- रविराज बराल-
लामो समयदेखि नेपाली समाजमा प्रचलित यो कथन इन्टरनेट र सामाजिक सञ्जालको युगमा झन् सान्दर्भिक देखिन्छ। उदाहरणका लागि हालैको एउटा उदाहरण पर्याप्त छ।
गएका केही दिन नेपालका कतिपय समाचार पोर्टलले 'एक हप्ता पृथ्वी पूर्ण रुपमा अँध्यारो हुने' खबर प्रकाशित गरेपछि सामाजिक सञ्जाल पनि यस्तै खबरका लिंकले भरिएका छन्। कतिपय विदेशी अनलाइनहरुले समेत यो खबर प्रकाशित गरेका छन्।
खबरहरुका अनुसार १६ देखि २२ डिसेम्बर अर्थात आउँदो पुस १ गतेदेखि ७ गतेसम्म विश्वमा सौर्य आँधी आउनेछ र पृथ्वीसम्म आउने सूर्यको ९० प्रतिशत प्रकाश सौर्य आँधीका कारण छेकिनेछ र पृथ्वी पूर्णतया अँध्यारो हुनेछ। यस्तै सूचना र खबर पढेर होला कतिपय मानिसहरुले 'सात दिने अँध्यारोका योजना'समेत सार्वजनिक गरे।
सूचनाको तीब्र प्रसारण अर्थात 'स्पिड सेयरिङ' इन्टरने
सौर्य आँधी (सोलार स्ट्रोम) ले करिब एक हप्ता पृथ्वी अन्धकार बनाउने खबर पनि त्यसरी नै फैलियो इन्टरनेटभर। न यो खबर प्रकाशित गर्नेहरुले सूचनाको सत्यता परीक्षण गरे, न पढ्नेहरुले।
मिडिया साक्षरता भएका पाठक मिडियामा आएका सूचना परीक्षण गरेर सही वा गलत छुट्याउन सक्छन् तर अरुले सेयर गरेका समाचार लिंक वा अन्य सामग्री क्लिक गर्ने र हेर्ने बानी परेका धेरैजना त्यसो गर्न जान्दैनन् वा आवश्यक ठान्दैनन्। जसका कारण पाठकहरु गलत सूचनाको शिकार बन्छन्।
व्यंग्यात्मक वेबसाइट हज्लर्स डट कमले नासालाई उदृत (वास्तवमा यो व्यंग्यात्मक थियो) गर्दै बनाएको एउटा 'हावा' समाचारलाई विश्वास गर्दा अनलाइनहरुमात्र झुक्किएनन्, उनीहरुले पाठकलाई समेत 'उल्लु' बनाए।
उक्त प्यारोडी समाचारमा कतिसम्म भनिएको छ भने, नासा प्रमुख चार्ल्स बोल्डेनले यो घोषणा गरेका हुन् र उनले सबैलाई शान्त रहन समेत भनेका छन्। दुई सय ५० वर्षपछिको यो सौर्य आँधीका कारण दुई सय १६ घण्टा पृथ्वी अँध्यारो हुने समाचारमा जनाइएको थियो।
अलिकित बुद्धि पुर्याएको भए यो हल्लाबाट बच्न सजिलो थियो। अन्तरिक्षसम्बन्धि सूचना परीक्षणका लागि नासाको वेबसाइट छ। बेलाबेलामा नासाले औपचारिक रुपमा नै यस्ता सूचना प्रकाशित गरिरहेकै हुन्छ।
त्यस्तै जुन साइटमा यो समाचार प्रकाशन भयो, त्यसको 'हाम्रो बारे'मा स्पष्ट रुपमा यो व्यङ्ग्यात्मक समाचार राख्ने साइट हो भनिएको छ।
हज्लर्स त्यही वेबसाइट हो जसले इबोला भाइरसका कारण मृत्यु भएका एक व्यक्ति ब्युँतिएको खबर पनि प्रकाशित गरेको थियो। सामाजिक सञ्जालमा पनि यो चर्चाको विषय बनेको थियो।
यस्ता दर्जनौँ प्यारोडी तथा सटायरिकल वेबसाइट इन्टरनेटमा भेटिन्छन्, जसले पाठकलाई नभएको कुरालाई पनि हो जस्तै गरी सामग्री प्रकाशित गर्छन्। झन् 'द अनियन डट कम' जस्ता चर्चित समाचार प्यारोडी वेबसाइटको सामग्री प्रस्तुति त झन् पाठकलाई पत्याउन बाध्य पार्ने खालको हुन्छ।
कुरा समाचारको मात्र होइन, सूचनाको पनि हो। सूचना आफैमा सत्य नहुन पनि सक्छ। कतिपय सूचना सत्य भएपनि गलत नियतका साथ सम्प्रेषण गरिएका हुनसक्छन्। त्यसैले इन्टरनेटमा भेटिने सूचना वा जानकारीको सत्यता छ कि छैन भनेर पाठकले परीक्षण गर्नुपर्ने हुन्छ।
त्यसैले तपाईँ पनि कसैले कागले कान लग्यो भनेमा कागको पछि लाग्नु पहिला आफ्नो कान पो छाम्ने कि?