काठमाडौँ : स्वास्थ्य मन्त्रालयको एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, कन्ट्री कोअर्डिनेसन मेकानिजम सचिवालयका प्रमुख गोकर्णप्रकाश भट्टमाथि गोप्य सरकारी सूचना असम्बन्धित ब्यक्तिलाई दिएको अभियोग लागेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले भट्टलाई स्पाइवेयर सफ्टवेयर प्रयोग गरेर कार्यालयको अन्य कम्प्युटरमा आफ्नो सहयोगीले गर्ने पत्राचार इमेल लगायतका जानकारी, महत्वपूर्ण र गोप्य सरकारी विवरण तेस्रो पक्षलाई पठाउने गरेको अभियोग लगाएको छ।
सचिवालय मलेरिया, एड्स र क्षयरोगका लागि आउने ग्लोबल फन्ड लगायतको अन्तराष्ट्रिय दातृ निकायसँग समन्वयको काम गर्ने सरकारी निकाय हो।
१० दिनको अनुसन्धानपछि ब्युरोले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा भट्टले गरेको कसुरहरु खुलाउँदै उनले आफू प्रमुख रहेको सरकारी कार्यालयको महत्वपूर्ण गोप्य जानकारीहरु चुहाएको दावी गरेको छ।
ब्युरो स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयबाट कार्यालयमा आएका इमेलहरु हराउने गरेको र गोप्य सूचनाहरु चुहिने गरेको सूचनाको आधारमा असार ३२ बाट ब्युरोले अनुसन्धान शुरु गरेको थियो।
ब्युरोको प्राविधिकले कार्यालयमा गएर कम्प्युटरको हार्डडिस्क लगायतका सामाग्रीहरु नियन्त्रणमा लिएर जाँच गर्दा स्पाइवेयर रहेको फेला पारेको थियो।
अनुसन्धानमा भट्टले स्पाइवेयरमार्फत् आफ्नो सहयोगीको इमेल र पासवर्डसमेत पत्ता लगाएर उनको इमेलमार्फत् तेस्रो पक्षलाई कार्यालयको महत्वपूर्ण जानकारीहरु पठाइदिने, आएका इमेल डिलेट गरिदिने लगायतका गतिविधि गर्ने गरेको खुलेको ब्युरोका एक अधिकारीले जानकारी दिए।
व्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको विवरणमा उनले कार्यालयको महत्वपूर्ण जानकारी र ब्यक्तिगत गोपनीय तथ्य संकलन गरेर तेस्रो पक्षलाई पठाएको दावी गरिएको छ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार उनले ग्लोबल फन्ड अर्न्तगतका परियोजना र स्वास्थ्य मन्त्रालयको गोप्य जानकारी यही क्षेत्रमा काम गर्ने अन्य गैर सरकारी संस्थाका प्रतिनिधिलाई उपलब्ध गराएर मोटो आर्थिक लाभ लिएको आशंका गरे पनि इमेल विवरणहरु सबै डिलिट गरेकाले प्रमाण भने फेला परेको छैन।
विश्वस्त स्रोतका अनुसार प्रहरी बयानमा उनले स्पाइवेयर राखेर आफू मातहतका कर्मचारीको गतिविधिबारे निगरानी राखेको स्वीकार गरेका छन्। उनले आर्थिक प्रलोभनका लागी नभई आफूविरुद्ध कार्यालयबाटै विभिन्न सूचना बाहिरिएकाले सो काममा को संलग्न रहेछ भन्ने थाहा पाउन यस्तो गरेको दावी गरेका थिए।
असार ३२ गते पक्राउ गरेर अनुसन्धान थालेको व्युरोले भट्टलाई विद्युतीय कारोवार ऐन अनुसार कारवाही प्रकृया अगाडि बढाउन जिल्ला सरकारी वकिललाई सुझाव दिएको छ।
