PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मेयर र उपमेयरबीचको विवादले मलंगवा नगरपालिकाको सेवा प्रभावित, कार्यालयमा ताला



सुमित मिश्र

मेयर र उपमेयरबीचको विवादले मलंगवा नगरपालिकाको सेवा प्रभावित, कार्यालयमा ताला

जनकपुरधाम : सर्लाहीको मलंगवा नगरपालिकाका प्रमुख निरसल साह र उपप्रमुख शवनम मिकरानीबीचको विवादका कारण नगरपालिकाको सेवा प्रभावित भएको छ। विवाद बढ्दै जाँदा मंगलवारदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएपछि सेवा प्रभावित भएको हो।

नगरपालिकाको कार्यालयमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले ताला लगाएका हुन्। विवाद समाधान नभएसम्मको लागि ताला नखुल्ने उनले बताएका छन्।

नगरप्रमुख साहले अपारदर्शी गतिविधि गरेको, विकासका काममा मनोमानी गरेको, आफ्नो भूमिकामा समेत हस्तक्षेप गरेको आरोप लगाउँदै सोमवार उपप्रमुख मिकरानीले नगरपालिकाको लेखा शाखामा तालाबन्दी गरेकी थिइन्। उपप्रमुखले लगाएको ताला नगरप्रमुखले तोडेपछि विवादले बढेको थियो। नगरप्रमुखले ताला फोडेको खबर पाएपछि उपप्रमुख मिकरानी पुनः जुलुससहित तालाचाबी बोकेर नगरपालिका कार्यालय पुगेकी थिइन्। त्यसपछि विवाद उत्कर्षमा पुगेको हो।

मंगलवार बिहान पनि नगरपालिका कार्यालय परिसरमा नारा, जुलुस र धर्ना भएको थियो। अवस्था तनावपूर्ण बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। उपप्रमुखले पुनः तालाबन्दीको तयारी गरेको र प्रमुख ताला फोड्ने तयारीमा रहेको अवस्थामा जिसस सभापति आफैँले कार्यालयमा ताला लगाएका हुन्।

जिसस सभापति चौधरीले दुवै पक्षबीच छलफल गरेर समस्या समाधान गरेपछि आफैँले ताला खोलिदिने बताएका छन्। नगरप्रमुख पक्ष र उपप्रमुख पक्षबीचको विवादले द्वन्द्वको रूप लिएपछि विवाद मिलाउन कार्यालयमा तालाबन्दी गर्नुपरेको सभाती चौधरीले बताए।

यसअघि विवाद समाधानका लागि पटकपटक दुवै पक्षबीच छलफल गराएको उनको भनाइ छ।

चौधरीले भने, ‘विवाद समाधान गर्न लामो समय छलफल गराएको हुँ। तर, दुवै पक्ष टसमस नभएपछि दुवैको रोहबरमै अनिश्चितकालीन तालाबन्दी गरेको हुँ।’

समस्या समाधानका लागि तत्काल छलफलमा बस्न दुवै पक्षलाई उनले आग्रह गरेका छन्।

यता मलंगवाका नगरप्रमुख निरसल साहले आफूविरुद्ध केही वडाध्यक्षको साथ लिएर उपप्रमुखले झुठो आरोप लगाएको बताएका छन्।

आर्थिक अनियमिततालगायत आरोपमा कुनै सत्यता नरहेको भन्दै उनले भने, ‘म माथि लगाइएको सबै आरोप झुठो हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell