PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

निर्मला प्रकरणः गाली बेइज्जतीको आरोपमा अनिता बमद्वारा वकिल र पत्रकारमाथि मुद्दा दायर



सविन ढकाल

निर्मला प्रकरणः गाली बेइज्जतीको आरोपमा अनिता बमद्वारा वकिल र पत्रकारमाथि मुद्दा दायर

काठमाडौँः १३ वर्षीय निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा आफूहरुलाई अनावश्यक रुपमा जोडेर गाली बेइज्जती गरेको भन्दै घटनामा मुछिएकी बबिता भनिने अनिता बमले गाली बेइज्जती मुद्दा दर्ता गरेकी छिन्। बिहीबार जिल्ला अदालत कञ्चनपुरमा बबिताले मुद्दा दायर गरेकी हुन्।

मुद्दामा कानुन व्यवसायी एवं मानव अधिकारकर्मी इन्द्रप्रसाद अर्यालसहित तीन जनालाई विपक्षी बनाइएको छ।

जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले मुद्दा दर्ता भएको बताए।

विपक्षी बनाइएका अर्याल नेपाल मानव अधिकार संगठन (ह्युरोन)  का अध्यक्ष हुन्। यस्तै मुद्दामा पत्रकार खेम भण्डारी र भक्ति फुलारालाई पनि विपक्षी बनाइएको छ।

अर्याल अध्यक्ष रहेको संगठनले स्थलगत अध्ययनपछि भन्दै सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो चरित्रहत्या गरेको दाबी बम दिदीबहिनीको छ। यस्तै स्थानीय मानसखण्ड दैनिकका सम्पादक भण्डारीले निरन्तर चरित्रहत्या गर्ने उद्देश्यले समचार प्रेसित गरेको दाबी उनीहरुको छ।

‘हामीमाथि नभएको आरोप लगाइयो। न्यायको लागि मुद्दा दर्ता गराएका हौँ' पहिलोपोस्टसँग बबिताले भनिन्।

मुद्दामा मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार चार लाख क्षतिपूर्ति र मुद्दाको खर्चबापतको खर्च ९० हजार रुपैयाँ समेत भराउन आदेशको माग गरिएको छ।

निर्मला प्रकरणमा ह्युरोनले स्थलगत अनुगमनबाट प्रारम्भिक प्रतिवेदन तयार पारेको थियो। (पढ्नुस् प्रतिवेदन) असोज १० गते सार्वजनिक गरिएको प्रतिवेदनमा दिदी बबिता बम ओपेरा होटलको डान्सबारमा डान्सरका रुपमा कार्यरत रहेको उल्लेख छ। बम काम गर्ने ओपेरा होटलमै घटना भएको दिन बर्थडे पार्टी भएको र घटनासँग सम्बन्धित केही मानिस पार्टीमा जम्मा भएको प्रतिवेदनमा भनिएको थियो।

तर प्रतिवेदनमा उल्लेख गरेजस्तो होटेलमा डान्सबार नभएपछि प्रतिवेदन गलत भएको भन्दै आलोचना हुन थालेको थियो।

प्रतिवेदनको सातौँ नम्बर बुँदामा बम दिदीबहिनीको छिमेकमा भैँसी ब्याउन लागेको र त्यहाँ मान्छे जम्मा भएको उल्लेख छ। र, त्यहाँ भेला भएका मानिसले नै त्यहाँ 'लाश/शव' भन्ने शब्द सुनेको उल्लेख छ। बिहान ४ बजेतिर त्यो घरमा ट्याम्पु/टुकटुक आएको पनि उल्लेख छ।

तर प्रतिवेदनमा भनिएका कुरा गलत भएको भन्दै बम दिदिबहिनीले कानुनी बाटो अपनाएका हुन्।

बमले मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीले आफूहरुको बारेमा आत्मनिष्ठ, भ्रामक, कपोलकल्पित र हाम्रो सामाजिक प्रतिष्ठामा आँच आउने खालको सामाग्री बारम्बार प्रकाशित गरेको दावी गरेकी छिन्। उनले अदालतमा दायर गरेको फिरादपत्रमा 'साउन ३० गतेको दैनिक मानसखण्डको अंकमा प्रकाशित ‘आज साँझ ब्ल्याक आउट’ शीर्षकको समाचारमा बम दिदीबहिनी र एस. पी डिल्लीराज विष्ट बीच सम्वन्ध रहेको र एस पि विष्टले बम दिदीबहिनीलाई निर्दोषिताको प्रमाणपत्र बाँड्दै हिंडेको भन्ने लगायत समग्र समाचारको सारमा हामी दिदीबहिनीलाई किटानी दोषी करार गर्ने आशयको समामचार प्रकाशित गरेको, त्यसपश्चात पनि विभिन्न अंकमा हामीलाई किटानी दोषीकै रुपमा उल्लेख गरि समाचार लेखेका र २०७५ भाद्र ६ गतेको अंकमा सम्पादकीय नै लेखी हामीउपर निराधार आरोप लगाएको' दावी गरेकी छिन्। 

त्यसैगरी प्रतिवादी बनाइएका तेस्रा व्यक्ति भूमि भन्ने भक्ति फुलराले आफनो फेसबुक खाताबाट  ‘फेसबुक लाइभ’ गरी आफूहरुको बारेमा तथ्यहीन भ्रामक र अनर्गल टिप्पणी गरी गोपनियता भंग हुने, भिड लाई आफूहरु विरुद्ध अपराध गर्न उक्साउने, तथा आफूहरुको बेइज्जति हुने अभिव्यक्ति दिएको,  ‘बम दिदी बहिनी अपराधी हुन्’ ‘निर्मलाको हत्याको दोषी ठहर भएका हुन्’ ‘बम दिदीबहिनीको कारणले नै निर्मलाको हत्या भएको हो’ ‘बम दिदीबहिनीको कारणले निर्मलाले मर्नुपरेको छ’ भन्ने जस्ता निराधार र कपोलकल्पित आरोप लगाएर बेइज्जती गरेको जिकिर गरिएको छ।  

गत साउन ११ गते निर्मला पन्तको शव नजिकैको उखुबारीमा भेटिएको थियो। ८ महिना वितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन।

घटना अनुसन्धानमा लापरबाही गरेको अभियोगमा आठ प्रहरीविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ। बुधबार कञ्चनपुर जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर भई बयान भइरहेको छ।

 

#WhoKilledNirmala शृङ्खला  

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?

शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन

शृङ्खला २० : जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो

 थप समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell