PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'पिक आवर'मै 'रिहर्सल'का नाममा यात्रुलाई हैरानी



'पिक आवर'मै 'रिहर्सल'का नाममा यात्रुलाई हैरानी

काठमाडौँ : सार्क शिखर सम्मेलनका लागि सरकारले बुधबार र बिहीबार मात्रै सार्वजनिक विदा दिए पनि रिहर्सलका नाममा यात्रुले आजैदेखि हैरानी भोग्नु परिरहेको छ। 

त्यसै पनि आजैदेखि जोरबिजोर प्रणाली लागू भएका कारण निजी तथा सार्वजनिक सवारी साधनको चाप पातलिएको छ। नियमित कामका लागि बिहान हिँडेका यात्रुहरु त्यतिबेला अचम्ममा परे, जब 'पिक आवर'मै सहरका मुख्य स्थानमा लामो जाम भोग्नुपर्‍यो। 

पिक आवरकै साइत पारेर प्रहरीले आज रिहर्सल गरेपछि सर्वसाधारणले सार्क सम्मेलन अगावै हैरानी भोग्न बाध्य भएको हो। 

ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार रिहर्सलका लागि कारकेडसहितको अभ्यास टोली बिहानको पिक आवरमा  विमानस्थलबाट कालिमाटीको सोल्टी होटलका लागि प्रस्थान गरेको थियो। त्यसअगावै विमानस्थलदेखि कालीमाटीसम्मको सडक पूरै खाली गराइएको थियो। 

बल्खु र कीर्तिपुरबाट आएका सवारी साधन कालिमाटी चोकमा रोकिँदै।

सिनामंगल, भक्तपुरबाट आएका गाडी तिनकुनेमा, बानेश्वर, माइतिघर, थापाथली, पाटनबाट आएका गाडी त्रिपुरेश्वरमा, कलंकीबाट हिँडेका गाडी सोल्टीमोडमा, कीर्तिपुर, बल्खुबाट हिँडेका गाडी कालिमाटी चोकमा रोकिएका थिए। 

आज दिनभर अन्य रुटमा पनि रिहर्सल गरिने जानकारी ट्राफिक प्रहरीले दिएकोले यात्रुलाई हैरानी हुने निश्चित छ। 

भोलिदेखि भने विशिष्ट पाहुनाको आगमन सुरु हुने हुनाले हैरानी जारी रहनेछ। 

कालिमाटीको खाली सडक। 

जोरबिजोर प्रणाली आजदेखि

काठमाडौँ उपत्यकामा आजदेखि जोरबिजोर प्रणाली लागू गरिएको छ। आज जोर नम्बर प्लेटका सवारी साधनहरु मात्रै संचालन भइरहेका छन्। पर्सि १० र १२ गते जोर नम्बर भएका सवारी साधन मात्रै संचालन हुनेछन् । भोलि र ११ गते भने बिजोर नम्बरका सवारी साधन संचालन हुनेछन्।

सार्वजनिक भाडाका बस, ट्रक तथा निजी कार, जीप, मोटरसाइकल लगायतका सवै सवारी साधनहरु जोरबिजोर नम्बरका आधारमा संचालन हुने भएको  छ । सवारी साधनको पछिल्लो एउटा नम्बरको आधारमा जोर र बिजोर छुट्याइनेछ।

आज पहिलो दिन यो नियम नमान्नेलाई चोकचोकमा बसेका सुरक्षाकर्मीहरुले जताबाट आएको हो उतै फर्काउने गरिरहेका छन्। भोलिदेखि भने जरिवाना सुरु गरिनेछ 

बसपार्क आजदेखि बन्द

सार्क शिखर सम्मेलन अवधिभर पुरानो बसपार्कभित्र हुने पार्किङलाई हटाइएको छ।  सार्वजनिक भाडाका वस, माइक्रो तथा अन्य सवारी साधनहरुलाई उपत्यका भित्रिने विभिन्न अन्य स्थानहरुमा अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ।
   
बनेपा तथा भक्तपुरतर्फ चल्ने सवारी साधनहरुलाई जडीबुटीमा, फर्पिङ्ग भएर चल्ने सवारी साधनलाई टियु गेटमा, थानकोटतर्फ चल्ने सवारी साधनलाई ढुङ्गेअड्डामा, बौद्ध, जोरपाटी, नारायणटार चल्ने सवारी साधनहरुलाई सानो गौचरणमा र नारायणथान, मण्डिखाटारतर्फ चल्ने सवारी साधनहरुलाई लैनचौरमा अस्थायी पार्किङ्स्थल बनाई आवत जावतको व्यवस्था मिलाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

त्यसैगरी दुध, पानी, ग्याँस, तरकारी, पेट्रोलियम पदार्थ लगायतका सवारी साधनहरुलाई राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र संचालन गर्न सम्बन्धित निकायसँग समन्वय गरिएको छ।
 
उपत्यका भित्रने लामो दुरीका सवारी साधनहरु पनि रिङ्गरोडभित्र प्रवेश गर्न नपाउने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

८ गते देखि १२ गते सम्म सञ्चालन हुने भाडाका सवारी साधनले लामो समय सम्म रोक्न तथा पार्किङ्ग गर्न नपाउने र तोकिएको बस बिसौनीबाट मात्रै यात्रुलाई पिक एण्ड ड्रप गर्नुपर्ने व्यवस्था गरिएको छ । 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell