PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नझुक्किनुस्, यो काठमाडौँ नै हो



नझुक्किनुस्, यो काठमाडौँ नै हो

  • मनोज सत्याल-
काठमाडौँ : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनका लागि सरकारले राजधानीका मुख्य सडक र कुटनीतिज्ञहरु आवातजावत गर्ने स्थानहरुको 'मेकअप' गरेको छ। राजधानीमा सार्कलाई मध्यनजर गर्दै लोडसेडिङ समेत रोकिएको छ।

सार्कको तयारी अवलोकनका लागि निस्किएको पहिलोपोस्ट टिम गएराति सडकमा निस्कँदा राजधानी झकमक्क बलेको थियो। हेर्नुस् भिडियो रिपोर्ट-



घण्टाघर यसअघि कहिल्यै नदेखिएको रङ्गीन बत्तीले सिङ्गारिएको थियो।


सार्क सम्मेलन स्थल राष्ट्रिय सभा गृह बेहुली झैँ सिँगारिएको थियो।

दिउँसो थोत्रा र धुवाँ उडाउने गाडी,अनियन्त्रित पार्किङ गरिएका सार्वजनिक सवारी साधन र जथाभावी कुद्ने गरेका मोटरसाइल राती ठप्प प्राय देखिए। बरु सोही स्थानमा सोलार बत्तिले उज्यालो सडक र सिङ्गारिएको र ब्यवस्थित शहर देखियो। 
सार्कको मूल समारोह हुने राष्ट्रिय सभा गृह अगाडिको प्रदर्शनी मार्गको सडक फराकिलो र उज्यालो देखियो। सडकमा बिचमा डिभाइडरको रुपमा राखिएको 'क्याटआइ'को चमकले सडक सानदार देखिएको छ। भवनमा राखिएको उज्यालो बत्तिले भवनलाई नयाँ दुलही जस्तो देखाएको छ। भवनको गेट अगाडि गमला राखिएका छन् भने भित्र पनि झकिझकाउ पारिएको छ।

राजधानीमा रात्रीकालिन सुरक्षा समेत मजबुत बनाइएको छ। राती सेनाहरु हतियार सहित गस्तिमा थिए। पहिलोपोस्ट टिम फोटो खिच्न लाग्दा हरेक स्थानमा आएर सुरक्षाकर्मीहरुले सोधपुछ गरेका थिए।

राजधानीकै अरु समय थोत्रा सवारी पार्किङ गरिने स्थान बनेको पुरानो बसपार्क सम्पूर्ण रुपमा खालि गरिएको छ। उक्त क्षेत्र सम्मेलनका दौरान सवारी पार्किङका लागि समेत प्रयोगमा आउने गरी तयार गरिएको छ।

राजधानीको आन्दोलनका कारण कुरुप बनेको माइतिघर मण्डला यतिबेला सबैभन्दा सुन्दर देखिएको छ। रात्रिकालीन समयमा मण्डलालाई चम्किलो देखाउन लाइट जडान गरिएको छ।
सिंहदरबार अगाडिको गेट मर्मतपछि भव्य  देखिएको छ। तर सिंहदरबारको मूलगेट अगाडिकै फूटपाथ निर्माणको काम भने अझै सकिएको छैन। त्यहाँ नयाँ गमलाहरु राखिएका छन्। सिंहदरबार अगाडि सिंहदरबारको सालिक समेत रङ्गरोगनपछि जीवित देखिएको छ।

एयरपोर्ट अगाडि रातारात ठूला रुखहरु समेत रोपेर बगैँचा बनाइएको छ। एयरपोर्ट क्षेत्रमा सोलार बत्ती जडान गरिएको र सडकको मर्मत सुधार गरिएको छ।








बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा सुरु गरिएको बाटो फराकिलो बनाउन चलाइएको अभियानको सार्थक रुप अहिले बानेश्वरको सडकमा देखिन्छ। 

तर राजधानीको ठमेल र विश्व सम्पदाको सुचीमा परेको दरबार स्क्वायर क्षेत्र भने यसपटक वेवास्तामा परेको देखिए। दरबार स्क्वायर क्षेत्रमा रङ्गरोगन भएका छैनन्। पुर्ननिर्माणका काम समेत जारी छ।

रिपिच गरिएका राजधानीका सडकमा डिभाइरका लागि रङ्ग लगाउने काम भने जारी छ।

काठमाडौँ आफैँमा सुन्दर सहर भएपनि सार्कका बेला गरिएको मेकअप नउत्रिएला र रोपिएका फूलहरुमा पानी हाल्ने काम जारी रहला भन्नेमा शंकै छ।













यो पनि हेर्नुस्-
​औँशीको कालो रातमा उज्यालिएकी काठमाडौँ (ब्लग)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell