PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

Digital Publishing Guideline



पहिलोपोस्ट डट कमको समाचार नीति
 
पहिलोपोस्टको लक्ष्य समाचार, विचार र अनलाइन एक्सक्लुसिभका लागि पाठकहरुले सँधै याद गर्ने न्युजपोर्टल बन्ने हो। हामी न्युज ब्रेकको प्रतिस्पर्धामा हैन, सही र पुष्टि भएका न्युजमात्र सबैभन्दा पहिला अपडेट गर्ने छवि पाठकमाझ बनाउनेछौँ। पहिलोपोस्टमा प्रकाशित भएपछि यो समाचार सही रहेछ भन्ने विश्वास पाठकमा बनाउन सक्नु हाम्रो सफलता हुनेछ। हामी र्‍याङ्किङमा हैन, थिङ्किङमा जोड दिनेछौँ। र्‍याङ्क बढाउने नाममा बौद्धिक पाठक विचलित हुने सामाग्री हामी राख्नेछैनौँ।
 
यसका लागि समाचार नीतिसम्बन्धी निर्देशिका आवश्यक पर्ने हुनाले निम्न बूँदालाई अनलाइनको सम्पादकीय नेतृत्व र व्यवस्थापनसमेतको छलफलबाट पारित गरी सार्वजनिक गरिएको छ:
 
ब्रेकिङ न्युज सम्बन्धमा

  • हामी न्युज ब्रेकमा हैन, तथ्यसहितको विश्वसनीय समाचारमा पहिलो हुने लक्ष्य राख्छौँ। त्यसैले स्रोतबाट आएका समाचारको विश्वसनीयता पुष्टि नगरी पहिलोपोस्टले कहिले पनि प्रकाशन गर्ने छैन।
  • विमान दुर्घटना, सडक दुर्घटना जस्ता समाचारका ब्रेकिङ न्युज राख्दा मृत्यु हुनेको संख्या, कल साइन वा गाडी नम्बर र दुर्घटना स्थलबारे अन्यौल कायम रहँदासम्म अन्यौल भएको विषय प्रकाशन नगर्ने।
  • हाम्रा संवाददाताले टिपाएको ब्रेकिङ न्युजलाई बाइलाइनसहित प्रकाशन गर्ने।
  • प्रतिस्पर्धी वेबसाइट, टेलिभिजन, रेडियोले ब्रेक गरेका समाचार अति महत्वको छ भने आफ्नोतर्फबाट थप पुष्टि नहुन्जेल फलानोले जनाएको छ भनी प्रकाशन गर्ने। तर कतिपय अवस्थामा त्यस्ता ब्रेकिङ न्युज गलत पनि हुनसक्ने हुनाले सावधानी अपनाउने। वेबसाइट स्रोत उल्लेख गर्दा अनिवार्य लिङ्कब्याक गर्ने।
 
जिल्ला समाचार सम्बन्धमा
  • जिल्ला संवाददाताले पठाउने समाचारलाई सामान्यतया भेरिफिकेसन गरिने छैन। तर समाचारको प्रकृति र अन्तर्निहित उद्देश्यका सम्बन्धमा चनाखो हुनुपर्नेछ।
  • जिल्लाका स्थानीय महत्वका समाचारलाई लाइभ ब्लगिङले मात्रै समेट्नेछ। राष्ट्रिय महत्वका विषयलाई प्राथमिकताका साथ प्रकाशन गरिनेछ।
अन्तर्राष्ट्रिय समाचार सम्बन्धमा
अनलाइनका पाठक ग्लोबल हुन्छन् र नेपाली भाषामा पनि अन्तर्राष्ट्रिय समाचार पढ्न रुचाउँछन् भन्ने तथ्यलाई मनन् गर्दै हामी अन्तर्राष्ट्रिय समाचार पनि दिनेछौँ। तर अन्तर्राष्ट्रिय महत्वका ठूला घटनालाई मात्रै हामी समेट्नेछौँ। अन्तर्राष्ट्रिय महत्वका ठूला घटनालाई लाइभ ब्लगिङमा पनि समेटिनेछ।

मानवीय अभिरुचि, प्रविधि, फिचर आदिका अन्तर्राष्ट्रिय समाचारहरुलाई अनुवाद गरी प्रस्तुत गरिनेछ। यसका लागि विषयवस्तु छनौट गर्दा ग्ल्यामर राख्नेछौँ तर अश्लीलतालाई निषेध गरिनेछ।

अन्तर्राष्ट्रिय समाचार प्रस्तुत गर्दा वा अनुवाद गर्दा स्रोत स्पष्टसँग उल्लेख गरिनेछ।
 
तस्बिर र कपिराइटका सम्बन्धमा
समाचार र फिचरका लागि आवश्यक पर्ने तस्बिर र स्केच सकेसम्म आफ्नै स्रोतबाट उपयोग गरिनेछ। गुगल वा अन्य अनलाइन स्रोतबाट तस्बिर उपयोग गर्दा स्रोत उल्लेख गरिनेछ। सामाजिक सञ्जालका तस्बिरहरु प्रयोग गर्दा स्रोत उल्लेख गर्नेछौँ र संभव भएसम्म अनुमति माग्नेछौँ। कपिराइट भएका तस्बिर उपयोग गरिने छैन तर भूलवश उपयोग भएमा सम्बन्धित कपिराइटवाहकले जानकारी दिनेबित्तिकै हटाइनेछ। नेपालको कपिराइट कानुन अनुसार फेयर युज पोलिसी अपनाइनेछ।  
 
रासस र अन्य न्युज एजेन्सीको समाचार सम्बन्धमा
राष्ट्रिय समाचार समिति लगायत अन्य समाचार एजेन्सीको समाचारलाई आवश्यक परे पुनर्लेखन गरी प्रकाशन गरिनेछ। राससको समाचारमा थप जानकारी जोडिएको भए समाचारको पुछारमा राससको सहयोगमा  लेखिनेछ। राससको समाचारमात्रै पुनर्लेखन गरिएको भए रासस स्रोत स्पष्ट उल्लेख गरिनेछ। राससको समाचारमा पनि गल्ती हुनसक्ने भएकोले (विगतमा कयौँ उदाहरण छन्) सतर्कता अपनाउनु पर्छ।
 
अन्य समाचार सम्बन्धमा
न्युजरुममा हाम्रा स‍ंवाददाता वा अन्य स्रोतबाट आउने समाचारलाई पुष्टि गरी मात्रै प्रकाशन गरिनेछ।  
 
भूल सुधार र न्युज डिलिट सम्बन्धमा
भूल मानवीय कमजोरी हो। कथ‍ंकदाचित कुनै गल्ती हुन गएमा स्पष्ट उल्लेख हुने गरी सम्पादकको नामबाट तत्काल भूल सुधार गरिनेछ। भूल सुधार गरिएको सूचना समाचारमा स्पष्ट उल्लेख हुनुपर्नेछ। 

एक पटक प्रकाशित भइसकेको समाचारमा सूचना दिएर भूल सुधार गर्न सकिनेछ तर कुनै पनि हालतमा पूरै समाचार डिलिट गरिने छैन। गलत तथा भ्रमपूर्ण समाचार प्रकाशित भइरहँदा अन्यौल हुने अवस्था आए डिलिट गर्न सकिनेछ। यसका लागि प्रस्तुत नीतिविपरीत भएको कारण दर्शाउँदै लिखित निर्देशन सम्पादकले दिनुपर्नेछ। तर त्यस्तो समाचार डिलिट गरिँदा पर्मालिङ्कमा फलानो कारणले डिलिट गरिएको भनी उल्लेख गरिनेछ।

गोपनीयता सम्बन्धमा
पहिलोपोस्टका सामाग्री इन्टरनेटबाट संसारभरका पाठकका लागि निःशुल्क उपलब्ध हुनेछ। यो साइटको प्रयोगबाट हुनसक्ने प्रत्यक्ष/अप्रत्यक्ष प्रभावका लागि प्रयोगकर्ता स्वयं जिम्मेवार हुनेछन्। यो साइट प्रयोग गर्दा यसमा संग्रहित हुन सक्ने पाठकका व्यक्तिगत विवरण कानुन कार्यान्वयन संस्थाले मागेको अवस्थामा बाहेक गोप्य राखिनेछ। 

(पहिलो पटक प्रकाशित : साउन १, २०७१)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell