड्दै जानुभयो। यो २०१९ सालको कुरा हो। त्यो बेला उहाँका विद्यार्थीहरुले यसो गरेका थिए। उहाँ विद्यार्थीहरु को भने अहिलेका चर्चित डा. अभि सुवेदी, विश्वकेशर मास्के आदि।

उहाँको पहिलो गीत सन् १९६१ जनवरीमा रेकर्ड भयो- नौलाख तारा उदाए । उहाँका एकजना सुभेच्छुक सचित्रमणि गुरुङले जहाँतहीँ गाएर हुँदैन रेकर्ड गर्नुपर्छ भनेपछि गीत रेकर्ड गर्नुभयो। त्यसपछि मात्र अम्बरको साच्चै सार्वजनिक कार्यक्रम सुरु भयो।

पछि उहाँलाई नेपालमै बस्न निम्ता गरियो। नेपाल प्रज्ञा प्रतिष्ठानसँग आबद्ध भएर उहाँले काम गर्नुभयो। पहिलो चलचित्र शाही नेपाल चलचित्र संस्थानले बनाएको ‘मनको बाँध’ मा टाइटल म्युजिक गर्नुभयो। त्यसपछि ‘जीवनरेखा’ मा पार्शवसंगीत गर्नुभयो। ‘मालतीमंगले’ उहाँको ऐतिहासिक काम हो। ‘मुनामदन’ गर्नुयो। ठूलो सपना थियो नेपालमा क्वाएर गर्ने। उहाँका शिष्य जयदेव श्रेष्ठले ‘नारायणको सपना, अम्बरको विपना’ शीर्षकमा कार्यक्रम गर्नुभयो।

 
***
अम्बरको सम्मानमा उनले संगीत भरेको राष्ट्रगान बजाए उनका विद्यार्थी रतनले।

‘हजुरले संगीत गरेको राष्ट्रगान बजाउँदै छु’, उनले अम्बरलाई सुनाए।

‘उहाँ पर्दैन(उठ्न)’, कोही भन्दै थिए तर अम्बरले मानेनन्। अम्बर पनि उठे।

सँगसँगै सबै पत्रकार र कार्यक्रममा उपस्थित अम्बरका सुभेच्छुक पनि। मोबाइलमा मधुरो धुनमा राष्ट्रगान बज्यो। सबैले गीतमा स्वर दिए।

‘फलोअपमा जानु छ। उपचारमा कठिनाइ झेले पनि उहाँले अझै पनि केही गर्ने इच्छा राख्नुभएको छ’, छोरा राजुले भने, ‘सरकारले पनि सहयोग गर्‍यो। धन्यवाद छ।‘ सुभेच्छुकहरुको दबाबपछि अम्बरको उपचार खर्च सरकारले बेहोर्ने निर्णय सरकारले फागुन १८ गते गरेको थियो।


***
अम्बरका विद्यार्थी रतनले उनी राष्ट्रिय गायक र राष्ट्रिय संगीतकार भएकोले आउँदो पुस्तालाई पनि सम्झना होस् भनेर उनलाई सम्झिएको बताए। ‘हामी युवा पुस्ताले सम्झेनौँ भने आउँदो पुस्ताले हामीलाई पनि सम्झिने छैन’, उनले भने।

राष्ट्रगान सबैले गाए पनि यसका संगीतकारबारे धेरै मानिस अनभिज्ञ रहनुलाई उनले ‘समाज र संगीतबीचको ग्याप’ भने। ‘स्कुलहरुमा जान्छु। गीत सबैले गाउँछन् तर यसको संगीतकार को हो भन्दा धेरैलाई थाहा छैन। संगीतमा हामी समर्पित छौँ तर समाजसँग यसको ग्याप पनि छ’, उनले भने, ‘सबैले भन्छन् सर्जक राष्ट्रको गहना हो तर गहना राख्ने इज्जतिलो दराज भएन। त्यो नहुँदा धेरै गहना पलायन भएका छन्, विदेशिएका छन्।‘

‘नर्सको व्यवस्था गरियोस्’

रतनले अम्बरलाई राष्ट्रिय विभुति घोषणा गर्न माग गरे। ‘उहाँलाई सरकारले जेजति सहयोग गरेको छ त्यसबाट हामी खुसी छौँ। सरकारले सक्छ भने दुईजना परिचारिक (नर्स) को व्यवस्था गरिदेओस्’, उनले भने, ‘बितेपछिमात्र होइन, जिउँदै हुँदा केही गरौँ। राजनीतिक व्यक्तित्वहरुलाई राज्यले जिम्म लिएकै छ। कला क्षेत्रका श्रष्टाले पनि यसमा अटाउनुपर्छ।‘ अम्बर राजकीय सम्मान गर्न लायक व्यति भएको उनको तर्क थियो।

कार्यक्रम सकिनै लाग्दा लेखक प्रकाश सायमीले अम्बरलाई सोधे- ‘एउटा गीत गाइदिउँ कि क्या हो?’

अम्बर मुसुक्क हाँसे मात्र, केही बोलेनन्।

लेखक सायमीले अम्बर र उनकी श्रीमती दुबै विरामी भएकोले सरकारले परिचरिकाको व्यवस्था गर्नुपर्ने बताए। अम्बरपत्नीलाई पक्षाघात भएको छ।

‘घरमा उहाँ र उहाँको म्याडम बिरामी भएको कारणले उहाँलाई हेर्ने परिचारिकाको व्यवस्था गर्‍यो भने त्यो एकदमै सुन्दर पक्ष हुन्छ। सरकारलाई हामी आग्रह गर्छौँ। उहाँ संगीतकार मात्र होइन, नेपाली सेनाको मानार्थ महासेनानी पनि हो’, उनले भने, ‘सरकारले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ। नेपालको राष्ट्रगानको संगीतकार भएकोले उहाँलाई राष्ट्रिय निधिको सम्मान दिनुपर्छ।‘

अब अम्बर केही समय घरमा आराम गर्नेछन् र फलोअपका लागि पुनः मेदान्त अस्पताल जानेछन्।







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell