PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

औँशीको कालो रातमा उज्यालिएकी काठमाडौँ



औँशीको कालो रातमा उज्यालिएकी काठमाडौँ

  • ऋषिकेश दाहाल-
काठमाडौं : 'महानगर भए पनि काठमाडौंका रातमा औंशीको अनुभव। दुकानहरु सम्साँझै बन्द। सडक उस्तै बेहाल: खाडल र अँध्यारो।' कालो काठमाडौं कटु यथार्थ भोगेका हामी यो सहरको फेरिएको रुप हेर्न तयार थियौं।

पछिल्लो एक महिनामा दिनमा काठमाडौंको रङ फेरिएको छ। कतिले 'कस्मेटिक' नै भनेका होलान् तर रुप त फेरिएकै हो। दिनको उज्यालोमा देखिने काठमाडौंको रुप औंशीको अध्यारोमा कस्तो हुन्छ त ? पहिलोपोस्टका सहकर्मी राजधानीको रात हेर्न तयार भए।

निन्द्रा प्यारो कसलाई हुन्न ? तर अनिदो हुने रहर हामी सबै साथीमा जागिसकेको थियो। एउटा गाडीमा अटाउन सकेनौं। दुई गाडीभरि खाँदिएर रातभर काठमाडौंको रुप नियाल्न तयार भयो टीम पहिलोपोस्ट।

दरबारमार्ग राजधानीको रंगिन हुने थोरैमध्येको ठाउँ हो। यहीबाट सुरु भयो यात्रा। यात्रुहरु उमेश श्रेष्ठ, रविराज बराल, अनन्त कोइराला, मनोज सत्याल, कविराज लम्साल, अंगद ढकाल।

दरबारमार्गबाट घन्टाघरतिर पाइला सार्दासार्दै सडक पेटीमा गाडिएको फलामे बारमा आगोका झिल्काहरु उछिट्टिँदै थिए। वेल्डिङमा जुटेका मजदूरहरु सडक सुरक्षित पार्न तल्लिन थिए। यतिखेरै घन्टाघरले घन्टी ठोक्यो टिङ टिङ टिङ…।

रातको ९ बजेको रहेछ।

घन्टाघरबाट बागबजार-रत्नपार्क चोकमा अडिएर हेर्दा फेरिएको राजधानीको रुप प्रस्ट देखिन्थ्यो। नारायणहिटीदेखिको झिलमिल भद्रकालीसम्म तन्किँदै गएजस्तो देखिन्थ्यो। सडकमा थपिएका नयाँ सोलार बत्ती र भर्खरै कालोपत्रे गरिएको सडक। त्यसमाथि सेतै पारेर लिपिएको रोड डिभाइडको संकेतले काठमाडौंलाई वैशालु बनाएको अनुभूति हुन्थ्यो।

पुरानो बसपार्क पूरै रित्तो। दिउँसो गाडीको कोलाहाल हुने ठाउँमा हामी पुग्दा सुरक्षाकर्मीहरु हामीतिर आइसकेका थिए। सुनसान रातमा बसपार्क पुगेको 'हुल'प्रति सशंकित हुनु स्वभाविकै थियो। हामीमाथि चासो राख्दा राजधानीको रातको सुरक्षा अलर्ट कस्तो छ भन्ने खुटिन्थ्यो।

सधैँ देखेको सभा गृह राति फरक थियो। तिहारभन्दा चर्को हुने गरी बत्तीको झिलिमिलीमा डुबेको यो सभा गृह त्यही जुत्ता मेला भइरहने महानगरपालिकाको भवन भन्नै नमिल्दो थियो। भित्र कामदारहरु सक्रिय थिए। 'हाकिमै आए पनि भित्र छिर्न नदिनू भनेका छन्,' गेटमा खटिएका सुरक्षाकर्मीले सुनाए। धपक्क बलेको सभा गृह सार्क सम्मेलनले काँचुली फेरेको थियो।

भर्खरै कालोपत्र भएको प्रदर्शनी मार्गको सडकको मध्य भागमा डिभाइडर बत्ती (क्याट्स आइ) आँखा झिम्क्याइरहेका थिए।

१० बज्यो, भोक लाग्यो।

सुन्दरताको परख गर्नेक्रममा भोकाएका हामी सुन्धारातिर लाग्यौं। पेटभरि भात हसुरियो। भर्खरै औंशी सकिएको अनि पूर्णेको दिन पनि टाढा। कालो चुक घोप्ट्याएको आकाशमुनि जगमगाउँदै गरेको काठमाडौं। हामी काठमाडौंको पुरानो रुपसँग यसको वैशालु रुप खोजिरहेका थियौं न कि समृद्ध सहरसँग तुलना।

सुन्धाराबाट कलंकीसम्म पुग्दा मनमा थोरै ठेस लाग्यो। रुपवती काठमाडौंको मायालाग्दो स्वरुप सोल्टी मोडबाट कलंकीतिर लाग्दा खिस्रिक्क लाग्दो रहेछ। सडक बत्तीले साथ छाडेपछि उही कालो काठमाडौँ।

११ बज्दा फेरि वीर अस्पतालकै छेउमा तम्तयार ट्रमा सेन्टर पुगियो। ट्रमा सेन्टरमा प्राण भरिने तयारी भएकाले यहाँ पनि कामदारहरु सक्रिय थिए। बाहिरैदेखि झिलमिल बत्ती सजिएका। त्यो बत्तीकै मुनितिर दुईजना सुतिरहेका भेट्दा खल्लो लाग्यो। उज्यालिएको काठमाडौंको खुला आकाशमुनि मन अमिलो बनाउनुपर्ने दृष्यले हामीलाई नमिठो अनुभूति दिलायो। तर, यथार्थ यही हो। जतिसुकै चहकिलो भए पनि चन्द्रको मुहारमा दाग।

मध्यरातमा हामी लाग्यौं माइतीघरतिर। केशव स्थापितले घर र छाप्रा नहटाउँदासम्म अहिलेको मण्डलामा धेरैपटक मोटरसाइकल पन्चर टालिएको थियो। दल बदल गर्दै (कु)नाम कमाएका स्थापितलाई यो पुस्ताले सडक विस्तार र मण्डला सुधारका लागि सम्झिरहने छ। हामीले पनि सम्झियौं – यस्तै सार्क सम्मेलन त थियो जसले माइतीघरमा मण्डला जन्मायो।

माइतीघरमा सडकको बनोट र बानेश्वरदेखि लामवद्ध राखिएका सोलार बत्तीले काठमाडौंको रुपको बखान गरिरहेको थियो। यहाँबाट हामी बिस्तारै लाग्यौं बानेश्वरतिर।

बानेश्वर हाम्रालाई केही तीतो ठाउँ बन्यो। रङ्गिन सडकको तस्बिर लिँदै गर्दा हामी सडक दुर्घटनाको साक्षी बन्न पुग्यौं। मोटरसाइकलमा आएका एक जोडी कारको ठक्कर भोग्न बाध्य थिए। संविधान सभा भवनको दक्षिणी गेट अगाडि दुर्घटना भएकाले होला प्रहरी दुई मिनेट पनि नलाग्दै पुग्यो। सवारी दुर्घटनाको कुरुप घटनामा हामी भाग्यमानी दर्शक बन्यौ; मोटरसाइकलमा रहेका दुवै सकुशल रहेछन्।

रत्नपार्कमा सेनाको टुकडी हिँडेको देखेका थियौं, बानेश्वरमा पनि देखियो यस्तै दृष्य। सुरक्षा कुन तहमा भइरहेछ भन्ने अनुमान लगाउन हामीलाई रत्तिभर पनि समय लागेन। यहाँबाट सिनामंगल पुग्दा सडकमा सेता धर्का कोर्नेहरु काममा जुटिरहेका थिए। उनीहरु डोरी तन्काउँदै सेता धर्का कोरिरहेका थिए। एकैछिन उनीहरुको कामले हामीलाई अल्मल्यायो। लाग्यो : परेपछि रातको अँध्यारोले कर्मशील हात रोक्दैन रहेछ।
विमानस्थल बन्द भइसक्दा हामी एयरपोर्ट पुग्यौं। विमानस्थल बाहिरको दृष्यले हामीलाई तान्यो। बगैचा, विरुवा र वातावरण। अहो ! यही थियो विमानस्थल छिर्ने ठाउँ ? शंकै लाग्यो।

महानगर भए पनि छिटै निदाउँछ यो सहर। १ बज्दा चियाको तलतल मेटाउन दिन्न। प्रस्ताव आयो 'केएमसी'। प्रहरी बिउँझिन्छन् सुरक्षा पाएका हुन्छौं। डाक्टर बिउँझिँदा उपचार। उपचार पाउने थलोमा गएर एक एक कप चिया पिएपछि हामी दुई ग्रुपमा हिड्यौं आफ्नै सुरमा।
२ बज्दा फेरि माइतीघरतिर सेनाको लम्क्याइँ देखियो। काठमाडौंको सुन्दर रुपलाई धमिल्याउन सक्ने सम्भावना जहिले पनि छ। त्यसैका लागि उनीहरु रातमा जागै देखिए।

झिलमिलिएको राजधानीका अस्पतालहरुतिर पुग्दा खुसी हुनुपर्ने वातावरण देखियो: धेरै बिरामीको आउजाउ देखिएन। अस्पताल नजिकका मेडिकल जागै थिए। वसन्तपुर दरबार शान्त थियो।

राजधानीको रात अनि ठमेल। ठमेललाई नछोई राजधानीको रङ्गिन रात कहिल्यै पूरा हुन्न। ठमेल पुग्दा ३ बजेको थियो बिहान। ठमेल भर्खरै थाकेर ओइलाएको थियो। ठमेललाई भर्खर निन्द्रा परेको हुनुपर्छ भन्ने हाम्रो ठम्याइ रह्यो।

बिस्तारै गाडीहरु सडकतिर हुइँकिन थालेको आवाज आउन थाल्यो। हामीलाई लाग्यो कामदारहरु रातभर खटिएको काठमाडौं अब बिस्तारै उठ्दैछ। काठमाडौं उठेपछि कालो रातमा देखेको सुन्दर रुप फेरिने पक्का थियो। बिहानीको  किरणसँगै हामीले औशीको रातमा देखेको रुप फेरिने थियो। अरु उज्याला दिनमा काठमाडौं झेलेका हामी रातको सुन्दर रुप यतिछिट्टै मनबाट बिलाउन दिने मुडमा थिएनौं। पूर्वी आकाशतिर घामको लाली देखिनुअघि नै हामी आँखालाई विश्राम दिन चाहन्थ्यौं।

दूधका गाडी, पत्रिका बोकेका गाडी र मानिसहरुको मर्निङ वाक सुरु हुनैलाग्दा हामी सिरकभित्र रातकी काठमाडौं मनमा बोकेर गुटमुटिसकेका थियौं। सार्क सम्मेलनपछि पनि हामीले देखेको औंशीको रातको सुन्दर रुप हेर्न पाउने कल्पना गर्दै भाले बास्दा भुसुक्कै निदाइएछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell