अपडेट : अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार विगत एक महिनादेखि पत्रकार लेखनाथ अधिकारीले औद्योगिक घराना मुरारका समूहका एक सदस्यलाई फेसबुकमा म्यासेज पठाएर धम्क्याएका थिए। उनले गएको मंगलबारभित्र २ करोड ५० लाख रुपैंया नदिए जे पनि हुनसक्ने भन्दै सन्देस पठाएका थिए।
मुरारकाले तीन साता अगाडि प्रहरीलाई जानकारी दिएपछि प्रहरीले फेसबुक पेजको अनुगमन सुरु गरेको थियो। अनुसन्धानमा नेपाल समाचार पत्र दैनिकको कार्यालय, एमनेष्टी इन्टरनेशनलको कार्यालय र एक साइबर क्याफेबाट धम्कीपूर्ण सन्देस पठाएको खुलेपछि यी तीनवटै कार्यालयमा प्रहरीले निगरानी बढाएको थियो। आइतबार अधिकारीको पहिचान र प्रमाण यकिन गरेपछि पक्राउ गरिएको थियो।
अधिकारी पक्राउ परेको जानकारी आए लगत्तै नेपाल पत्रकार महासंघका सभापति महेन्द्र विष्ट सहितको टोली अपराध महाशाखामा उनी पक्राउको कारणबारे बुझ्न गएका थिए। पत्रकार टोलीलाई प्रहरीले अधिकारीले पठाएको म्यासेजहरु नै देखाएपछि टोली निस्पक्ष अनुसन्धान होस् है भन्दै फर्किएका थिए।
*********************
काठमाडौँ : व्यापारिक घरानासँग फिरौतीका लागि फेसबुकबाट धम्क्याएको आरोपमा नेपाल प्रहरीको अपराध महाशाखाले पत्रकार लेखनाथ अधिकारीलाई आज पक्राउ गरेको छ।
अधिकारीले फेसबुकमा 'जनता नेपाल' नामको प्रोफाइल खोली औद्योगिक घराना मुरारका समूहका एक सदस्यसित दुई करोड ५० लाख फिरौती मागेको देखिएको महाशाखा स्रोतले जनाएको छ।

सोही प्रोफाइलबाट मेसेज पठाएर 'हामीले नै सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हत्या गरेका हौँ, पुलिसले हाम्रोबारे पत्ता लगाउन सक्दैन' भनेर समेत धम्क्याएको स्रोत बताउँछ।
न्यायाधीश बमको हत्याको कुरासमेत आएपछि उक्त व्यापारिक घराना र प्रहरीले यो मुद्दालाई गम्भीर रुपमा लिएको थियो।
दुई वर्षअघि सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई राजधानीको शंखमुलमा गोली प्रहार गरी हत्या गरिएको थियो। सो हत्याकान्डका दोषी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।
अपराध महाशाखाले अनुसन्धान गर्ने क्रममा 'जनता नेपाल' नामको प्रोफाइल पहिले व्यक्तिको नाममा खोलेको देखिएपछि त्यही क्लुलाई पछ्याउँदै अधिकारीसम्म पुगेको थियो। सो प्रोफाइलका अधिकांश 'फ्रेन्ड' पत्रकार रहेका छन्।
पत्रकार अधिकारी 'नेपाल समाचारपत्र'मा सह-सम्पादकका रुपमा कार्यरत थिए। एमनेस्टी इन्टरनेसनलसित पनि आवद्ध उनलाई प्रहरीले आज एमनेस्टीकै काठमाडौँस्थित कार्यालयबाट नियन्त्रणमा लिएको थियो।
नेपालमा साइबर क्राइमसम्बन्धी अलग्गै कानुन नभएको हुनाले प्रहरीले यस्ता मुद्दामा विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कारबाही गरी मुद्दा चलाउन सिफारिश गर्ने गर्छ। दफा ४७ मा यस्ता अपराधमा बढीमा ५ वर्षसम्म कैद गर्न सकिने प्रावधान छ।
यसैबीच साइबर क्राइमसँग सम्बन्धित विषयमा छानबिन गर्न पक्राउ परेका अर्का पत्रकारलाई थुनामा राख्नुपर्ने कारण पत्ता लगाई न्यायिक छानबिन गर्न नेपाल पत्रकार महासंघले आज विज्ञप्ति जारी गरेको छ।
स्पाइवेयर सफ्टवेयर प्रयोग गरेर कार्यालयको अन्य कम्प्युटरमा आफ्नो सहयोगीले गर्ने पत्राचार इमेल लगायतका जानकारी, महत्वपूर्ण र गोप्य सरकारी विवरण तेस्रो पक्षलाई पठाउने गरेको अभियोगमा प्रहरीले स्वास्थ्य मन्त्रालयको एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, कन्ट्री कोअर्डिनेसन मेकानिजम सचिवालयका प्रमुख गोकर्णप्रकाश भट्टलाई पक्राउ गरेको थियो।
उनी नेपाल पत्रकार महासंघ, ललितपुर शाखाका सदस्य पनि हुन्। महासंघका महासचिव उजिर मगरद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ- गोकर्ण भट्टलाई विद्युतीय कारोबार ऐनअन्तर्गत १० दिनदेखि थुनामा राखेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। महासंघ पत्रकार भट्टलाई थुनामा राख्नुपर्ने कारण पत्ता लगाई न्यायिक छानबिन गर्न आग्रह गर्दछ।
सम्बन्धित समाचार
स्वास्थ्यका हाकिमलाई गोप्य सरकारी सूचना चुहाएको अभियोग
