PahiloPost

May 15, 2024 | २ जेठ २०८१

पेट्रोलियम पदार्थ तस्करी गर्ने तीन जना नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ



रासस

पेट्रोलियम पदार्थ तस्करी गर्ने तीन जना नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ

राजविराज : सप्तरी प्रहरीले नेपाल-भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नेपाल-भारत सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ तस्करी गरी ल्याउँदै गरेको छिन्नमस्ता गाउँपालिकाका सुरेन्द्र यादव, अरविन्द मण्डल र लालबाबु मण्डललाई आज पक्राउ गरिएको हो।

दुई मोटरसाइकल र एक साइकलमा गरी १०० भन्दा बढी लिटर डिजल अवैध रुपमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए। पेट्रोलियम पदार्थको तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय सखडामा राखी उनीहरुमाथि कानुनी प्रक्रिया अघि बढाएको प्रनाउ साहले जानकारी दिए।
 
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तीनै जनालाई दशगजा क्षेत्रबाटै नियन्त्रणमा लिएको थियो। नेपालबाट डिजल खरिद गरी भारततर्फ पुर्‍याइरहेको सूचना पाइएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

यता पक्राउ परेकाको रिहाइको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय छिन्नमस्ता (सखडा) घेराउ गरी प्रदर्शन गरेका थिए। पेट्रोलियम पदार्थसहित प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय आन्दोलित भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell