PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

परीक्षणमा दोहोरो मापदण्डः प्रधानमन्त्रीका सल्लाहकारको सात दिनमै पुन: परीक्षण, सर्वसाधारण रातदिन लाममा



पहिलोपोस्ट

परीक्षणमा दोहोरो मापदण्डः प्रधानमन्त्रीका सल्लाहकारको सात दिनमै पुन: परीक्षण, सर्वसाधारण रातदिन लाममा

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारसहित सचिवालयका सदस्यहरुको कोभिड-१९ को आरटी-पीसीआर परीक्षणका लागि १६ गते नमुना संकलन गराए। यसरी संकलित नमुना परीक्षण गर्दा १७ गते पोजेटिभ आयो।

पोजेटिभ आउनेहरुमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापालगायतका थिए। सोही दिन बालुवाटारमा कार्यरत सुरक्षा निकायका करिब ६० जना सुरक्षाकर्मीहरुमा कोभिड -१९ को संक्रमण पुष्टि भयो।

परीक्षण रिपोर्ट आएको सात दिनमा नै उनीहरुको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको छ। सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालले लेखेका छन्- ' मेरो पीसीआर रिपोर्ट नेगेटिभ आयो सहयोग, ऐक्यबद्धता र शुभेच्छाको लागि सबैमा हार्द्धिक आभार! कोरोनाको अनुभव व्यक्ति–व्यक्तिमा फरक–फरक छ। कोही लक्षणसहितको संक्रमित हुनुहुन्छ। उहाँहरुको अनुभवले भन्छ– यसले पीडा दिन्छ, गाल्छ। ज्यानै गए अन्तिम अवस्थामा आफन्तहरुले मुखसमेत हेर्न पाउँदैनन्। कोही लक्षण बिनाको संक्रमित हुनुहुन्छ। हप्ता/दश दिनमा भाइरस मुक्त! उहाँहरुको अनुभवमा कोरोना त केही नै हैन रहेछ! पानी/सानी खायो–खलास्!!!'

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको फेसबुक पेजमार्फत प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल, परराष्ट्र सल्लाहकार डा. भट्टराई र प्रेस सल्लाहकार थापाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी गराइएको छ। साथै उनीहरुको परिवारको परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको जानकारी दिइएको छ।

अब प्रश्न सात दिनमा नै किन पुन: परीक्षण?

पटक-पटक स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भन्दै आएका छन्- कोभिड -१९ पोजेटिभ आएको १० दिनमा लक्षण नदेखिए पुन: परीक्षण गराउने। परीक्षण रिपोर्ट नेगेटिभ आए डिस्चार्ज, पोजेटिभ आए पनि १४ दिनमा परीक्षण नै नगरी डिस्चार्ज गर्ने।

यो पनि : राज्यको लथालिंग पाराले कोरोना परीक्षणका लागि यसरी टेकुमा घण्टौं लाममा उभिन बाध्य छन् रामहरु

तर, प्रधानमन्त्रीका सल्लाहकारहरुको परीक्षण सात दिनमा नै। पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभरमा कोभिड -१९ को संक्रमण बढ्दै गएको छ। परीक्षण गर्नेको भीड प्रयोगशालामा उस्तै छ। त्यस्तै स्थानीय तहले कन्ट्र्याक्ट ट्रेसिङ गर्न सकिरहेका छैनन्। कन्ट्र्याक्ट ट्रेसिङमा परेकाहरुलाई पनि मतदाताकै आधारमा विभेद गरिएको छ। तर प्रधानमन्त्रीकै सल्लाहकार भएकै नाताले राष्ट्रिय परीक्षण गाइडलाइन्स उल्लंघन गर्दै सात दिनमा नै परीक्षण गरिएको छ।

यो पनि: एउटा कोठामा डेरा गर्ने डेरावालको डर ! संक्रमण भए जाने कहाँ? महानगरका प्रतिनिधिलाई भोटरकै मात्र चिन्ता

अझ राष्ट्रिय परीक्षण निर्देशिकाको पछिल्लो संशोधनमा लक्षण नदेखिएका तथा सामान्य लक्षण देखिएका कोभिड -१९ संक्रमितहरुको १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्ने उल्लेख छ।

'मध्यम/गम्भीर/जोखिमपूर्ण कोभिड-१९ केसहरुको हकमा क्लिनिकल जमेन्टका आधारमा डिस्चार्ज गर्ने तर, लक्षणरहित/सामान्य केसहरुको हकमा जसले १४ दिन पूरा गरेका छन् (कम्तीमा तीन दिन लक्षण नदेखिएका) को हकमा परीक्षण आवश्यक छैन,' पछिल्लो परीक्षण गाइडलाइन्समा भनिएको छ।

संक्रमण पुष्टि भएको दिनदेखि नै प्रधानमन्त्रीका तीनै सल्लाहकारले सामान्य अवस्था रहेको लक्षणसम्म नदेखिएको बताउँदै आएका थिए। उनीहरुले भनेकै आधार मान्ने हो भने उनीहरुलाई १४ दिन आइसोलेसनमा राखेर परीक्षण बिना नै डिस्चार्ज गर्न सकिन्थ्यो। पहुँच र पावरका आधारमा उनीहरुको पुन:परीक्षण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell