PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आज पनि संसदमा उठ्यो पृथ्वी अँध्यारो हुने कुरा, सरकारलाई जानकारी दिन माग



आज पनि संसदमा उठ्यो पृथ्वी अँध्यारो हुने कुरा, सरकारलाई जानकारी दिन माग
फोटोः नारायण काफ्ले/ट्विटर

  • पहिलोपोस्ट-
काठमाडौँ : आज लगातार दोस्रो दिन एमाओवादी सभासदले छ दिन दिउँसै अँध्यारो हुनेमा गम्भीर चिन्ता देखाउँदै सरकारसँग जवाफ माग गरेका छन्। सामाजिक सञ्जालमा फैलिएको यो बकम्फुसे समाचारलाई गम्भीरताका साथ संसदमा उठाउने आजका सभासद् हुन्- जनकराज जोशी। 

जोशी गरिबी निवारण कोषका उपाध्यक्ष र राष्ट्रिय योजना आयोगका सचिव भइसकेका व्यक्ति हुन्। माधव घिमिरेलाई मुख्य सचिव बनाइएपछि उनले राजीनामा दिएका थिए। 

सरकारले मनोनीत गर्ने २६ जना सभासद्‍मध्ये एमाओवादीको कोटाबाट सिफारिश भएका जोशी पहिलो पटक संसदमा बोल्दै थिए। 

सोमबारको व्यवस्थापिका संसदको सून्य समयमा बोल्दै जोशीले भने, छ दिन सौर्य आँधीमा सरकारले ध्यान दिन आवश्यक छ। यसबाट के कस्तो प्रभाव पर्छ भन्ने जानकारी गराउनु पर्‍यो।

यसअघि आइतबार पनि एमाओवादी कै सभासद् अग्नि सापकोटाले बैठकमा समय लिएर बोल्दै सोधेका थिए, 'छ दिन पृथ्वी अँध्यारो हुनेबारे सरकारले के तयारी गरेको छ?' 

विगत केही दिनदेखि सामाजिक सञ्जालमा फैलिरहेको यो हल्लाको उत्पति कसरी भएको भन्ने बारे पहिलोपोस्टले शुक्रबारै ब्लग प्रकाशित गरिसकेको थियो। 

व्यंग्यात्मक वेबसाइट हज्लर्स डट कमले नासालाई व्यंग्यात्मक हिसाबले उदृत गर्दै बनाएको एउटा 'हावा' समाचारबाट यो हल्ला फैलिएको थियो। उक्त प्यारोडी समाचारमा कतिसम्म भनिएको छ भने, नासा प्रमुख चार्ल्स बोल्डेनले यो घोषणा गरेका हुन्। र, उनले सबैलाई शान्त रहन समेत भनेका छन्। दुई सय ५० वर्षपछिको यो सौर्य आँधीका कारण दुई सय १६ घण्टा पृथ्वी अँध्यारो हुने समाचारमा जनाइएको थियो।

समाचारको सत्यता परीक्षण नगरी नेपालकै कतिपय अनलाइनहरुले पनि यो समाचार प्रकाशित गरेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell