PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

८ वर्षसम्म किन हुन सकेन स्ववियु चुनाव, दोषी त्रिवि कि विद्यार्थी संगठन?



८ वर्षसम्म किन हुन सकेन स्ववियु चुनाव, दोषी त्रिवि कि विद्यार्थी संगठन?
फोटो : tribhuvan-university.edu.np

  • रविराज बराल/रमेश वाग्ले-
काठमाडौं : यथासिघ्र स्ववियु निर्वाचनको माग गर्दै दायर एउटा रिटमा सर्वोच्च अदालतले २०७२ बैशाख ८ गते आदेश जारी गरेको थियो- तीन महिनाभित्र निर्वाचन गर्नू। तर विद्यार्थी संगठनहरुबीचको विवाद र त्रिभुवन विश्वविद्यालयको अकर्मण्यताका कारण अदालतको आदेश औपचारिकतामा सीमित भयो।

नियमअनुसार हरेक दुई दुई वर्षमा हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन २०६५ सालपछि भएको छैन। यसको मुख्य कारण हो प्रमुख राजनीतिक दल निकट विद्यार्थी संगठनहरुबीचको विवाद। विद्यार्थी संगठनहरुबीच कहिले फर्जी विद्यार्थी भर्नाको विषयमा, कहिले विधानमा भएको उमेर हदको विषयमा त कहिले निर्वाचन प्रणालीको विषयमा विवाद हुँदा घोषणा भएर पनि स्ववियु चुनाव पटकपटक स्थगित भयो।

पछिल्लोपटक २०७१ साल जेठ १४ गतेका लागि घोषित निर्वाचन स्थगित भएको थियो भने त्यसअघि २०७० जेठ २३ गते घोषित निर्वाचन कार्यक्रम स्थगित भएको थियो। स्वतन्त्र विद्यार्थी युनियन नियमावली अनुसार हरेक दुई वर्षमा बैशाख २० गते स्ववियु निर्वाचन गर्नुपर्ने उल्लेख छ।

यसपटक पनि बैशाख २० नजिकिँदै छ तर के अहिले स्ववियु निर्वाचन सम्भव छ? कि यसपटक पनि निर्वाचन कार्यक्रम घोषणा हुने र स्थगित हुने पुरानै चलन दोहोरिएला? के हुन् विद्यार्थी संगठनबीचका विवाद? ती विवाद मिलाउन के गर्दै छ त्रिभुवन विश्वविद्यालय? पहिलोपोस्टले खोज्ने प्रयास गरेको छ।

विवादका विषय

ठूला दल निकट विद्यार्थी संगठनका नेताको कुरा सुन्दा लाग्छ उनीहरुबीच विवाद केही छैन। किनभने उनीहरु भन्छन्- स्ववियु नियमावलीअनुसार निर्वाचन हुनुपर्‍यो। तर उनीहरुबीच नियमावलीका व्यवस्थाको बुझाइमा भने एकरुपता छैन। विद्यार्थी संगठनहरुबीच मुख्यरुपमा स्ववियु नियमावलीमा रहेको निर्वाचन प्रणाली र उम्मेदवार हुन तोकिएको उमेर हदमा विवाद छ।

स्वतन्त्र विद्यार्थी युनियन नियमावली (२०६९ चैत २३ मा अन्तिमपटक संशोधित) मा प्रत्यक्ष र समानुपातिक दुवै प्रणाली रहने गरी मिश्रित निर्वाचन प्रणालीको व्यवस्था छ। निर्वाचन प्रणालीबारे नियमावलीमा उल्लेख छ- 'कार्यसमितिको निर्वाचनमा मतदान गर्दा अध्यक्ष, सचिव र कोषाध्यक्षको मतदान एक व्यक्ति एक मतको आधारमा हुने निर्वाचन पद्धतिबाट हुनेछ। सदस्यहरुको लागि जम्मा निर्वाचित हुने सदस्यहरुमध्ये ५० प्रतिशत सदस्यहरुको लागि प्रत्यक्ष निर्वाचन प्रणालीबाट र बाँकी ५० प्रतिशत सदस्यहरुको निर्वाचन समानुपातिक प्रणालीबाट हुनेछ। उपाध्यक्ष र सहसचिवको निर्वाचन निर्वाचित अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरुको समितिले सदस्यहरुमध्येबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्नेछ।'

यस्तै नियमावलीमा उमेरहदका विषयमा यस्तो व्यवस्था छ- 'स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कार्यसमितिमा उम्मेदवारी दिन चाहने विद्यार्थीको उमेर उम्मेदवारी दर्ता गर्ने अन्तिम मितिसम्ममा २८ वर्ष ननाघेको हुनुपर्नेछ। तर यो प्रावधान यो नियम लागू भएपछिको दोश्रो निर्वाचनदेखि वा २०७२ साल बैशाख १ गतेपछि हुने निर्वाचनका हकमा मात्र लागू हुनेछ।'

नियमावलीको व्यवस्थामा के हो त विवाद?

त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठी विद्यार्थी संगठनहरु चुनाव गर्ने विषयमा सहमत भएपनि उनीहरुबीच नियमावलीमा रहेका यी दुई व्यवस्थामा फरक फरक बुझाइ भएका कारण समस्या परेको बताउँछिन्। 'चुनाव गर्ने भन्नेमा सबैको सहमति छ। तर निर्वाचन प्रणालीमा उनीहरु कन्फ्युजनमा छन्। कोही पूर्ण प्रत्यक्ष भन्ने, कोही पूर्ण समानुपातिक भन्ने र कोही मिश्रित भन्ने छन्', उनी भन्छिन्, 'उमेर हदका विषयमा नेविसंघबाहेक सबै संगठन सहमत देखिन्छन्।'

तर नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछाने विधानमा उल्लेखित उमेर हद नमानेको भन्ने आरोप स्वीकार्न तयार छैनन्। विधान संशोधनपछिको पहिलो निर्वाचनमा उमेर हद नलाग्ने सहमति भएको उल्लेख गर्दै उनले  विश्वविद्यालयले विधान कार्यान्यवन गर्दै स्ववियु निर्वाचन गर्नुपर्ने बताए।  

'उमेरको हद हामीले नमान्ने भन्दा पनि विश्वविद्यालयले हिजोको सहमति कार्यान्वयन गर्न सकेन भन्ने हो', प्रवक्ता लामिछानेले पहिलोपोस्टसँग भने, 'एक निर्वाचन उमेर हद लागू नगर्ने भनेकै कारण हामीले प्रत्यक्ष निर्वाचन छोडेर मिश्रितमा कम्प्रमाइज गर्‍यौँ तर निर्वाचन नै नगरी कसरी यो विधान लागु हुन सक्छ?'

अन्य संगठनले विधानमा ७२ सालसम्म मात्र लेखिएको भनेर तर्क गरेको तर्फ संकेत गर्दै उनले भने- 'त्यसका लागि एक निर्वाचन त हुनुपर्‍यो नि।' आफूहरु पहिलेको सहमतिमा अडिग रहेको दाबी गर्दै लामिछानेले अन्य संगठन पनि विधानमा उल्लेखित एक निर्वाचनको अजेन्डाबाट पछि हट्न नमिल्ने बताए।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका सचिव आरसी लामिछाने पूर्व सहमतिअनुसार सबै संगठन निर्वाचनका लागि तयार हुनुपर्ने बताउँछन्। 'पूर्व सहमतिअनुसार निर्वाचनमा जान हामी तयार छौँ। पूर्व सहमति भनेको मिश्रित निर्वाचन प्रणाली हो। अर्को कुरा एक निर्वाचन पछि मात्र उमेर हद लगाउने व्यवस्था हो', लामिछानेले भने, 'यी दुई सहमतिमा सबै संगठन अडिग हुने हो भने चुनाव हुन्छ। मुखले चुनाव भने पनि चुनाव नचाहने संगठनहरु पनि छन्।' पूर्व सहमतिअनुसार विद्यार्थी संगठनहरु तयार हुने हो भने आउँदो बैशाखमा स्ववियु निर्वाचन सम्पन्न गर्न सकिने उनको विश्वास छ।  

नेविसंघका प्रवक्ता यूपी लामिछाने र अनेरास्ववियुका सचिव आरसी लामिछानेको कुरामा एकरुपता देखिन्छ। मिश्रित निर्वाचन प्रणाली र पहिलो निर्वाचनमा उम्मेदवार बन्न उमेर हद नलाग्ने व्यवस्थामा उनीहरु दुवै प्रतिबद्ध देखिन्छन्।

तर एकीकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को भने यसमा आफ्नै तर्क छ। अखिल क्रान्तिकारीका सचिव एवं प्रवक्ता सुरेन्द्र बस्नेत अहिले नियमावलीमा भएको व्यवस्था सबै संगठनबीचको 'कम्प्रमाज' भएकोले यसलाई मानेर स्ववियु चुनावमा जानुको विकल्प नभएको बताउँछन्। 'कुनै संगठन पूर्ण समानुपातिक र कुनै पूर्ण प्रत्यक्षका पक्षमा थिए। यो सबै संगठनबीचको कम्प्रमाइज हो। सबैको चासो सम्बोधन भएको हो।'  

निर्वाचन प्रणालीमा विद्यार्थी संगठनबीच कुरा मिलेको छैन भनेर त्रिवि पन्छिन नपाउने उनको भनाई छ। 'हामीले पूर्ण समानुपातिक भनेका थियौँ तर पछि मिश्रितमा सहमति गर्‍यौँ। सबैले केही न केही लिएर र केही न केही छोडेर मिश्रित निर्वाचन प्रणाली मानेको हो। यो नयाँ विवाद होइन, पुरानै विवाद हो। विवादको अन्त्य गर्न मिश्रित प्रणाली आएकाले यसमा अल्झिनुको तुक छैन', बस्नेतले भने।

उम्मेदवारको उमेर हदका विषयमा पनि नियमावलीले स्पष्ट किटान गरेकाले विवाद आवश्यक नभएको उनको तर्क छ।   

'७२ सालभित्र उमेर हदको प्रावधान लागू नहुने भन्ने थियो, चुनाव भएन, अब विधान अनुसार उमेर हद लाग्छ। यसमा विवाद आवश्यक छैन', उनले भने, 'उमेर हदको व्यवस्थाले स्ववियुमा नयाँ मान्यता स्थापित हुन्छ, वास्तविक विद्यार्थीको प्रतिनिधित्व हुन्छ।'

यद्यपी उमेर हदकै कारण स्ववियु चुनाव हुन नसकेमा चुनाव हुने 'कस्ट' मा आफूहरुले लचकता अपनाउन सक्ने संकेत प्रवक्ता बस्नेतले गरे। 'विद्यार्थीलाई प्रोत्साहन हुन्छ भनेर उमेरहदको व्यवस्था आएको हो। विद्यार्थीहरु यसको पक्षमा छन्। तर चुनावमा यही बाधक हुन्छ भने हामी लचक हुन तयार छौँ।'

नेविसंघ किन उमेर हदको विपक्षमा छ त? प्रवक्ता युपी लामिछानेका अनुसार विद्यार्थी राजनीतिमा लागेका धेरै मान्छेहरु स्ववियु चुनाव कुरेर बसेका छन्। स्ववियु चुनाव नहुँदा उनीहरुको राजनीतिक यात्रा रोकिएको छ। 'लामो समयदेखि स्ववियु चुनाव कुरेर बसेका साथीहरु छन्। उनीहरुलाई पन्छाउन क्रान्तिकारी कुरा गरेर मात्र त भएन नि', उनले भने, 'लोकतान्त्रिक आन्दोलमा लागेर बसेका साथीहरु हाम्रो संगठनमा मात्र होइन, अरु संगठनमा पनि छन्। अहिले यसलाई रणनीतिक एजेण्डा बनाइएको मात्र हो।'

पहिले कतिपय संगठनहरु स्ववियु चुनावको विपक्षमा समेत रहेकोमा अहिले त्यस्तो अवस्था नभएकोले स्ववियु चुनाव गराउन सजिलो रहेको उनको बुझाइ छ।

उमेर हद किन आवश्यक छ?

हिमाल शर्मा
पूर्व सभापति, स्वतन्त्र विद्यार्थी युनियन, त्रिवि

उमेरको हदबन्दी नलाग्दाखेरी त्यहाँ गैर विद्यार्थीहरु बढी हाबी हुने देखियो। फलस्वरुप स्ववियु अनावश्यक रुपमा राजनीतिकरण हुने पनि देखियो। नाममात्रका विद्यार्थी भएपछि स्ववियुबाट नै आफ्नो आर्थिक उपार्जन गर्ने हुँदा स्ववियु र विश्वविद्यालयलाई पनि ठूलो भार परेको देखियो। स्ववियुको निम्ति भनेर पढाइ सकिएपछि पनि दसौँ वर्ष सभापतिका लागि वा पदाधिकारीका लागि भन्दै कुरेर बस्ने चलन देखियो।

यसबाट के भयो भने स्ववियुमा बास्तविक विद्यार्थीको प्रतिनिधि नै नआउने भयो। बास्तविक विद्यार्थीको प्रतिनिधित्व गराउन २८ वर्षसम्ममा सबैको मास्टर्स डिग्रीमा नियमित कक्षा सकिन्छ। अझ २५ वर्षमा करिब पढाइ सकिन्छ, त्यस हिसाबले २५ वर्ष बनाउनुपर्ने हो। नियमित विद्यार्थीको वास्तविक प्रतिनिधिलाई नेता बनाउनको लागि स्ववियुमा विधान संशोधन गरेर २८ वर्षे उमेर हदबन्दी लागू गरिएको हो।

मैले त्रिविमा स्ववियु सभापति हुँदा यो प्रस्ताव लगेको हुँ र त्रिवि सभाले यसलाई पारित गरेर नियमावली बनेको हो। यसमा कुनै विवाद गर्नुपर्ने ठाउँ छैन। नयाँ विधानअनुसार नै स्ववियुको चुनाव हुनुपर्छ। यसो हुँदा मात्र स्ववियुलाई बास्तविक विद्यार्थीहरुको प्रतिनिधित्व रहने संस्था बनाउन सकिन्छ। कुनै पनि विद्यार्थी संगठनले यसमा विवाद गर्नुपर्ने विषय नै छैन।

फ्रेस विद्यार्थीहरुलाई चुनाव लड्न दिउँ न। के फरक पर्छ? आखिर सबैका प्रतिनिधि त्यहाँ पुग्ने हुन्। उमेर बढी हुँदा फलानो संगठन जान्छ, घटी हुँदा फलानो भन्ने त हुँदैन होला। यसमा विवाद नगरी स्ववियु चुनाव छिटोभन्दा छिटो गर्नुपर्छ। बखेडा निकालिरहने हो भने फेरि पनि चुनाव हुँदैन।

देउवासँग त्रिविको याचना

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनका लागि सहयोग गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गरेको छ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तीर्थ खनियाँले गत शनिबार कांग्रेस सभापति देउवालाई भेटेर स्ववियु निर्वाचन गर्नका लागि सहयोग मागेको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।

कांग्रेस सभापतिमा निर्वाचित देउवालाई बधाई दिन उनको निवास बुढानिलकण्ठ गएको मौकामा उपकुलपति खनियाले विश्वविद्यालय स्ववियु चुनावको तयारीमा लागेको जानकारी गराएका थिए। स्ववियु चुनाव गर्न आफ्नो पार्टी र नेपाल विद्यार्थी संघले सहयोग गर्ने आश्वासन सभापति देउवाले दिएको पौडेलले जानकारी दिए।  

देउवाले स्ववियु चुनावका लागि तयार संगठनलाई राख्न नेविसंघलाई निर्देशन दिइसकेका छन्। नेविसंघका पूर्व अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले देउवाको निर्देशन अनुसार मातहतका संगठनहरुलाई तयार राखिएको बताए। 'सभापतिले चुनावमा जाने विषयमा कुनै जटिलता रहे नरहेकोबारे सोध्नुभएको थियो', पौडेलले भने, 'मैले कुनै समस्या छैन भनेपछि उमेरहद सहित मानेर तयारी लाग्न आग्रह गर्नुभएको छ।' 

सहमति खोज्न संयुक्त छलफल

स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनहरुबीच सहमति बनोस् भन्ने हेतुले त्रिविले यसैसाता संयुक्त छलफल बोलाएको छ। स्ववियु निर्वाचका विषयमा सहमति जुटाउन चैत १२ गते विद्यार्थी संगठनका अध्यक्षहरुलाई संयुक्त छलफलमा बोलाएको त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीले जानकारी दिइन्।

यसअघि विद्यार्थी संगठनहरुसँग पटक पटक अलगअलग छलफल भएको उल्लेख गर्दै उनले यसपटक सबै विद्यार्थी संगठनको नेतृत्वलाई संयुक्त छलफलमा डाकेको बताइन्। शिक्षाध्यक्ष त्रिपाठीका अनुसार मधेसकेन्द्रित दल निकट विद्यार्थी संगठनबाहेक अन्य संगठन स्ववियु चुनाव गर्ने विषयमा असहमत नभएको जानकारी दिइन्। सबैलाई एकै ठाउँमा राखेर निर्वाचन मिति, निर्वाचन प्रणाली र उमेर हद लगायतका विषयमा छलफल गरी सहमति जुटाउन प्रयास गरिने उनले बताइन्।

शिक्षाध्यक्ष त्रिपाठीका अनुसार स्ववियु निर्वाचनको मिति तोक्न विश्वविद्यालयलाई त्रिवि सभाले म्यान्डेट दिनुपर्छ। 'त्रिवि सभा चैत अन्तिम सातासम्म बस्ने तयारी छ। कुलपतिले अध्यक्षता गर्नुपर्छ। हामीले उहाँसँग समय लिएका छैनौँ। तर चैतको अन्तिमसम्ममा सभा बस्ने गरी तयारी थालेका छौँ', उनले भनिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell