PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

‘रेमडेसिविर’ औषधिको अवैध ओसारपसार गर्ने दुई जना पक्राउ



‘रेमडेसिविर’ औषधिको अवैध ओसारपसार गर्ने दुई जना पक्राउ

वीरगंज : कोरोना संक्रमितको उपचारमा उपयोगी मानिएको ‘रेमडेसिविर ड्रग’को अवैध ओसारपसार तथा बिक्री गर्ने दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगंजको विभिन्न अस्पतालमा एनेस्थेसिया डाक्टरको रुपमा काम गर्ने ताहिर हुसेन र एक जना भारतको रक्सौलका औषधि बिक्रेता रहेका छन्। उनीहरुलाई आइतवार दिउँसो पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

अलि अर्थो ट्रमा सेन्टरमा उपचाररत केही कोरोना संक्रमितका परिवारजनसँग अवैध शुल्क लिई ‘रेमडेसिविर’ उपलब्ध गराउने गतिविधिमा संलग्न भएकोले दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ।

पर्सा प्रहरी प्रवक्ता डीएसपी मनोजित कुँवरले भने, ‘जम्मा १५ वटा भायल खरिद बिक्री गरेको गुनासो छ, एउटा भायलको २८ हजारदेखि ३३ हजारसम्म ताहिरले लिएको उजुरी परेको छ। रक्सौलको सप्लायर्सबाट उनले नेपाली २७ हजार रुपैयाँ प्रतिभायलमा खरिद गरेको प्रारम्भिक बयानमा भनेका छन्।’

वीरगंजका केही ड्रग माफियाहरुले तस्करीको बाटोबाट भारतबाट ‘रेमडेसिविर’ औषधी वीरगंज भित्र्याएर मनोपरी ढंगले संक्रमितका परिवारजनसँग बेच्दै आएको यो घटनाले पुष्टि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell