PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तिलोत्तमा नगरपालिका : पूर्वरक्षामन्त्री बालकृष्ण खाँण Vs एमाले उपमहासचिव घनश्याम भुसाल - कसको किल्ला बन्ला?



चन्द्रकान्त खनाल

तिलोत्तमा नगरपालिका : पूर्वरक्षामन्त्री बालकृष्ण खाँण Vs एमाले उपमहासचिव घनश्याम भुसाल - कसको किल्ला बन्ला?

रुपन्देही  : रुपन्देहीका १६ स्थानीय तहमध्ये एक उपमहानगरपालिका र पाँच वटा नगरपालिका र १० वटा गाउँपालिकामा अधिकांशको ध्यान तिलोत्तमा नगरपालिकामा केन्द्रित छ।

नेपाली का‌ंग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको गृहनगर सँगसँगै उनैका भाइ रामकृष्ण खाँण मेयर पदमा उम्मेदवार बनेपछि त्यस क्षेत्रको तेस्रो शक्तिका रुपमा स्थापित दल राष्ट्रिय जनमुक्ति पार्टीको साथ नेपाली कांग्रेसलाई रहेको छ।

त्यस्तै नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालको गृहनगर पनि तिलोत्तमा नै हो। उनले आफ्नो समूहका बासुदेव घिमिरेलाई मेयर पदमा उम्मेदवार बनाउन कै लागि पार्टीभित्र कठोर संघर्ष गरेर टिकट पाए। जुनसुकै रणनीति अपनाएर भएपनि जिताउनै पर्ने उनको कठोर प्रतिज्ञाले गर्दा अधिकांशको ध्यान तिलोत्तमामा केन्द्रित छ।
 
पूर्वमा रोहिणी नदी र पश्चिममा तिनाउ नदीको बीचमा साविकका सात गाविसलाई मिलाएर तिलोत्तमा नगर जनसंख्या र भौगोलिक क्षेत्रफलको हिसाबले जिल्लाकै ठूलो नगरपालिका हो।

त्यस्तैगरी स्रोत साधन र सम्भावनाले धनी नगरपालिका भएकाले पनि काँग्रेस एमाले दुबैको ध्यान यही नगरमा बढी केन्द्रित छ। साविकका गाबिसहरु शंकरनगर, करहिया, मक्रहर, आनन्दबन, गंगोलिया, मधौलिया र टिकुलीगढ मिलाएर बनाएको नगरपालिकामा २०६८ को जनगणना अनुसार एक लाख एक सय ४९ जनसंख्या थियो। १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा ६० हजार ४ सय ४० जना मतदाता छन्।
 
सात गाविस मिलाएर बनाइएको नगरपालिका भएका कारण एकथरी विगतमा  कसको मत कति थियो र अहिले कसको कति आउँछ भन्दै चिया पसल तथा चोक चोकमा हिसाब किताब गरिरहेका छन् भने अर्कोथरी आफ्नो दलको उम्मेदवारलाई मत माग्दै घरघरमा हिंडिरहेका छन्।

२० वर्ष अघिको स्थानीय निर्वाचनलाई हेर्दा अधिकांश स्थानमा एमालेको बाहुल्यता देखिएता पनि त्यसयता भएका दुई वटा संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसले जित हात पारेको थियो । नगरपालिकामा समावेश भएका साविकका सात वटै गाविसमा बसाई सराई गरी आउनेको भिड नै छ।
 
२० वर्ष पहिलादेखि जो बसिरहेका थिए, तिनीहरुको लगाव जहाँ थियो उहीँ देखिन्छ । त्यसयता बसाई सराई गरेकाहरुमा तुलनात्मक रुपमा काँग्रेसका समर्थक बढी देखिन्छन्।

२०६४ मा भारी मत सहित र २०७० मा कम मतले नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले जितेको अधिकाँश क्षेत्र तिलोत्तमा नगरपालिकामा छ। त्यस्तै क्षेत्र नं. १ र २ का केही भाग पनि तिलोत्तमा नगरपालिकामा पर्दछ जहाँ २०७० को संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा बलियो जनमत देखिएको थियो।
 
अहिले तिलोत्तमामा २०७० को संविधान सभा निर्वाचनमा तेस्रो दल बनेको जनमुक्ति पार्टी र नेपाली काँग्रेसको चुनावी तालमेल छ । त्यस्तै २०७० को संविधान सभा निर्वाचनमा मधेशवादी दलबाट उम्मेदवार बनेका सन्तराम चौधरी दलबल सहित नेपाली काँग्रेसमा आएका छन् । यसले नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण खाँणलाई बलियो बनाएको छ । 

नेपाली काँग्रेस रुपन्देहीमा दुई कार्यकाल निर्वाचित सचिव भएर काम गरेका रामकृष्ण समग्र जिल्लाको टोलटोल र घरघरमा पुगेका छन् । लामो समयदेखि राजनीतिमा कृयाशिल रामकृष्ण २०६४ र ०७० सालका दुबै संविधान सभा निर्वाचनमा त्यस क्षेत्रमा निर्वाचनको कमाण्ड समेत गरेका थिए।

दुई पटक नै संविधान सभा सदस्य हुँदा त्यस क्षेत्रको बिकासमा राष्ट्रिय बजेटको हिस्सा पारेर बिकास निर्माणका काम बालकृष्ण मार्फत रामकृष्णले गरेकै कारण अन्य दलका उम्मेदवारका तुलनामा लोकप्रिय उम्मेदवारका रुपमा परिचित छन् । 

विद्यार्थी कालदेखि नै राजनीति र समाज सेवामा लागिरहेका ५२ वर्षीय रामकृष्ण खाँण तीन दशक बढीको आफ्नो संघर्ष र त्यागलाई नहेरी कहिलेकाँकी कसैले पारिवारिक नाता जोडेर आफूलाई कमजोर गराउन प्रयास गर्दा दुःख लाग्ने बताउछन् । 

तिलोत्तमा नगरपालिकालाई ‘हरियाली नगर र स्मार्ट सिटी’ बनाउने अभियान सहित राष्ट्रिय जनमुक्ति पार्टीलाई संगै लिएर मैदानमा उत्रिएका मेयरका उम्मेदवार रामकृष्ण भन्छन्– ‘मेरो उम्मेदवारी हाम्रो र राम्रो नगर, हरियाली र खुसीयाली नगर, सबै अट्ने र सबै रमाउने नगर, शान्ति र समृद्धिको नगर निर्माण गर्ने प्रतिवद्धता छ ।’

शंकरनगर गाउँ कमिटीबाट पार्टी राजनीति सुरु गरेका एमालेका मेयर उम्मेदवार घिमिरेले युवा संघमा पनि लामो समय काम गरे। उनी २०४८ सालमै तत्कालीन प्ररायु संघको गाउँ कमिटीको अध्यक्ष बनेका थिए। घिमिरे शंकरनगर गाउँ कमिटी र इलाका कमिटीमा दुई कार्यकाल सचिव, क्षेत्रीय सदस्य र अध्यक्ष हुँदै हाल पार्टीको रुपन्देही जिल्ला कमिटीको सदस्य छन्। उनी मिसन डेभलपमेन्ट बैंकको अध्यक्ष समेत हुन्। 

घिमिरेले नगरभित्रको ६ लेन सडकका दुबै किनारका घरमा एउटै रङ्ग लगाउने, भित्री बाटाहरु दुइलेनका बनाउने,सबैलाई रोजगारी, सुकुम्बासीलाई लालपुर्जा,चक्रपथ निर्माण गर्दै नगरलाइ स्याटलाइट सिटि बनाउन पुर्वाधार विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell