PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

जमेन वाग्मतीको ब्याटिङ, विजयी आर्मीले फाइनलमा एपीएफसँग भिड्ने



पहिलोपोस्ट

जमेन वाग्मतीको ब्याटिङ, विजयी आर्मीले फाइनलमा एपीएफसँग भिड्ने

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत कीर्तिपुरमा सम्पन्न दोस्रो सेमिफाइनमा जित निकाल्दै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको छ। आज सम्पन्न खेलमा वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।

कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले २३० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको वाग्मती १३५ रनमा समेटियो।

सुरुवाती तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको आर्मीले  सुखद सुरुवात गर्न सकेको थिएन। धर्मराएको आर्मीको पारी लोकेस बम र भीम सार्कीले सम्हालेका थिए। सार्कीले ४० र बमले २३ रन बनाउँदा कप्तान बिनोद भण्डारी १० रनमा आउट भए। त्यसपछि आएका राजेश पुलामीले विक्रम सोबसँग लामो साझेदारी गर्दै आर्मीको स्कोरमाथि उठाए। पुलामीले सर्वाधिक ६५ रन बनाउँदा विक्रम सोबले ३५ रन जोडे।

बलिङतर्फ गौतम केसीले सर्वाधिक ५ विकेट लिँदा नन्दन यादव, तिलक भण्डारी राम नरेश गिरी र विपिन आचार्यले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको वाग्मती प्रदेशको ब्याटिङ सुरुबाटै धर्मरायो। सुरुवाती ब्याट्सम्यानहरु आकाश थापा, विभत्सु थापा र पृथु बास्कोटा दोहोरो अंकको रन नजोड्दै बाहिरिँदा ओपनर आदिल १० रनमा आउट भएका थिए। त्यस्तै इशान पाण्डे डकआउट हुँदा वाग्मतीको पारीलाई कप्तान ज्ञानेन्द्र मल्लले बिपिन आचार्यसँग साझेदारी गर्दै वाग्मतीको पारी उकास्ने प्रयास गरेका थिए। त्यस्तै नन्दन यादव २२ रनमा अभिजित रहे।

मल्लले सर्वाधिक ४७ रन बनाउँदा बिपिन आचार्यले २३ रन जोडे।

बलिङतर्फ आर्मीका सुसन भारी, विक्रम सोब र जितेन्द्र मुखियाले समान ३/३ विकेट लिए।

जितसँगै आर्मी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। फाइनलमा आर्मीले अर्को विभागीय टोली एपीएफको सामना गर्नेछ। बुधवार सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको थियो।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, उपविजेताले पाँच लाख प्राप्त गर्ने छन्।

सेमिफाइनलिस्ट टिमहरुले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले २५ हजार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell