PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

+21 वा यस्तै नचिनेको नम्बरबाट मिस कल आयो? सावधान, वाङ्गिरी स्क्याममा फँस्नुहोला



+21 वा यस्तै नचिनेको नम्बरबाट मिस कल आयो? सावधान, वाङ्गिरी स्क्याममा फँस्नुहोला

काठमाडौँ : के तपाईँको नम्बरमा पनि आज +21 वा यस्तै नचिनेको नम्बरबाट मिस कल आएको छ? केही दिनदेखि धेरै जनाले सामाजिक सञ्जालमा यस्तो नम्बरबाट फोन आएको र अन्यौल भएको उल्लेख गरेका छन्। 

रातो नम्बरको आतंकबाट मुक्त भएको केही महिनापछि नै फेरि यो नयाँ फन्डा सुरु भएको छ। 

खासमा यो के हो त ? पहिलोपोस्टले गरेको अनुसन्धानले यो वाङ्गिरी स्क्यामको रुप भएको देखिएको छ। के हो त वाङ्गिरी स्क्याम? 

वाङ्गिरी जापानी भाषाको शब्द हो जसको अर्थ एक (रिङ) अनि काट्ने हुन आउँछ। यस्तो स्क्याम गर्नेहरुले अटोडायलरहरुबाट नचिनेका नम्बरहरुमा एक रिङमात्र जाने गरी कल गर्ने गर्छन्। उनीहरुको उद्देश्य मिस कल देखियोस् र त्यस्तो कल गएकाहरुबाट कलब्याक आओस् भन्ने हुन्छ।

नेपालमा केही दिनदेखि आएका भनिएका नम्बरहरुको प्रकृति पनि यस्तै छ। कसैले पनि फोन रिसिभ गरेका छैनन्। सबैले मिस कल आएको मात्र देखेका छन्।

जब कसैले कलब्याक गर्छ, ऊ फँस्छ। किनभने यस्ता नम्बरहरु प्रिमियम नम्बरहरु हुन्छन्, अर्थात् कल गर्ने बित्तिकै धेरै रकम पर्ने।

तपाईँको पोस्टपेड नम्बर हो भने त सामान्यतया विदेशको नम्बरमा फोन जाँदैन। तर प्रिपेड नम्बर हो भने र ब्यालेन्स छ भने त कल गर्ने बित्तिकै तपाईँको ब्यालेन्स काटिन्छ।

फोन उठाइहाल्नु भयो भने चाहिँ ब्यालेन्स काटिँदैन। किनभने नेपालका सबै मोबाइल अपरेटरहरुले कल रिसिभिङमा चार्ज लगाएका छैनन्। तर त्यसरी नचिनेको नम्बरबाट आएको फोन उठाउनु पनि ठीक हैन। त्यो फोन 'लटरी पर्‍यो' वा त्यस्तै केही बहाना बनाउँदै तपाईँको रकम धुत्न खोज्नेहरुले गरेको पनि हुनसक्छ।

विदेशमा पनि यस्तै स्क्याम

नेपालमा यस्तो स्क्याम कलहरु आइरहेकै बेला न्युजिल्यान्डमा पनि यस्तै भइरहेको छ। न्युजहबले यसै साता यो बारे समाचार बनाएको छ। त्यहाँ 0088 वा 0023 बाट कलहरु आएको र त्यो अफ्रिकाको चाड देशबाट आएको हुनसक्ने समाचारमा उल्लेख छ। यो वाङ्गिरी स्क्याम हुनसक्ने भन्दै पाठकलाई सचेत गराइएको छ। 

बेलायतको डेली मेलले पनि सन् २०१४ को फेब्रुअरीमा वाङ्गिरी स्क्यामबारे समाचार बनाएको छ। समाचारमा कम्प्युटरबाट गरिने यस्ता अटो कलले नम्बर डायल गर्ने मिस कल देखाउने गर्छन्। शिकारमा परेको व्यक्तिले कलब्याक गर्दा अन्तर्राष्ट्रिय एडल्ट इन्टरटेनमेन्ट सर्भिस, च्याट लाइन वा प्रिमियम सर्भिसका नम्बर पर्ने गर्छ जसमा फोन गर्ने बित्तिकै १९.९५ अमेरिकी डलर इन्टरनेसनल कल फि र प्रति मिनेट ९ डलर चार्ज लाग्ने गर्छ। 

छिमेकी देश भारतमा पनि धेरै वर्षअघिदेखि यस्तो स्क्याम हुने गरेको त्यहाँ प्रकाशित समाचारहरुले देखाउँछ। डेक्कन क्रोनिकलले गत वर्ष फेब्रुअरी ११ तारिखमा प्रकाशित गरेको समाचारमा वाङ्गिरी स्क्यामबारे सचेत गराउँदै केही टिप्स दिइएको छ-
 
  • नम्बर चिनेको छैन भने कल ब्याक नगर्नुस्।
  • विदेशबाट कल आउँछ भन्ने लागेको हो भने नम्बर गुगल गर्नुस् र कुन देशबाट आएको हो पत्ता लगाएर मात्र आगामी कदम चाल्नुस्।  
  • मोबाइलमा ट्रुकलर वा स्पाम नम्बर आइडेन्टिफिकेसन एप राख्नुस्।
  • अपरिचित नम्बरबाट फोन आएपछि कति रकम काटियो चेक गर्नुस्। 
  • कल ब्लकिङलाई अन गरेर भविष्यमा त्यस्तो नम्बरबाट फोन नआउने बनाउनुस्। 
टाइम्स अफ इन्डियाले सन् २०१५ को फेब्रुअरी २२ मै 'डन्ट रिटर्न ड्याट मिस कल' शीर्षकमा समाचार प्रकाशित गरेको छ। त्यसमा पनि +216 बाट आएको फोन उठाउँदा एक व्यक्तिको ६० रुपैयाँ काटिएको उल्लेख छ। समाचार अनुसार कल ब्याक गरेपछि उताबाट कसैले बोलेको थिएन। पछि ब्यालेन्स चेक गर्दा रकम चट।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell