PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

होइन, सार्क सम्मेलन सुरु भएको छैन, रिहर्सल पो त !



होइन, सार्क सम्मेलन सुरु भएको छैन, रिहर्सल पो त !

  • पहिलोपोस्ट-
काठमाडौँ : सार्क शिखर सम्मेलन बुधबार बल्ल सुरु हुँदैछ। तर अध्यक्षको कुर्सीमा प्रधानमन्त्री सुशील कोइराला नै बसेको फोटो देख्दा सम्मेलन सुरु भइसक्यो झैँ भान हुनसक्छ। 

वास्तवमा यो फोटो प्रधानमन्त्रीसहितको टोलीले सार्क सम्मेलन स्थलमा अवलोकन र रिहर्सलका सहभागी हुँदाको हो। अवलोकन क्रममा प्रधानमन्त्रीलाई कुर्सीमा नै राखिएको थियो।  

बुधबार सुरु हुने शिखर सम्मेलनमा कोइराला सुरु मै अध्यक्षको कुर्सीमा भने हुने छैनन्। उद्घाटन सत्रमा माल्दिभ्सका राष्ट्रप्रमुख अब्दुल्लाह यामिनले नेपाललाई अध्यक्षता हस्तान्तरण गरेपछि बल्ल कोइराला यो कुर्सीमा हुनेछन्।  

उद्घाटनका बेला मन्चमा केवल नौ जना मात्र हुनेछन्। मन्चमा सुरक्षाकर्मीहरु समेत रहने छैनन्। सार्कका महासचिव अर्जुनबहादुर थापासहित सबै आठ सदस्य राष्ट्रका प्रमुखहरु मात्र मन्चमा बस्नेछन्। महासचिवका लागि छेउमा बेग्लै कुर्सी राखिएको छ। 

उद्घाटनमा सबै राष्ट्रप्रमुखहरुले शुभकामना मन्तव्य दिनेछन्। 



आजै काठमाडौँका विभिन्न स्थानमा पनि ट्राफिक प्रहरी र सुरक्षाकर्मीले रिहर्सल गर्दा सर्वसाधारणले हैरानी व्यहोर्नु परेको थियो। 

रिहर्सलमा कमजोरी

विशिष्ट अतिथिलाई सभागृहमा नेपालका प्रधानमन्त्रीको स्वागत, उनीहरुलाई सभागृहसँगै भर्खंरै निर्माण गरिएको नयाँ भवनमा प्रवेश र त्यहाँ केही समय विश्राम गराई सम्मेलनस्थलभित्र लैजाने रिहर्सलमा प्रधानमन्त्री कोइराला सहभागी भएका थिए।

यसअघि नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा स्वागत गर्ने क्रममा मन्त्रीले प्रधानमन्त्रीलाई तानेको अशोभनीय दृश्य देखिएको थियो। 

सम्मेलनस्थल सभागृहमा विशिष्ट अतिथिको सवारी प्रवेशको रिहर्सलमा आज कमजोरी देखिएपछि पुनः दोस्रो पटक रिहर्सल गर्नुपरेको थियो। 
सोल्टी होटलदेखि सभागृहसम्मको सवारीको क्रममा सभागृह प्रवेश गर्ने रिहर्सलमा सामन्जस्यता नमिल्दा बाहिर रहनुपर्ने सवारीसाधनभित्र गएको र भित्र जानुपर्ने सवारीसाधन बाहिर रहेपछि दोस्रो पटक पूर्वाभ्यास गरिएको हो।

दोस्रो चरणको रिहर्सलमा होटल सोल्टीबाट सवारी आउनुपर्नेमा नजिकैको सिंहदरबारबाट सवारी आवागमनको व्यवस्था मिलाई अभ्यास गरिएको थियो ।

त्यस्तै, विशिष्ट पाहुनालाई सभागृहबाट राष्ट्रपति कार्यालय शीतलनिवास लैजाने प्रक्रियाको पनि आज रिहर्सल गरिएको थियो। 

प्रधानमन्त्री कोइराला बिहान ९ बजेदेखि सभागृहमा स्वागतको रिहर्सलमा सहभागी थिए। उनले पूर्वाभ्यास र अनुगमनमा करिब तीन घन्टाको समय व्यतित गरे। राससको सहयोगमा


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell