PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाली क्रिकेटको भविष्यसँग जोडिएको खेल (नेपाल vs हङकङ)



गोविन्दराज नेपाल

नेपाली क्रिकेटको भविष्यसँग जोडिएको खेल (नेपाल vs हङकङ)
फोटो : आइसीसी

काठमाडौं : क्रिकेट वर्ल्डकप क्वालिफायर खेल्न जिम्बावे जानुअघि यस प्रतियोगितालाई नेपालको भविष्यसँग जोडिएको प्रतियोगिताको रुपमा हेरिएको थियो। प्रतियोगिता खेल्दै गर्दा अहिले नेपाली टोली यस्तो मोडमा आइपुगेको छ कि एउटै खेलले नेपाली क्रिकेटको भविष्य निर्धारण गर्नेछ।

सुपर सिक्स र वान डे स्टाटसको लक्ष्य लिए जिम्बावे पुगेको नेपाल प्रतियोगिता भइरहँदा यी दुई लक्ष्यबाट टाढिँदैछ। यस्तै गत फेब्रुअरीमा मात्र नामिबियामा डिभिजन टू खेलेर वर्ल्डकप क्वालिफायरका लागि छनोट भएको नेपाल कतै फेरी डिभिजन टू मै त झर्दैन? यस्तो शंका पनि बढेको छ। नेपालले समूह चरणमा हङकङसँग अन्तिम खेल खेल्नुअघि यी सबै सम्भावना र चुनौतीहरु बाहिर देखिएको हो।

नेपाल सुपर सिक्स पुग्ने एकदमै झिनो सम्भावना बाँकी छ भने वान डे मान्यता पाउने सम्भावना अझै कायम छ। यी दुई उपलब्धी हासिल गर्न नसके नेपालले डिभिजन टू मा घटुवा हुनबाट जोगिए पनि त्यो नेपालको लागि उपलब्धी नै हुनेछ। यस्तै डिभिजन टू मा घटुवा हुने नेपालको सम्भावना पनि उत्तिकै छ।

जिम्बावेमा भइरहेको वर्ल्डकप क्वालिफायरमा सहभागि १० टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा दुवै समूहबाट शीर्ष ६ टोली सुपर सिक्समा पुग्नेछन्। बाँकी चार मध्ये अन्तिममा रहने दुई टोली डिभिजन टू मा झर्नेछन्।

१० मध्ये चार टेष्ट मान्यता र नेदरल्याण्ड वान डे मान्यता पक्का भइसकेको टोली डिभिजन टू मा झर्ने छैन।

तर यी मध्ये कुनै २ टोली सुपर सिक्समा नपुगेको खण्डमा सुपर सिक्स नपुग्ने बाँकी एसोसिएट टोलीका लागि वान डे स्टाटस पाउने सम्भावना समेत सकिनेछ।

समूह चरण अन्तर्गत एक चरणको खेल बाँकी रहदा दुई टेष्ट टोली जिम्बावे र वेष्टइन्डिजले सुपर सिक्समा स्थान पक्का गरिसकेका छन्। यस्तै एसोसिएट टोली स्कटल्याण्डले पनि सुपर सिक्समा स्थान पक्का गरिसकेको छ। साथै स्कटल्याण्डको वान डे स्टाटस समेत रक्षा भएको छ।

गत वर्ष सम्पन्न वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप जितेका कारण नेदरल्याण्ड्सको वान डे स्टाटस जुनसुकै हालतमा पनि कायमै रहनेछ।

पपुवा न्यू गिनी समूहका चार वटै खेल हार्दै सुपर सिक्सबाट बाहिरिसक्यो। अब उसको वान डे स्टाटस जोगाउने झिनो सम्भावना मात्र बाँकी छ। अन्तिम चरणको खेल अघि ६ टोली (आयरल्याण्ड, युएई, नेदरल्याण्ड, अफगानिस्तान, हङकङ र नेपाल) सुपर सिक्सको होडमा छन्। यस्तै युएई र हङकङ सुपर सिक्स पुग्दै वान डे स्टाटस जोगाउने योजनामा छन् भने नेपाल पनि पहिलो पटक वान डे मान्यता हात पार्ने योजनामा छ। तर युएई र हङकङ सम्भावना बलियो देखिएपनि नेपालको लागि भने निकै चुनौतीपूर्ण छ।

स्पष्ट के छ भने अब नेपालले वान डे मान्यता हात पार्ने हो भने त्यसका लागि धेरै हदसम्म हङकङ विरुद्धको खेल निर्णायक बन्न सक्नेछ। अब नेपालले वान डे मान्यता नजिक पुग्दा हङकङलाई जितबाट रोक्नुपर्नेछ। नेपाल पराजित भए हङकङ सुपर सिक्स पुग्नेछ र नेपालको वान डे मान्यता हात पार्ने अभियान टाढा पुग्नेछ।

नेपालले हङकङलाई सामान्य अन्तरले हराएपनि अफगानिस्तान सुपर सिक्स पुग्नेछ र यो नेपालको लागि सुपर सिक्स पुग्न नसकेपनि फाइदा हुनेछ।

नेपालको अभियानमा अर्को समूहको नतिजामा पनि भर पर्नुपर्नेछ। अर्को समूहमा नेदरल्याण्ड्सले वेष्ट इन्डिज तथा युएईले आयरल्याण्डसँग अन्तिम खेल खेल्दैछ। नेदरल्याण्ड्स पराजित हुने र यता नेपाल पनि पराजित हुने हो भने नेपालको वान डे मान्यता हात पार्ने अभियान मात्र सकिदैन डिभिजन टू मै घटुवा हुनेछ। किनकी यस्तो नतिजा आए अफगानिस्तान र नेदरल्याण्ड्स सुपर सिक्समा पुग्नेछैनन् र यी दुई टोली डिभिजन टू मा घटुवा हुने पनि छैनन्। त्यसले गर्दा नेपाल र पपुवा न्यू गिनी प्लेअफ अघि नै डिभिजन टू मा झर्ने पक्का हुनेछ।

नेदरल्याण्डले वेष्ट इन्डिजलाई पराजित गर्ने र आयरल्याण्डले पनि युएईलाई हराएको खण्डमा भने रनरेट निर्णायक हुने र नेदरल्याण्डले युएई भन्दा राम्रो रनरेट बनाउन सके नेदरल्याण्ड सुपर सिक्समा पुग्नेछ र युएई सुपर सिक्सबाट बाहिरिनेछ। यस्तो अवस्थामा भने नेपाल पराजित भएपनि वान डे मान्यता पाउने झिनो सम्भावना बाँकी रहनेछ र नेपाल, युएई र पपुवा न्यू गिनी मध्ये प्लेअफमा अगाडी रहने एक टिमले वान डे मान्यता पाउनेछ।

त्यसैले यी अवस्थाहरु आउनुअघि नै नेपालले हङकङलाई पराजित गर्नैपर्ने बाध्यता छ। नेपालले यस्तो नतिजा हात पार्न सकेन भने अफगानिस्तान सुपर सिक्स पुग्नेछ र नेपाल र हङकङले प्लेअफ खेल्दै वान डे मान्यताको लागि अगाडी बढ्नेछन्। समूह बी बाट पपुवा न्यू गिनी यसअघि नै पाँचौ भइसकेको छ। उसले समूह ए को चौथो टिमसँग प्लेअफ खेल्नेछ भने समूह ए को पाँचौले समूह बी को चौथो टिमसँग प्लेअफ खेल्नेछ। हार्ने दुवै टोली नवौँ स्थानका लागि प्लेअफ खेल्नेछन्।

माथिका यी सबै सम्भावनाहरुलाई विश्लेषण गरिसकेपछि हङकङ विरुद्धको खेलले नेपालको लागि अर्को चार वर्षको भविष्य निर्धारण गर्नेछ। नेपालले वान डे मान्यता पाउन सके आइसीसीको आगामी प्रतियोगिताहरु (आइ कप, वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप) मा खेल्न पाउनेछ र क्रिकेटमै इङ्गेज्ड भइरहन पाउनेछ। डिभिजन टू मा घटुवा हुन बाट जोगिएमा पनि वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउन सक्ने सम्भावना कायमै छ तर त्यसको आधिकारिक धारणा आइसीसीले सार्वजनिक गरिसकेको छैन।

तर नेपाल डिभिजन टू मा घटुवा भयो भने यी सबै सम्भावनाबाट बञ्चित हुनेछ र वर्षको एउटा टुर्नामेन्टमा भर पर्नुपर्ने बाध्यता रहन्छ। त्यसैले जिम्बावेमा हङकङ विरुद्ध हुने सोमबारको खेल नेपाली क्रिकेट भविष्यको खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell