PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

​वैशाखको तेस्रो साता स्ववियु निर्वाचन गर्ने त्रिविको तयारी



​वैशाखको तेस्रो साता स्ववियु निर्वाचन गर्ने त्रिविको तयारी

  • रविराज बराल/रमेश वाग्ले-
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले वैशाखको तेस्रो साता स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने तयारी गरेको छ। शुक्रवार विभिन्न विद्यार्थी संगठनहरुसँगको संयुक्त छलफलपछि विश्वविद्यालयकी शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीले पदाधिकारी बैठकबाट स्ववियु निर्वाचनको मिति तोक्ने बताइन्।

'हामीले विद्यार्थी संगठनहरुसँग छलफल गर्‍यौँ, निर्वाचन गर्नुपर्छ भन्नेमा सबै संगठन सहमत छन्', शिक्षाध्यक्ष त्रिपाठीले पहिलोपोस्टसँग भनिन्, 'विश्वविद्यालय जुनसुकै हालतमा चुनाव गर्न दत्तचित्त छ, चाँडै पदाधिकारी बैठक बसेर मितिबारे निर्णय गर्छौँ।'

छलफलमा सहभागी नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछाने, अनेरास्ववियुका सचिव आरसी लामिछाने र अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बैशाख तेस्रो साता स्ववियुको निर्वाचन गर्ने शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीले बताएको जानकारी दिए। 

'मिति पदाधिकारी बैठकबाट तोक्छौँ, अब विद्यार्थी संगठनहरु पनि गम्भीर भैदिनुपर्‍यो', त्रिपाठीले भनिन्।

'शिक्षाध्यक्षले बैशाख २० भित्र स्ववियु चुनाव गर्नेगरी मिति घोषणा गर्ने भन्दै त्यसका लागि तयार रहन भन्नुभएको छ', नेविसंघ प्रवक्ता लामिछानेले भने, 'संगठनहरुबीचमा रहेका विमतिहरु आपसमा टुंग्याउन आग्रह गर्नुभयो।'

'विगतको सहमति अनुसार पारित विधानमै टेकर चुनाव घोषणा गर्न सुझाव दियौँ, अब चुनाव नगरी हुन्न', अनेरास्ववियुका सचिव आरसी लामिछानेले भने, 'करिब तेस्रो साताको तयारीमा विश्वविद्यालय छ।'

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले पनि बैशाख तेस्रो साताको तयारीमा विश्वविद्यालय रहेको जानकारी दिए। 'अविलम्ब चुनावको मिति तोक्नु पर्छ, चुनाव विश्वविद्यालयले गराउने हो, विद्यार्थी संगठनले भाग लिने हो', बस्नेतले भने, 'हामी चुनावका लागि तयार छौँ।' त्रिविका रजिस्ट्रार प्रा. डा डिल्ली उप्रेतीले शैक्षिक क्यालेन्डर प्रभावित नहुनेगरी परीक्षाको रुटिन मिलाएर बैशाखभित्रै चुनाव गरिसक्नुपर्ने बताए।

को को थिए छलफलमा?

छलफलमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष त्रिपाठी, रजिस्ट्रार प्रा. डा डिल्ली उप्रेती, त्रिवि विद्यार्थी कल्याण महाशाखाका प्रमुख गंगाबहादर थापा लगायत सहभागी थिए।  


छलफल। फोटोः सुरेन्द्र बस्नेतको फेसबुकबाट।

छलफलमा नेविसंघबाट कार्यबाहक अध्यक्ष उत्तम मिश्र, प्रवक्ता यूपी लामिछाने सहभागी थिए। उनीहरुले उमेरहद नराखी चुनाव घोषणा गर्न त्रिविलाई सुझाव दिए।

अनेरास्ववियुबाट अध्यक्ष नवीना लामा, महासचिव ऐन महर र सचिव आरसी लामिछाने सहभागी थिए। उनीहरुले विगतको सहमति अनुसार पारित विधानमै टेकर चुनाव घोषणा गर्न सुझाव दिए।   

अखिल क्रान्तिकारीबाट महासचिव अनिल शर्मा र प्रवक्ता सुरेन्द्र वस्नेत सहभागी थिए। उनीहरुले पनि विगतमा पारित नियमावलीअनुसार अविलम्ब चुनावमा जानुपर्ने बताए।

वैद्य निकट अखिल क्रान्तिकारीबाट उपाध्यक्षद्वय वीरेन्द्र बस्नेत र सेवन्तराज भण्डारी सहभागी थिए। उनीहरुले सचिव र कोषाध्यक्ष पनि समानुपातिक आधारमा छान्न माग गरे।  

विप्लव निकट अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी अभियान, नेक्राविसं, अखिल(छैठौं), अखिल (पाँचौ), राप्रविसं, प्राज्ञिक विद्यार्थी परिषद लगायत विद्यार्थी संगठनका प्रतिनिधि बैठकमा सहभागी थिए। मधेसकेन्द्रित दल निकट विद्यार्थी संगठन भने बैठकमा अनुपस्थित थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell