PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सर्वसाधरणका लागि खुल्यो नारायणहिटी दरबारभित्रको ‘श्रीसदन’



 सर्वसाधरणका लागि खुल्यो नारायणहिटी दरबारभित्रको ‘श्रीसदन’
तस्विर : उत्तम सायमि

काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन शनिवारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन यसअघि सर्वसाधरणको लागि बन्द थियो।

दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए। राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द थियो। विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सर्वसाधारणले अवलोकन गर्ने गरी श्रीसदनका प्रदर्शनी कक्ष खुलाएको हो।

शनिवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले श्रीसदन प्रदर्शनीकक्ष उद्घाटन गर्दै नारायणहिटी सङ्ग्रहालयलाई राजतन्त्र र विशेषगरी आधुनिक नेपालको इतिहास बुझ्ने एउटा प्रमुख गन्तव्य थलोका रूपमा स्थापित गरिने बताए।

‘इतिहास कसैको दुश्मन हुँदैन, त्यो एउटा घटना हो। यथार्थ हो, त्यसलाई आजीवन संरक्षण गर्न सकियो भने आउने पुस्तालाई पनि ज्ञान हुनेछु’ उनले भने।

श्रीसदन विभिन्न इतिहास र समाजको झलक तथा मानवजातिको विकासको जानकारी दिन सान्दर्भिक हुने भन्दै उनले दरबारसँग जोडिएका विभिन्न वस्तु, घटनाक्रम, देशका विभिन्न स्थानमा रहेका वस्तुलाई ल्याएर संरक्षण गरिनुपर्नेमा बताए। उनले नेपालको २४० वर्षे शाहवंशीय राजतन्त्रको साक्षात इतिहासका रूपमा रहने सङ्ग्रहालयमा शाहवंशीय शासनको कसरी शुरु र अन्त्य भयो, त्यसको जीवन्त इतिहास नारायणहिटी सङ्ग्रहालयबाट प्राप्त हुने विश्वास व्यक्त गरे।

पर्यटनमन्त्री भट्टराईले तत्कालीन राजा वीरेन्द्रको जीवनशैली र उनको परिवारलाई बुझ्न सहयोग पुग्नाका साथै नेपाली मात्र नभई विदेशी विश्वविद्यालयबाट अध्ययनअनुसन्धान गर्नेका लागि महत्वपूर्ण सामग्री प्रदान भएको बताए।

के के छ श्रीसदनमा

श्रीसदनको भुइँतलामा पाहुना बस्ने बैठककक्षसँगै डाइडिङ रुम र वारकक्ष छ। दोस्रो तलामा वीरेन्द्र, ऐश्वर्य, निराजन र श्रुतिको शयनकक्ष छ भने तेस्रो तलाको पश्चिमतर्फ निराजनले शारीरिक अभ्यास गर्ने कोठा छ।

ऐश्वर्यको पूजाकोठामा देवताको मूर्ति सजाइएको छ, तेस्रो तलाको भर्‍याङ उक्लिनासाथ प्यासेजमा पूर्वअधिराजकुमारी श्रुतिले तयार पारेको चित्रकला राखिएको छ। स्व राजा वीरेन्द्र, ऐश्वर्य, श्रुति र निराजनको स्नानागार र सिँगार कोठामा सबैले छुट्टाछुट्टै प्रयोग गर्ने सबै सामग्री सजाएर राखिएको छ। स्व ऐश्वर्यको छुट्टै साहित्यकक्ष पनि छ । श्रुति र निराजनको छुट्टै खेल्ने सामग्रीसहितको कोठा छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell