PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

कोभिड-१९ को पछिल्लो तथ्यांक : परीक्षण घट्दै, दैनिक संक्रमण पुष्टि हुने मध्ये औशतमा १.३ प्रतिशतको मृत्यु



विधुर ढकाल

कोभिड-१९ को पछिल्लो तथ्यांक : परीक्षण घट्दै, दैनिक संक्रमण पुष्टि हुने मध्ये औशतमा १.३ प्रतिशतको मृत्यु

काठमाडौं :  पछिल्ला दिनमा कोभिड-१९ को नमुना परीक्षणमा कमी आएसँगै संक्रमण दर पनि कम हुँदै आएको छ। संक्रमण पुष्टि हुनेको संख्या भन्दा संक्रमण मुक्त हुनेको संख्या बढ्दै जाँदा सक्रिय संक्रमित पनि दैनिक जसो घट्दै गएका छन्।

हालसम्म नेपालमा दुई लाख ४९ हजार २४४ जनामा संक्रमण पुष्टि भइसकेको छ। कुल संक्रमितको ४.४ प्रतिशत मात्र सक्रिय संक्रमित रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा उल्लेख छ। त्यस्तै, कूल संक्रमितको ०.७ प्रतिशत संक्रमितको मृत्यु हुँदा ९४.९ प्रतिशत संक्रमित संक्रमणमुक्त भएका छन्।

हाल नेपालमा १० हजार ९५५ जनामा मात्र कोभिड-१९ का केसहरु सक्रिय रहेका छन्। दुई लाख ३६ हजार ५७३ जना संक्रमण मुक्त हुँदा एक हजार ७१६ जना संक्रमितको मृत्यु भएको छ।

सक्रिय संक्रमितको ४९.८५ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा मात्र रहेका छन्। उपत्यकामा पाँच हजार ४६० जना सक्रिय संक्रमित छन्। जसमध्ये चार हजार २४५ जना काठमाडौंमा छन्। त्यस्तै, ललितपुरमा ८५७ र भक्तपुरमा ३५८ जना छन्। त्यस्तै कास्की जिल्लामा ६५१ जना सक्रिय संक्रमित छन्। १०० बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु २० छन्।

घट्दो परीक्षण

पछिल्लो २ सातामा औशतमा प्रति दिन ६ हजार ९३३ जनाको नमुना परीक्षण भएका छन्। पछिल्लो दुई सातामा पछिल्लो साता परीक्षणदर घट्दै गएको छ। यो दुई सातामा ९० हजार १२७ जनाको मात्र परीक्षण भएको छ। यो दुई सातामा सबैभन्दा बढी मंसिर १८ गते ९ हजार २८२ जनाको नमूना परीक्षण भएकोमा सबैभन्दा कम मंसिर २८ गते पाँच हजार १८१ जनाको मात्र परीक्षण भएको छ।

संक्रमण र संक्रमण मुक्त दर

परीक्षण दर घट्दै जाँदा संक्रमण पुष्टि हुनेको संख्या पनि घट्दै गएको छ। यो १४ दिनमा प्रति दिन औशतमा १ हजार ११४.५ जनामा संक्रमण पुष्टि भएको छ। यो १४ दिनमा १४ हजार ४८८ जनामा संक्रमण पुष्टि भएको छ। यस अवधिमा सबैभन्दा बढी मंसिर १७ गते एक हजार ४९० र सबैभन्दा कम मंसिर २९ गते ८२१ जनामा संक्रमण पुष्टि भएको छ।

यसबीच यो १४ दिनमा १९ हजार ९७९ जना संक्रमित संक्रमण मुक्त भएका छन्। जुन औशतमा दैनिक एक हजार ५३७ हो।

ओरालो लाग्दै सक्रिय संक्रमित

औशतमा दैनिक संक्रमण पुष्टि हुनेको संख्या एक हजार ११४ जना र संक्रमण मुक्त हुनेको संख्या औशतमा दैनिक एक हजार ५३७ हुँदा सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ। दुई साता अगाडि साढे १६ हजारमा रहेको संक्रिय संक्रमितको संख्या यो साता झरेर १० हजार ९५५ पुगेको छ।

संक्रमण पुष्टि हुने मध्ये १.३ प्रतिशतको मृत्यु

संक्रमण पुष्टि हुनेको संख्या कम हुँदै गर्दा पनि कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या भने औशतमा बढी रहेको छ। पछिल्लो २ सातामा १८७ जनाको मृत्यु भएको छ। जुन कूल मृत्युको १०.९ प्रतिशत हो। हालसम्म नेपालमा एक हजार ७१६ जनाको मृत्यु भएको छ।

यो तथ्यांक हेर्दा पछिल्लो १४ दिनमा औशतमा दैनिक १४.४ जनाको कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएको छ। जुन औशतमा दैनिक संक्रमण पुष्टि हुनेको १.३ प्रतिशत हो। पछिल्लो १४ दिनमा सबैभन्दा बढी मंसिर २३ गते २३ जनाको मृत्यु भएको थियो भने मंसिर २२ गते २० जना र मंसिर २९ गते सोमवार मात्र १८ जनाको मृत्यु भएको छ। जुन सोही दिनको संक्रमणको २.२ प्रतिशत हो।

हाल कूल संक्रमितको ०.७ प्रतिशतको मात्र मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell