PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोना संक्रमितले आफैँ ल्याउँछन् ‘रेमडेसिविर ड्रग’, वीरगंजमा गरिएको परीक्षण सकारात्मक, सरकारले देला त वैधानिकता?



राधेश्याम पटेल

कोरोना संक्रमितले आफैँ ल्याउँछन् ‘रेमडेसिविर ड्रग’, वीरगंजमा गरिएको परीक्षण सकारात्मक, सरकारले देला त वैधानिकता?
Photo: up-magazine.info

वीरगंज : कोरोना भाइरसबाट संक्रमितको उपचारमा ‘रेमडेसिविर ड्रग’ उपयोग हुन सक्ने दावी वैज्ञानिकहरुले गरिरहेको बेलामा नेपालमा पनि यसको प्रयोग गरिएको छ। इबोला संक्रमितहरुको उपचारमा पहिला प्रयोग भइसकेको यस ड्रगको वीरगंजमा कोरोना संक्रमितहरुमा परीक्षण गरिएको हो।

एक साता यता वीरगंजको गण्डक कोभिड अस्पतालमा रेमडेसिविरको प्रयोग भएको एक चिकित्सकले बताएका छन्। नेपालमा प्रतिबन्धित भएपनि संक्रमितका आफन्तहरु आफैले यो ड्रग ल्याएको बताइएको छ। केहीले भारतबाट वा भारतीय नागरिकको पहिचानको अधारमा भारतको रक्सौलबाट मगाएर यो ड्रग वीरगंज ल्याउने प्रयासमा पनि जुटेको एक चिकित्सकले बताए।

‘यो सुई अहिले नेपालमा प्रतिबन्ध छ, तर बिरामीको जीवन रक्षाको लागि रेमडेसिविर इन्जेक्सन दिइएको छ, नतिजा साकारात्मक आएको छ’, वीरगंजका एक चिक्तिसकले भने, ‘करिब दुई लाखमा १० थान सुई मगाइएको थियो, ६ भाइल एक जनालाई र ४ भाइल एक जनालाई दिइएको थियो।’

एक जना भारतीय नागरिकले पनि भारतबाट औषधी मगाएर प्रयोग गरेको उनले बताए। हालसम्म रेमडेसिविर दिइएका एक जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने अर्का एक जना आइसीयूमा छन्।

गण्डक अस्पतालमा रहेका पर्साका एक जना संक्रमितको अवस्था सिकिस्त रहेकोमा उनको लागि अहिले यो औषधी भेट्न समस्या भइरहेको बताइएको छ।

प्रतिबन्ध खुलाउने पहल

कोरोना भाइरस संक्रमणबाट बचाउन विश्वभर प्रयोग भइरहेको रेमडेसिविर इन्जेक्सनलाई आधिकारिक रुपमा नेपालमा प्रयोग गर्न गराउन पहल शुरु भएको छ। औषधि व्यवस्था विभागमा दर्ता गरी कानुनी रुपमा भारत वा अन्य देशबाट आयातको लागि बाटो खोल्न सरकारी पक्ष जुटेको बताइएको छ।

‘औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालसँग मेरो संवाद भएको थियो, उहाँले चाँडै मन्त्रिपरिषद्बाट त्यो औषधि डिडिएमा दर्तामा गरी आयातको लागि छलफल चलिरहेको बताउनुभयो’, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले भने, ‘रेमडेसिविरको आयात गरी संक्रमितलाई दिइयो भने मृत्यु दर पनि घट्ने विश्वास लिइएको छ।’

विश्वभर संक्रमितहरुको उपचारका लागि उपयोगी हुन सक्ने भन्दै परीक्षण गरिएको यस ड्रगको प्रयोग नेपालमा पनि हुनुपर्ने माग चिकित्सकहरुले गर्दै आएका छन्।

विराट हस्पिटलका सञ्चालकलाई पनि भारतको कोलकाताबाट विमान चार्टर गरी औषधि मगाएर सो ड्रग दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell