PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पप्पुको परिचित कामः वीरगंज-पथलैया सडकका सबै काम अलपत्र, समयमा नसके कालोसूचीमा राखिने



राधेश्याम पटेल

पप्पुको परिचित कामः वीरगंज-पथलैया सडकका सबै काम अलपत्र, समयमा नसके कालोसूचीमा राखिने

वीरगंज: निर्माण क्षेत्रमा चिरपरिचित नाम हो पप्पु कन्सट्रक्सन। वीरगंजको यो निर्माण कम्पनी काम गरेर भन्दा पनि नगरेर बढी चर्चामा छ। विभिन्न आयोजनाहरुको ठेक्का लिने र समयमै काम नसक्ने तथा काम अलपत्र पार्ने कम्पनीमा पप्पु कन्सट्रक्सनको नाम पहिले आउँछ। पप्पु कन्सट्रक्सनले बनाएका आयोजनाहरुमा पनि गुणस्तरको बारम्बर प्रश्न उठिरहन्छ।

पर्सा क्षेत्र नम्बर ३ मा समाजवादी पार्टीबाट गत चुनावमा संघीय सांसदमा निर्वाचित भएर हाल निलम्बित रहेका हरिनारायण रौनियारले चुनाव लडेका बेला आफनो छोरा सुमित रौनियारलाई यो कम्पनीको विरासत दिएर अहिले उनी राजनीतिमा सक्रिय छन्। कम्पनीको काम राम्रो नहुँदा नेपालभर अर्बौँको प्रहुप्रक्षीत योजनाहरुमा पप्पु कन्सट्रक्सनले लापारबाही गरेको आरोप लाग्ने गरेको छ। त्यसै मध्येको एक हो वीरगंज-पथलैया व्यापारिक मार्ग अन्तर्गतको ६ लेनको सडक विस्तार योजनाको काम।

यो सडक विस्तारको काममा पप्पु कन्सट्रक्सनले दुई वटा प्याकेज लिएर निर्माण कार्य जारी राखेको छ। तर, कामको प्रगति कछुवाको तालमा गइरहेको छ। पप्पु कन्सट्रक्सनले सरकारबाट मोबिलाइजेसनको रकम लिएपछि काम छोडेर बेपत्ता हुने गरेको आरोप छ।

वीरगंज पथलैया व्यापारिक मार्गमा लापारबाही गर्ने ठेकेदारलाई जरिवाना तिराई ठेक्का तोडेर कालोसूचीमा राख्ने तयारी गरिरहेको योजना कार्यालय पथलैयाका इन्जियिनर विवेक झाले बताए। उनका अनुसार सडक र पुलको कामको अन्तिम म्यादभित्र काम नगर्नेलाई कुल ठेक्का रकमको १० प्रतिशत रकम जरिवाना तिराउने र त्यसपछिको २ सय दिन अर्थात साढे ६ महिनापछि पनि काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न ठेक्का तोडेर कालोसूचीमा राखिने नियम छ।

वीरगंज पथलैया व्यापारिक मार्गमा वीरगंज-परवानीपुर-आइसीपीसम्म साढे २६ किलोमिटर लम्बाईको सडकमा ६ खण्डमा ६ वटा ठेक्का गरी करिब ४ अर्बको बजेटमा सडक निर्माण भइरहेको छ। परवानीपुरदेखि गण्डक नहर जगरनाथपुरसम्म ठेक्का नम्बर १ मा पप्पु कन्सट्रक्सनले गण्डक नहरदेखि हरपतगंजसम्म, ठेक्का नम्बर २ मा विरुवा जेभी हरपतगंजदेखि आइसीपी चोक पद्यमरोडसम्म ठेक्का लिएका छन्।

त्यसैगरी, पथलैयादेखि सूर्य नेपाल सिमरासम्म ठक्का नम्बर ४ मा एएमआर कन्टेक, सूर्य नेपालदेखि गढीमाई मन्दिर (आर्मी ब्यारेक)सम्म ठेक्का नम्बर ५ मा युनाइटेड जेभी, आर्मी ब्यारेकदेखि परवानीपुरसम्म ठेक्का नम्बर ६ मा एएमआर कन्टेकले ठेक्का लिएका छन्।

ठेक्का नम्बर १ को भौतिक प्रगति ५४ प्रतिशत, २ को ९० प्रतिशत, ३ को ४४ प्रतिशत, ४ को ९० प्रतिशत, ५ को ४० प्रतिशत र ६ को ७८ प्रतिशत रहेको छ। वीरगंज–परवानीपुर–सिमरा सडकखण्डको काम २०७३ असार २८ मा सम्झौता भई दुई वर्षमा सम्पन्न गर्नु पर्नेमा काम पूरा नभएर ३ पटक म्याद थपेर ठेक्का नम्बर १ र ३  को असोज २८ गते सम्म अन्तिम म्याद थियो भने २, ४ र ६ नम्बर ठेक्काको अन्तिम म्याद मंसिर २४ गते सम्म छ।

त्यसैगरी, ठेक्का नम्बर ५ को अन्तिम म्याद अगामी माघ ५ गतेसम्म छ। निर्माण अवधिभन्दा पनि बढी समय अर्थात कुल साढे ४ वर्षमा पनि काम सम्पन्न नभएर सडक विभागले आवश्यक कारबाहीको प्रकृया अगाडि बढाउन थालेको वीरगंज पथलैया व्यापारिक मार्ग विस्तार योजना कार्यालय प्रमुख मनीषकुमार साहले जानकारी दिए।

यो योजनाको सहायक ठेक्का अन्तर्गत परवानीपुर-गण्डक चार लेन सडक विस्तार योजना पनि सुस्त गतिमा काम भइरहेको छ। यो सडकको बजेट ४४ करोड रहेको छ भने काम गर्ने ठेकेदार दिवा सपना जेभी हेटौँडा हो। यो सडकको काम सक्नुपर्ने अन्तिम मिति पनि अगामी चैत ५ गतेसम्म रहेको छ। साढे ३ वर्षभन्दा बढी समय बित्दा पनि ४ किलोमिटर लम्बाईको यो सडकको विस्तारको काम सम्पन्न हुन सकेको छैन। सुरुमा दुई वर्षको म्याद रहेको यो आयोजनाको ७ खण्डको सडकको कामको समग्रमा औसत प्रगति ६५ प्रतिशत भएको छ भने वित्तीय प्रगति ६३ प्रतिशत भएको योजना कार्यालय पथलैयाले जनाएको छ।

त्यसैगरी, वीरगंज-पथलैया सडक विस्तार योजना अन्तर्गत एक अर्बको तीन वटा पुल निर्माण भइरहेका छन्। तिनीहरुको अवस्था पनि सन्तोषजनक नरहेको पाइएको छ। जितपुरको ललका पुल ठेक्का नम्बर ८ हो जुन इलाइट कन्सट्रक्सनले पाएको छ। यो पुलको प्रगति ६४ प्रतिशत रहेको छ भने अन्तिम म्याद अगामी माघ ५ गते सम्म।

त्यस्तै, परवानीपुरका श्रीसिया खेलाको पुल ठेक्का नम्बर ९ हो, यो पुलको काम मृतसंजीवनीले गरिरहेको छ। यसको भौतिक प्रगति ६० प्रतिशत छ। त्यसैगरी, परवानीपुरदेखि ड्राईपोर्टमा जाने सडकमा परवानीपुरमा निर्माण भइरहेको पुल १० नम्बर ठेक्का हो। यसको पनि ६० प्रतिशत भौतिक प्रगति भएको छ। यो पुल पनि मृतसंजीवनीले गरिरहेको छ। औसतमा तीन वटै पुलको भौतिक प्रगति ६२ प्रतिशतको हाराहारीमा भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell