PahiloPost

Jul 6, 2022 | २२ असार २०७९

निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै (#WhoKilledNirmala शृङ्खला १६)    



पहिलोपोस्ट

निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै  (#WhoKilledNirmala शृङ्खला १६)    

  • उमेश श्रेष्ठ/स्वेच्छा राउत -
‘निर्मलाको हत्या १०० प्रतिशत बम कै घरमा भएको हो।'

यसरी शतप्रतिशत ठोकुवा गर्ने कर्ण गुरुङ नेपालमा भने छैनन्। देशमै नभए पनि उनी कसरी यस्तो निश्कर्षमा पुगे त?

एउटा युट्युब भिडियोको कमेन्टमा उनले लेखेका छन्, ‘म अहिले देशबाहिर छु। मैले पहिलेदेखि निर्मला पन्तको हरेक भिडियो नटुटाई हेर्ने गरेको छु। सात समुद्र पारीबाट मैले हरेक भिडियोको आधारमा सूक्ष्म रुपले अध्ययन गर्दा म पुलिस नभए पनि मैले धक्कु दिँदै आएको छु कि निर्मला पन्तको हत्या बम दिदीबहिनीकै घरमा भएको थियो।'

उनले सो कमेन्टमा आफ्नो आक्रोश यसरी पोखेका छन्- ‘तर नेपालमै रहेको त्यत्रो पुलिस फोर्सले खै पत्ता लगाउन सकेको? थुक्क नेपालको पुलिस प्रशासन निकम्मा।'

यो कमेन्ट नौलो आवाज नामक युट्युब च्यानलको भिडियोमा आएको हो। निर्मला पन्तसँग जोडिएको विभिन्न विषयलाई यसले भ्रमपूर्ण हेडलाइन र थम्बनेल दिएर राखेको छ। तीमध्ये एउटा भिडियोको शीर्षक छ, ‘निर्मला पन्तको हत्या बम दिदीबहिनीकै घरमा भएको खुलासा - लाश लिन ४ बजे टेम्पो आएको’ । थम्बनेलमा रातो रङको टेम्पोको समेत फोटो छ।



भिडियोमा नेपाल मानव अधिकार संगठन (ह्युरोन) का महासचिव महामुनिश्वर आचार्यले ह्युरोनले गरेको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन पढेका छन्। त्यसमा शीर्षकमा लेखिएजस्तो निर्मलाको हत्या बम दिदीबहिनीकै घरमा भएको खुलासा गरिएको छैन। प्रतिवेदनमा बिहान ४ बजेतिर त्यो घरमा ट्याम्पु/टुकटुक आएको भन्ने त उल्लेख छ तर यो ‘रे’हल्ला कसले सुनाएको हो, खुलाइएको छैन।  

कर्ण गुरुङलाई सात समुद्र पारी रहेर पनि नेपालको सुदूर पश्चिम प्रदेश, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा भएको एउटा घरमा नै हत्या भएको भन्नेमा कुनै शंकाको गुञ्जायस नहुने बनाउनमा युट्युबका यस्तै भिडियोको पनि भूमिका छ।
  
यही भिडियोमा आएका कमेन्टहरुले प्रष्ट पार्छन्, कसरी आम दर्शकलाई घटनाबारे गलत जानकारी दिन र हिट्स बटुल्न सम्भव छ भन्ने। दुई लाख ३० हजार हिट्स पाइसकेको भिडियोमा भीम विकले लेखेका छन्- ‘एसपी दिल्ली विष्टलाई जिउँदै जलाउनु पर्छ।'

यो प्रतिवेदनमा उल्लेख भएका केही तथ्य गलत रहेको स्वयं ह्युरोनकै अध्यक्ष ईन्द्र अर्यालले हाम्रो क्यामेरामा बताएका छन्। प्रतिवेदनमा बबिता बम ओपेरा होटलको डान्सबारमा डान्सरको रुपमा काम गर्ने उल्लेख गरिएको छ। तर, न ओपेरा होटलमा डान्सबार छ, न बबिता डान्सरकै रुपमा काम गर्छिन्। 


अर्यालले हामीलाई ओपेरा होटलमा डान्सबार नभएको बताए। तर, बबिता अर्कै होटलमा डान्सर रहेको दावी गरे। डान्सबारको नाम भने उनले बताउन सकेनन्।
 
प्रतिवेदनमा बम दिदीबहिनीको घर छेउमा भैँसी ब्याएको र साल नझरुन्जेल रुङ्गेर बस्नेहरुले त्यो दिन घरबाट लाश/शव भन्ने आवाज सुनेको, बिहान ४ बजे टेम्पो आएको उल्लेख गरिएको छ।
 
जबकि, हामी स्थलगत रिपोर्टिङका लागि त्यहाँ पुग्दा भैँसी एक वर्षअघि नै ब्याएको र टेम्पो आएको पनि नदेखेको छिमेकीहरुले बताएका थिए। 
तर, ‘झुट’ युट्युबबाट यसरी ‘सत्य’ का रुपमा स्थापित हुन पुग्यो कि सात समुद्र पारी बस्ने कर्ण गुरुङलाई मात्र हैन, धेरैको दिमागमा यही दृश्य स्थापित छ। 
  
यो रिपोर्ट तयार पार्दासम्म भिडियोमा २ सय भन्दा बढी कमेन्ट छन्। अधिकांशमा बम दिदीबहिनीहरुप्रति अश्लील, अपाच्य र हिंस्रक कमेन्ट गरिएका छन्। जबकि, भिडियोमा बम दिदीबहिनीलाई दोषी नै भनी ठहर गरिएको छैन।
 
टेम्पो आएको छ कि छैन? ‘रे’ को आधारमा प्रतिवेदन बनाइएको छ। तर भिडियो हेर्नेले कमेन्टमा ठोकुवा गरेका छन्- टेम्पो बम दिदिबहिनी र एसपी बाउछोरा, दुई डिएसपीले ल्याएको हो।
 
‘नेपाली मन’ नामबाट अर्को कमेन्टमा भनिएको छ- ‘सबै प्रमाण भएर पनि के घन्टाको भाषण गरेर बसेको? गएर समात न बम दिदीबहिनीलाई अनि दिल्लीराज विष्टलाई। बाँधेर चुट्दै तीनै जनालाई जिउँदै आगो लगाएर जलाउनु पर्छ, अनिमात्र निर्मला बहिनीको आत्माले शान्ति पाउँछ।'

'खुलासा' र 'रहस्य खुल्यो'

हामीले युट्युबमा निर्मला सर्च गर्दा भेटेका केही भिडियोका हेडलाइन यस्ता छन्-

•     ‘बाहिरियो यस्तो रहस्य- निर्मला पन्तलाई बलात्कारपछि झुण्डाएर मारेको खुलासा’
•    ‘१०५ दिनपछि निर्मला हत्याबारे बम दिदिबहिनीको यस्तो सनसनिपूर्ण खुलासा’
•    ‘कञ्चनपुर घटना: बल्ल पत्ता लाग्यो निर्मलाको हत्यारा। कान्छी आमाले खोलिन् रहस्य’ 

यी शीर्षक र थम्बनेल (भिडियो प्ले गर्नुअघि देखिने फोटो) देख्दा लाग्छ निर्मला पन्तको हत्यारा पत्ता लागिसक्यो। त्यस्तै संकेत गर्ने शीर्षक राखिएको भिडियोमा भ्युज हजार हैन, लाखौंमा छ।
 
बलात्कारपछिको हत्या प्रकरण चर्चामा आएसँगै निर्मला शब्दमा युट्युबरको आकर्षण बढेको छ। उनीहरुलाई सत्य र तथ्यसँग केही मतलब छैन। ‘निर्मला’ शब्द जोडिएसँगै आउने 'भ्युज' यसको कारण हो। निर्मलाकै नाम जोडेर शीर्षक राखिएका भिडियोहरु अधिकांश ट्रेन्डिङमा आए। धेरैले हेरेपछि ट्रेन्डिङ सूचीमा आउँछ। 
 
त्यसैले घटनासँग गोरु बेचेको साइनो नभएका भिडियोले पनि भ्युज कमाए। सिम्रन म्युजिक मुभी नाम गरेको युट्युब च्यानलले ‘निर्मला पन्तको बारेमा सर्ट मुभी’ नाम दिएर नाटकीय भिडियो पोस्ट गरेको छ, जसको कथावस्तु निर्मलासम्बन्धी सार्वजनिक कुनै पनि घटनासँग मेल खाँदैन। तर पनि भिडियोले तीन लाखभन्दा बढी भ्युज कमाएको छ।  

 

निर्मला पन्तको नाम जोडेर अपलोड भएका अधिकांश भिडियोका कन्टेन्ट वास्तविकता र तथ्यमा आधारित छैनन्। केहीमा सार्वजनिक फोटोहरु राखेर अडियो सामाग्री बनाइएको छ भने केहीमा अरु मिडियामा प्रकाशित समाचार वाचनमात्र छ।
 
सनसनीपूर्ण र आक्रामक  शीर्षकहरु राखिएका प्रायः भिडियोको हिट्स अरु भिडियोको तुलनामा बढी देखिन्छ। 
 
विराटनगर अनलाइन टिभीले ‘बाहिरियो यस्तो रहस्य - निर्मला पन्तलाई बलात्कारपछि झुण्डाएर मारेको खुलासा’ शीर्षक राखेर अपलोड गरेको भिडियोमा उनको पोस्टमार्टमको रिपोर्ट झुटो भएको ठहर गरिएको छ। तर, भिडियो हेर्दा भने ‘रिपोर्ट झुटो हुनसक्ने अनुमान’ मात्र छ। ‘हुन सक्छ’ र ‘अनुमान’को भरमा निस्कर्षसमेत तयार पारिएको भिडियो रिपोर्ट ३ लाखभन्दा बढी पटक हेरिएको छ। 
 

अझै पनि देशभर निर्मलाको हत्यारा पत्ता लगाउन दबाब दिने क्रम जारी छ। तर, दुई महिनाअघि नै स्पन्दन मिडियाले ‘निर्मला हत्याको नयाँ खुलासा: दुई दिदी बहिनीले गरे हत्याको खुलासा’ शीर्षक दिएर आफ्नो भिडियोको प्रचार गर्‍यो। तर, भिडियोमा निर्मलाको नभएर रामेछापमा भएको वृद्धको हत्याबारे जानकारी दिइन्छ। भिडियो क्लिपहरुमा भने काठमाडौंमा भएको दवाव र्‍याली र निर्मलाकी आमाले दिएको मन्तव्य राखिएको छ। 

निर्मलाको नामबाटै यो भिडियोले एक लाख ३३ हजारभन्दा बढी भ्युज कटाइसकेको छ।  



 

युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै

निर्मला बलात्कार र हत्या प्रकरणमा संलग्न भन्दै केही व्यक्ति शङ्काको घेरामा परे। निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता, मेयर सुरेन्द्र विष्टका भतिज आयुष र एसपी दिल्लीराज विष्टका छोरा किरण मुख्य तारो बने। अनुसन्धान जारी थियो। मुद्दा अदालतमा समेत पुगेको छैन। तर, केही युट्युबरहरुले आफ्नै इजलास तोकेर आफैले प्रमाण भेटेको दावी गर्दै उनीहरुलाई दोषी ठहर गरी भिडियो बनाउन भ्याए। 

एसके अनलाइन टिभी नामक च्यानलले ‘पहिलो पटक निर्मला हत्याकाण्ड बारे लिक भयो दिल्लीराजका बाबु छोराले गरेको अडियो’ शीर्षक दिएर अपलोड गरेको भिडियोमा भनिएको छ- भित्री कुरा यस्तो पो रहेछ। थम्बनेलमा ‘कालो कर्तुत यसरी बाहिरियो’ लेखेको देखेपछि घटनामा चासो राख्ने जो कोही आकर्षित हुनु र क्लिक गर्नु स्वभाविक हो। 



भिडियोमा अडियो त छ तर थम्बनेलमा लेखेजस्तो कुनै पनि कर्तुत बारे जानकारी वा प्रमाण छैन। धेरैले च्यानल सञ्चालकलाई गाली समेत गरेका छन्। 

श्यामनारायण चौधरीले लेखेका छन्- ‘च्याउ उम्रे झैं उम्रेका युट्युबेहरु निर्मलाको हत्यामा तिमीहरु पैसा झोला भरी कमाऊ, तर यदि साँचो समाचारदाता हौ भने साँचो समाचार मात्र निकाल।' 

‘यो भ्वाइस रेकर्ड अनुसार दिल्लीराज विष्ट र किरण विष्ट दोषी देखिँदैन त। कमाई खाने भाँडो मात्रै बनाउने होइन, सत्य समाचार दिनुहोस्।‘ 

तर, सबै दर्शक चौधरीजस्तै सचेत देखिँदैनन्। 

सञ्जु घलेले बम दिदीबहिनीलाई फाँसी हुनु पर्ने कमेन्ट लेखेकी छिन्। उनले जस्तै अधिकांशले बम दिदी बहिनीलाई सजाय दिनुपर्नेभन्दै अश्लील गालीसमेत गरेका छन्। 

सुबु मगर नामक प्रयोगकर्ताले त भिडियो डिसलाइक गर्ने सबै बलात्कारी हुन् भनेर ठहर गरेका छन्। लेख्छन्, ‘ती सबैलाई जेल चलान गर सरकार।’ 

निर्मलासित आत्मा र ज्योतिषको कनेक्सन

निर्मला जोडिएपछि जस्तो भिडियोको पनि भ्युज बढ्ने हुनाले युट्युबरहरुले 'आत्मा', 'ज्योतिषको भविष्यवाणी' भन्दै भिडियो बनाएका छन्।
 
‘निर्मला पन्तको आत्मा बोल्यो, यसरी बलात्कारीको नामै तोक्यो’ शीर्षकमा भ्वाइस अफ नेपाल नाम गरेको च्यानलले राखेको भिडियोमा दुबईबाट सबिता केसी भन्छिन्- 'म आज निर्मलाको आत्मा बनेर आएकी छु।' केहीबेर निर्मलाको हत्याबारे भूमिका बाँध्छिन् र कविता वाचन गर्न थाल्छिन्, जसमा बम दिदी बहिनीको घरमा के- के भएको थियो भन्ने घटना विवरण आफ्नै आँखाले देखे जसरी गरिएको छ।

त्यही कवितालाई ‘निर्मला पन्तको आत्माको व्यथा अहिलेसम्म भौँतारिँदै छ’ शीर्षक दिएर समेत राखिएको छ। यो भिडियोको थम्बनेलमा त निर्मलाको फोटोलाई फोटोसप गरी डरलाग्दो बनाइएको छ। कन्टेन्टमा पनि पटकपटक 'हरर फिल्म'को फुटेज र डरलाग्दा फोटाहरु देखाइन्छ।



पछिल्ला केही दिनमा निर्मलाको हत्यारासँग जोडेर ज्योतिषीको अन्तर्वार्ताको भिडियोले पनि युट्युबमा भ्यु कमाइरहेको छ। यस्ता भिडियोको शीर्षकमा अपराधीको नाम भन्न सक्छु भनिएको हुन्छ तर भिडियोभित्र भने त्यस्तो हुन्न। 

पीडाको व्यापार 

भारतमा आमिर खानको प्रोडक्सनले एउटा फिल्म बनाएको थियो- पिपली लाइभ। यसमा पिपली नामको गाउँका एक गरीब किसान ऋणको पीडा खप्न नसकेर आत्महत्या गर्ने निर्णयमा पुग्छन्। यो कुरा एउटा स्थानीय रिपोर्टरले समाचार बनाउँछ। त्यसपछि एउटा सनसनीपूर्ण आत्महत्याको खबर लाइभ प्रसारण गर्ने होडमा मिडियाका बटालियन नै त्यो गाउँमा तैनाथ हुन्छन्। मानवीय पीडालाई मिडियाले कसरी व्यापारको माध्यम बनाउँछ भन्ने मार्मिक चित्रण फिल्ममा गरिएको छ। 


अहिले युट्युबका केही भिडियो हेर्दा त्यसकै छनक आउँछ। परिवार पीडामा छ। अपराधी पत्ता लागेको छैन। न्यायका लागि दबाब जारी छ। युट्युबरलाई भने निर्मलाको न्याय भन्दा भ्युजकै बढी चिन्ता देखिन्छ। त्यसैले युट्युबका विभिन्न च्यानलले निर्मला पन्तकी आमा दुर्गादेवी पन्त, सौतिनी आमा लक्ष्मीकुमारी र दिदी मनिषा पन्तलाई क्यामेरा तेर्स्याउँदै गीत गाउन र कविता वाचन गर्न उक्साइरहेका छन्। 

छोरी गुमाएको पीडाले दिएको घाउ आलै छ तर निर्मलाकी आमा र उनकी सौता दुवैले गीत सुनाउँछन्। पब्लिक आवाज नामक च्यानलले ‘निर्मलाको सम्झनामा आमा र सानी आमाले गाए, सबैलाई धुरुधुरु रुवाउने गीत’ शीर्षकमा अपलोड गरेको भिडियोमा करिब दुई लाख हिट्स छ।
 

निर्मलाकी दिदी मनीषाले स्कूल ड्रेसमा आफ्नी बहिनीको लागि लेखेको कविता वाचन गरेको भिडियो पनि यसैगरी सार्वजनिक भयो।  त्यसपछि विभिन्न युट्युब च्यानल उनको पछि लागे र अन्तर्वाता र कविता वाचन गर्न लगाएर अपलोड गरे। 

‘निर्मला पन्तको सम्झनामा आफ्नै दिदीले सुनाइन् मार्मिक गीत’

युट्युबमा यस्तै सामाग्रीहरु चर्चामा रहँदा सांगीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’मा तेजेन्द्र गन्धर्वले ‘घटना’ बोलको गीत गाए। गीतमा उनले निर्मला पन्त तथा उनको बलात्कार र हत्याकाण्डबारे जानकारी दिए। गायक तथा कार्यक्रमको 'कोच' रहेका प्रमोद खरेलले शब्द दिएको उक्त गीतले पनि केही बेरमै पब्लिक सेन्टिमेन्ट छोयो। फेसबुक, ट्विटरमा भाइरल भयो। 

द भ्वाइसको अफिसियल युट्युब च्यानलमा यो गीतको भिडियो अपलोड भयो। हालसम्म भिडियो चार लाख ३५ हजारभन्दा बढीले हेरिसकेका छन्।

यसरी हुन्छ व्यापार

सात वर्षअगाडि गुगलले आफ्नो क्यास सर्भर नेपालमा नराखुन्जेल युट्युबका भिडियो हेर्नु र त्यसमा अपलोड गर्नु नै कठिन थियो। तर, त्यसपछि बिस्तारै युट्युब नेपालमा लोकप्रिय हुन थाल्यो। दुई वर्षअघिदेखि त युट्युबले नेपाली भाषामै कस्टमाइज्ड होमपेज सुरु गर्‍यो। नेपालमा धेरै हेरिएका भिडियोहरुको ट्रेन्डिङ लिस्ट राख्न थालियो। 

युट्युबमा दुई किसिमका भिडियो हुन्छन्- एउटा मनिटाइजेसन भएका, अर्को नभएका। मनिटाइजेसन भएका भिडियोहरु दर्शकले हेर्दा त्यसमा विज्ञापन देखिने गर्छ। विज्ञापनबाट आएको रकमको निश्चित प्रतिशत गुगलले भिडियो अपलोड गर्नेहरुलाई बाँड्छ। जति धेरै भिडियो हेरिन्छ, त्यति धेरै रकम आउँछ। युट्युबको कमाइ गुगलले नेपालमा चेक वा वेस्टर्न युनियन मनी ट्रान्सफरमार्फत् भिडियो अपलोड गर्नेलाई पठाउँछ। 

यही रकमकै लोभमा युट्युबको दुरुपयोग गर्नेहरुको जमात बढ्दो छ। सुरुमा नेपाली सर्ट मुभिज भन्दै अश्लील प्रकृतिका भिडियोहरु अपलोड गरेर पैसा कमाउन खोज्ने ट्रेन्ड थियो। अहिले त्यस्तो शैली करिब बन्द भइसक्यो। त्यसपछिभ ने सार्वजनिक चासोको विषयलाई सनसनीपूर्ण र भ्रामक शीर्षक राखेर पैसा कमाउने ट्रेन्ड बढ्दो छ।

युट्युबमा देखिने निर्मला पन्त जोडिएका भिडियो देख्दा पनि प्रष्ट हुन्छ- निर्मला काण्डबारे थाहा नहुने र सतही जानकारी राख्नेहरुमा कसरी भ्रम सिर्जना गराइरहेको छ र पीडितहरु कसरी अरुको व्याखपारिक स्वार्थमा प्रयोग भएका छन्। 

यसले तथ्य जानकारी सम्प्रेषण गर्ने युट्युब च्यानलहरुलाई पनि अप्ठ्यारो पारेको छ। 

'सनसनीपूर्ण र गलत शीर्षक र जानकारी सम्प्रेषण गर्नेहरुले कसैको पनि मानहानी गर्न समय र मेहनत खर्चेका होइनन्। उनीहरुको लोभ नै पैसा कमाउने हो’, युट्युबमा ठूलोपर्दा टिभी सञ्चालन गर्ने जीवन पराजुली भन्छन्, 'त्यस्ताले गर्दा हामीलाई पनि आम मान्छेले गलत तरिकाले हेर्न थालिसकेका छन्।' 

सामाजिक एवं मनोरञ्जनात्मक विषयका भिडियो रिपोर्ट बनाउने एवं अन्तर्वार्ता लिने पराजुलीका अनुसार युट्युब भिडियो भन्नासाथ फेक जानकारी दिने स्रोत भनेर बुझ्नेको जमात बढिरहेको छ।
 
भन्छन्, ‘दर्शकले त हरेक जानकारीमा शङ्का गर्छन् नै, कलाकार पनि युट्युबका लागि भनेपछि अन्तर्वार्ताको लागि तयार हुन छाडिसके।’ 

युट्युबमा सेलिब्रिटीहरुसित रमाइलो अन्तर्वार्ता लिएर चर्चित ‘रमाइलो छ’ च्यानल सञ्चालक उत्सव रसाइली पनि निर्मलाको नाममा अपलोड गरिएका भिडियोहरुले भ्रम सिर्जना गरिरहेको स्वीकार्छन्। 

‘हामी युट्युब च्यानल संचालक नै त झुक्किन्छौं। जे पनि हेर्ने दर्शकमा झन् कस्तो भ्रम छरेको होला?’

 तोडमोड गरेर राखिएका हेडलाइन र थम्बनेलका कारण सही जानकारी दिनेमाथि समेत विश्वास गुमेकोमा उनी चिन्तित छन्। 

यस्तोमा दर्शक आफैले पनि कस्तो च्यानल हेर्ने, कस्तो सामाग्री बेवास्ता गर्ने भन्नेमा सचेत हुन आवश्यक रहेको तर्क उनको छ। 
भने, ‘एक दुई पटक हेरिएला। तेस्रो पटकदेखि अपलोडकर्ताको इन्टेन्सन बुझ्नु पर्छ। यस्तो संवेदनशील विषयमा भ्रामक जानकारी झनै हानिकारक बन्नसक्छ।‘

युट्युबको दुरुपयोग नेपालमा मात्र हैन, अन्य देशमा पनि भइरहेको छ। नेपालमा यसबारे बृहत् अध्ययन हुनु बाँकी नै छ। तर, सन् २०१३ मा एउटा जर्नलमा प्रकाशित अध्ययनको निचोड छ -  युट्युब मेडिकल सूचनाका लागि भरपर्दो स्रोत हैन। अध्ययनले उपलब्ध २७ प्रतिशत भिडियोले भ्रामक र खतरनाक सूचनाहरु प्रवाह गरिरहेको देखाएको थियो भने ५५ प्रतिशत भिडियोमा भने कुनै तथ्य र आवश्यक जानकारी नभएको देखिएको थियो।


युट्युबले आफैले पनि आफ्नो प्लेटफर्ममा दुरुपयोग भएको स्वीकार गरेको छ र सन् २०१८ को सुरुदेखि युट्युबले मनिटाइजेसनका लागि कडा शर्तको व्यवस्था गरेको छ। अब हजार सब्स्क्राइबर, १२ महिनामा ४ हजार घण्टा भिडियो हेरिएको हुनुपर्ने शर्त पूरा नगरी भिडियो मनिटाइजेसन हुँदैन।
   
युट्युबको नियमअनुसार गलत शीर्षक र थम्बनेल अपलोड गर्न पाइन्न। दर्शकले त्यस्तो गलत शीर्षक र थम्बनेल राख्ने भिडियोलाई रिपोर्ट पनि गर्न सक्छन्, रिपोर्ट भएमा युट्युबले त्यसैका आधारमा कारबाही पनि गर्न सक्छ। तर धेरैलाई यसरी पनि उजुरी गर्न सकिन्छ भन्ने थाहै छैन। 

चुनौति र जिम्मेवारी

टेलिभिजनको विकल्पका रुपमा प्रभाव जमाइरहेको युट्युबका भिडियो हेर्न पनि सजिलो छ। डेस्कटप वा ल्यापटप नभए मोबाइलबाटै पनि जुनसुकै ठाउँमा बसेर भिडियोहरु हेर्न सकिन्छ। 

टेलिभिजन जस्ता परम्परागत मिडियामाथि युट्युबरहरुले चुनौति त थपेका छन्, तर त्यस्ता मिडियाको समाजप्रतिको जिम्मेवारी पनि यी युट्युबरहरुले वहन गरिरहेका छन् त?

युट्युबहरुले रकमको लोभमा कुनै पनि घटनालाई सनसनीपूर्ण र अतिरञ्जित बनाएर बिना प्रमाण कसैलाई दोषी ठहर गरेर बनाएका हेडलाइन र भिडियोले त्यो हेर्ने दर्शकको दिमागमा जुन ‘इमेज’ स्थापित गरेको हुन्छ, त्यसलाई मेट्न सजिलो हुन्न। 

मनोविश्लेषक गोपाल ढकाल भन्छन्, ‘धेरै सोचेर त्यही कुरा सत्य मानेपछि माइण्डसेट बन्छ। अवचेतन मनमा त्यही सत्य हो भनेर गहिरो छाप पर्छ।‘ 

‘मानिसले आफूले विश्वास गरेको सत्य गलत नहोस् भन्ने चाहन्छ पनि। त्यही क्रममा आफूले विश्वास गरेको सत्य भन्दा विपरीत सत्य रहेछ भने पनि उसले सजिलै स्वीकार गर्दैन,‘ उनी भन्छन्। 

त्यस्तै मनोविश्लेषक बासु आचार्य पनि कुनै पनि कुरा अवचेतन मनले विश्वास गरेपछि त्यसको विपरीत सत्य मानिसले हतपत स्वीकार्न नसक्ने बताउँछन्।

‘फ्याक्ट होस् या फिक्शन अवचेतन मनमा गहिरोसँग त्यो कुरा सत्य भनेर बसेपछि अरुको कुरा विस्वास नगर्ने मानिसहरुको स्वाभाव हो। अझ तपाईँले विश्वास गरेको कुरा मिडियाले पनि सत्य हो भन्छ। ठूलो जमातले पनि त्यही सत्य हो भनिरहेको बेला एकाएक त्यो कुरा झुट भन्दैमा तपाई विश्वास गर्नुहुन्न।‘

युट्युबका भिडियोहरुले बम दिदीबहिनीलाई दोषी र लाश लिन टेम्पो आएको कुरालाई सत्यका रुपमा स्थापित गरेको उदाहरण सात समुद्रपारीबाट ‘निर्मलाको हत्या १०० प्रतिशत बम कै घरमा भएको हो' भनी ठोकुवा गर्ने कर्ण गुरुङबाट लिन सकिन्छ। 

लाश लिन टेम्पो आएको कसैले देखेकै छैन, यो  ‘रे’ वाला हल्लामात्र हो भन्ने तथ्य गुरुङको अवचेतन मनमा गढेर रहेको ‘सत्य’ले स्वीकार्दैन। यस्ता भ्रमपूर्ण तथ्यले कसैको निजी जीवन र समाजमै कस्तो असर पारिरहेको छ? 

जसले यो भिडियो अपलोड गरेको छ, उसलाई यसको चिन्ता नहुनु स्वभाविक छ, किनभने यो भिडियोमा भएको भ्युज वापत् गुगलले ती अपलोडरलाई डलरको चेक पठाइसकेको होला, जसलाई नेपाली मुद्रामा कन्भर्ट गरेर उसले वेस्टर्न युनियन मनी ट्रान्सफरबाट भुक्तानी लिई खर्च पनि गरिसके होलान्। 
  
(सविन ढकाल र सागर बुढाथोकीको सहयोगमा)
 

#WhoKilledNirmala शृङ्खला  

शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell